भक्तपुर नपामा १५ वर्षपछि जनताका प्रतिनिधि

भक्तपुर नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला वडाध्यक्षहरुको सपथ ग्रहण कार्यक्रम आइतबार बिहान सम्पन्न भयो । नगरपालिका भवन व्यासीको प्रांगणमा भएको सपथ ग्रहण कार्यक्रममा भक्तपुर नपाको लागि मुख्य निर्वाचन आयुक्त एवं जिल्ला न्यायधीश भोजराज शर्माले प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी र दश वटै वडाका वडाध्यक्षहरु क्रमशः एकका श्यामकृष्ण खत्री, दुईका हरिप्रसाद बासुकला, तीनका राजकृष्ण गोरा, चारका कुमार चवाल, पाँचका प्रेमकृष्ण कर्माचार्य, छका हरिराम सुवाल, सातका उकेश कवां, आठका महेन्द्र खायमली, नौका रवीन्द्र ज्याख्व र दशका लक्ष्मीप्रसाद ह्यौमिखालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो ।

त्यस्तै सम्पूर्ण वडा सदस्यहरुलाई प्रमुख सुनिल प्रजापतिले पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो । कार्यक्रममा भक्तपुर नगरपालिकाका पूर्व प्रमुख प्रेम सुवाल, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल र मुख्य निर्वाचन आयुक्त भोजराज शर्माले निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गर्नुभएको थियो ।
सपथ ग्रहणलगतै भक्तपुर नगरपालिकाको पहिलो बोर्ड बैठक प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको थियो । बैठकले प्रातःस्मरणीय शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै स्थानीय तहको निर्वाचनमा मादल चिन्हमा छाप लगाई नेपाल मजदुर किसान पार्टीका सम्पूर्ण उम्मेदवारहरुलाई मतदान गरेकोमा सम्पुर्ण भक्तपुर नगरबासीहरुप्रति आभार व्यक्त गरेको छ । साथै स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण कर्मचारी र सुरक्षा निकायप्रति पनि धन्यवाद ज्ञापन गरेको छ ।
आइतबारबाटै प्रमुख र उपप्रमुखले नगरपालिकामा र वडाध्यक्षहरुले आ–आफ्ना वडा कार्यालयहरुमा गएर कार्यभार सम्हाल्नुभएको छ ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक