अक्टोबर क्रान्ति र यसको महत्त्व

आज हामी रुसी अक्टोबर समाजवादी क्रान्तिको ७० औं वार्षिकोत्सव समारोह मनाउँदैछौं। नेपालका विभिन्न राजनैतिक समूह र संस्थाले पनि दिवसलाई मनाउँदै छन्। क्रान्तिको परिस्थिति र अनुभवबारे अक्टोर क्रान्तिका दिशा निर्देशक लेनिनले यसरी व्यक्त गर्नुभएको छ – ‘शासित वर्ग पहिलेको अवस्थामा बस्न नचाहेको र शासक वर्गले पहिलेजस्तो शासन गर्नै नसक्ने अवस्थामा क्रान्ति हुन्छ।’

रुसी समाजवादी क्रान्तिको निम्ति कस्ता भौतिक परिस्थितिहरू तयार भएका छन् भन्ने केलाउनु उपयुक्त हुन्छ।

१)क्रान्तिभन्दा पहिले रुसको ६५ प्रतिशत जनता गरिबीको रेखामुनि थियो।

२)३०००० जमिनदारहरूको हात १ करोड किसानहरूको जतिकै जग्गा थियो।

३)१ करोड ४० लाख मानिसहरूलाई कामबाट निकाली सेनामा भर्ना गराइएको थियो।

४)खेतपातीमा लगाइने गाई गोरु पनि सेनाको रसद पानी वा खुराक ढुवानीमा लगाइएको थियो।

५)उद्योगधन्दाहरू बन्द हुँदै थिए र मजदुरहरू कामबाट निकालिंदै थिए।

६)यातायातको बन्दोबस्त गर्न सरकार असफल हुँदै थियो।

७)जनतालाई समयमा खाद्य सामग्री पुर्‍याउन सरकार असफल भयो। देशभरि भोकमरी छायो।

१९१७ को जनवरी महिनादेखि नै मजदुर र किसानहरूको विरोध र असन्तोष बढ्दै गयो। आफ्नो कष्टपूर्ण जीवनबाट मुक्ति पाउन आठ घण्टाको कामको दिन र अन्य सुविधाहरूको निम्ति मजदुरहरूले हड्ताल र प्रदर्शनहरू सुरु गरिदिए। तथ्यले स्थितिलाई अझ प्रस्ट गर्छ।

१) १९१७ फेब्रुअरी महिनासम्म ८० प्रतिशत मजदुरहरू सङ्गठित भइसकेका थिए र २ लाख मजदुरहरूले हडताल र प्रदर्शनमा भाग लिए।

२) गाउँ–गाउँमा किसान विद्रोहहरू चर्कदै गए। गाउँका किसानहरूको सामन्त र जमिनदारहरूको घर घरमा धावा बोल्दै भकारी फोर्दै र बाँडचुँड गरे। दरबारहरूमा आगो लगाउँथे र जग्गामाथि कब्जा गर्न थाले।

३) २७ फेब्रुअरीसम्ममा ६०,००० सिपाहीहरू सरकारको विरोधमा जनतासँग मिल्न गए। सरकारका पदाधिकारीहरू पक्राउ गरे, मन्त्रीहरू र जर्नेलहरू पक्रिए र जेल फोडि्ए र क्रान्तिकारीहरू छुटे।

यसरी जार सरकार उल्टियो र करेन्स्कीको पूँजीवादी सरकार आयो। त्यस सरकारले पनि मजदुर र किसानहरूको मागहरूलाई पूरा गर्न सकेन। युद्धलाई रोकेर शान्ति कायम गर्न सकेन। यसको ठीक उल्टो पूँजीवादी सरकारले पनि मजदुरहरूको हड्ताल र प्रदर्शनमा गोली चलाएर मजदुरहरूलाई मार्न सुरु गर्‍यो।

जमिनदारहरूको जग्गा कब्जा गर्ने किसानहरूमाथि गोली चलाउने धम्की मात्रै दिएन, ४,००० भन्दा बढी किसान र मजदुरहरूलाई गोली हानेर मार्‍यो, प्रतिक्रियावादी दमनले सङ्घर्ष थामिएन बरु झन् चर्कियो। तथ्यले त्यसलाई प्रस्त गर्छ।

१)१९१७ अप्रिल महिनामा किसान विद्रोहीहरूको सङ्ख्या २०५ पुग्यो। एक महिना पनि अर्थात् मे महिनामा किसान विद्रोहको सङ्ख्या ५५८ पुग्यो। जून महिना अर्थात् एक महिनापछि नै विद्रोहको सङ्ख्या ११२२ पुग्यो। गाउँहरू किसानहरूको हातमा गए।

२)अक्टोबर महिनासम्ममा ८०० कलकारखानाहरू बन्द भए। १ लाख ७० हजार मजदुरहरू बेकार भए। कारखानाहरूको बन्दोबस्त गर्न मजदुर समितिहरू बन्न थाले।

३)प्रतिक्रियावादी दमनले विरोध गर्न र आफ्नो शासन आफैले चलाउन ६२ सहरहरूमा २ लाख लालरक्षकहरू अथवा स्वयंसेवकहरू सङ्गठित भए।

यसप्रकार पूँजीवादी सरकारले पनि जनताको काम मामको बन्दोबस्त गर्न सकेन, यातायात र मल कारखाना या अर्थतन्त्रलाई सम्हाल्न सकेन। गाउँ र सहरका जनता सरकारको ऐन कानुन र शासनमा बस्न चाहेनन् र सरकार शासन चलाउन असमर्थ भयो। यसरी १९१७ मा रुसको अक्टोबर समाजवादी क्रान्ति भएको थियो।

अक्टोबर क्रान्तिको अनुभवबाट लेनिनले भन्नुभएको थियो–’क्रान्तिको निम्ति अनुकूल अन्तर्राष्ट्रिय परिस्थिति आवश्यक छ, छिमेकी देशहरूको परिस्थिति क्रान्तिको अनुकूल हुनु झन् आवश्यक छ।’

अक्टोवर क्रान्तिको बेला पूँजीवादी देशहरू आपसमा पहिलो विश्व युद्धमा फसेका थिए। बेलायत, फ्रान्स र रुस एकातिर थियो भने जर्मनी, अष्ट्रिया, हङ्गेरी र इटाली अर्काेतिर थियो। रुस आफै आफ्नो छिमेकी जर्मनीसँग युद्धमा फसेको थियो।

१९१७ को फेब्रुअरी महिनामा रुसकै शोष्क वर्गमा ठूलो फाटो आयो र फेब्रुअरी क्रान्ति भयो। अन्तर्राष्ट्रिय प्रतिक्रियावादीहरू आफै प्रतिक्रियावादी युद्धमा फसेको हुनाले रुसको अक्टोबर क्रान्तिलाई दबाउन र हस्तक्षेप गर्न तत्काल एक हुन सकेनन्।

पूँजीवादी देशका मजदुर वर्गले रुसको मजदुर क्रान्तिको पक्षमा एकता प्रदर्शन गरे। जर्मनी र फ्रान्सका सेनाले विद्रोह गरे। यूरोपका विभिन्न भागका मजदुरहरू र जनताले ठूल–ठूला राजनैतिक हड्तालहरू गरेर ‘युद्धको विरोध’ मा आ–आफ्नो सरकारलाई आफ्नै देशको विद्रोह र सङ्घर्षमा फसाएर रुसी क्रान्तिलाई सहयोग पुर्‍याए।

अक्टोबर क्रान्ति र यसको महत्त्व–४

‘अक्टोवर क्रान्ति र यसको महत्त्वः नेपालको परिप्रेक्ष्यमा’ पुस्तक नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले  आज भन्दा ३०–३५ वर्ष अगाडि लेख्नुभएको र त्यतिबेला नै प्रकाशित भएको हो। १९१७ मा भएको अक्टोवर क्रान्तिको शतवार्षिकी (२०१७) को अवसरमा उक्त पुस्तक आज पनि सान्दर्भिक भएकोले त्यसमा समाविष्ट लेख–रचना साभार गरिएको हो–सं.)

यसप्रकार बेलायतको पूँजीवादी क्रान्तिको आफ्नो ठूलो ऐतिहासिक महत्त्व राख्दा राख्दै पनि अमेरिकी स्वतन्त्रता आन्दोलनको पनि आफ्नै महत्त्व थियो। जसको तुलना अक्टोवर क्रान्तिसँग गर्न सकिन्न।

माथिका दुवै पूँजीवादी क्रान्तिहरूभन्दा फ्रान्सेली पूँजीवादी क्रान्तिको महत्त्व कुनै रुपले कम थिएन। फ्रान्सेली राज्यक्रान्तिमा पनि व्यापारी र पूँजीपति वर्ग नै मोहडामा थियो। त्यस क्रान्तिले फ्रान्सेली जीवनको अनेक क्षेत्रहरूमा मात्रै परिवर्तन ल्याएन बरु युरोप र अन्य देशहरूमा राजतन्त्रलाई समेत हल्लाई दिएको थियो।

क्रान्तिले ज्याकोविनहरूलाई सत्तामा ल्यायो। ज्याकोविनहरू १८ औं शताब्दीका महान क्रान्तिकारीहरू थिए। तिनीहरूले किसानहरूलाई सामन्ती तिरो–तिरान, रकम र बेठ–बेगारीहरूबाट मुक्त पारेका थिए। सामन्ती सिक्रीले बाँधिएको उद्योग, कृषि र व्यापारलाई मुक्ति दिएर विकासको चौबाटोमा पुर्‍याई दिएका थिए। सामन्ती सम्पत्तिमाथि पूँजीवादी स्वामित्व स्थापना गरिदिए। ज्याकोविनहरूको ‘फ्रान्सेली आतङ्कवाद’ वास्तवमा पूँजीपति वर्गको शत्रु निरङ्कुश सामन्तवादसँग लिएको बदलाको गतिविधिमात्रै थियो।

फ्रान्सेली क्रान्तिको प्रभाव संसारमा १९ औं शताब्दीसम्म रह्यो। यस शताब्दीले मानव सभ्यता र संस्कृतिमा नयाँ छाप दियो। यी सबै अर्थमा फ्रान्सेली क्रान्ति एक महान क्रान्ति थियो।

तर पछि क्रान्तिको नेतृत्व गर्ने पूँजीपति वर्गले क्रान्तिको फल आफ्नै निम्तिमात्र राख्यो। २ करोड ६० लाख फ्रान्सेलीहरूमध्ये २५ वर्ष पुगेका र त्यसभन्दा माथिका फ्रान्सेलीहरू ७३ लाख थिए। तर आर्थिक कारणले ३० लाख बालिग फ्रान्सेलीहरूलाई आफ्नो मताधिकारबाट वञ्चित गराइयो। बेलायतको पूँजीवादी क्रान्तिमा पनि गरिब जनता मताधिकारहरूबाट वञ्चित थिए। सामन्ती विशेषाधिकारहरूको ठाउँमा पूँजीवादी विशेषाधिकार, खान्दानी थिचोमिचोको ठाउँमा नयाँँ खान्दानी वा पूँजीपतिहरूको दमनलाई स्थापना गर्‍यो।

सामन्ती जमिनदारहरू र क्रान्तिविरोधी ठूला पूँजीपति वर्गको विरोधमा सङ्घर्ष गरिरहँदा जनताले ज्याकोविनहरूलाई समर्थन गरेका थिए। सत्तामा आएका ज्याकोविनहरूले पछि सहर र गाउँका गरिबहरूको आन्दोलनलाई दबाउन सुरु गरे। अनि जनताले तिनीहरूको समर्थन गर्न छोडे र तिनीहरू एक्लिए। त्यही मौकामा क्रान्तिविरोधी पूँजीपति वर्गले ज्याकोविनहरूलाई सत्ताबाट फालिदिए।

नेपाली पूँजीवादी विद्वान र प्राध्यापकहरूलाई पनि थाहा थियो–’स्वतन्त्रता’, ‘समानता’ र ‘भ्रातृत्व’ नै फ्रान्सेली क्रान्तिको मूल मन्त्र थियो। तर क्रान्तिले पूँजीपति वर्र्गलाई मात्र सामन्ती सिक्रीबाट ‘स्वतन्त्रता’ दियो, जनताको अत्यन्त ठूलो भाग मजदुर र किसानहरू पूँजीवादी दाम्लोमा बाँधिए। ‘समानता’ पनि सामन्त र पूँजीपति वर्गमै सीमित रहन्थ्यो, खाना पाउने र नपाउने, धनी र गरिब, शोषक र शोषितको माझमा समानता आएन। आर्थिक समानता विना अन्य समानता अधुरै रहन्थ्यो, त्यस्तै भातृत्व पनि एक शब्द सृङ्गारमात्रै सावित भयो। किसान र जमिनदारको बीचमा जसरी भ्रतृत्व कायम रहन सक्दैनथ्यो त्यस्तै मजदुर र पूँजीपति वर्गको माझमा ‘भ्रतृत्व’ कायम रहन सक्ने थिएन। शोषक र शोषित, बाघ र बाच्छोको स्वतन्त्रता धोखा थियो।

यसकारण वावेफ र अन्य समानतावादीहरूले सामन्ती हुकुमजस्तै पूँजीवादी हुकुमलाई पनि विरोध गरे। फ्रान्सका ‘नयाँ खान्दानी वर्ग’ ले पनि बेलायत र अमेरिकामा जस्तै तल्लो वर्गको न्यायोचित आन्दोलनलाई दवाइदियो।

बेलायती र अमेरिकी क्रान्तिमा जस्तै फ्रान्सेली पनि बेलायतमा जस्तै नेपोलियन बोनापार्टको नयाँ राजवंश स्थापना गर्‍यो र राजतन्त्र पुनः स्थापना गर्‍यो। अनेक नागबेली बाटो हुँदै फ्रान्सेली पूँजीवादी क्रान्ति अन्तमा आक्रमण पूँजीवादमा पतन भयो।

१९ औं शताब्दीको मध्यमा पुग्दा पूँजीपति वर्ग र पूँजीवादी क्रान्तिको तेज हराउँदै गयो र २० औं शताब्दीको सुरुमा मजदुर वर्ग र सर्वहारा क्रान्तिले संसारलाई नयाँ दशा दियो।

१९७० अर्थात ७० वर्ष अगाडि बोल्शेविक पार्टीको नेतृत्वमा रुसको सर्वहारा वर्गले समाजवादी क्रान्तिको बन्दुक पड्काएको थियो। त्यस क्रान्तिको महत्त्व, गहिराई, विशालता र दूरगामिता इतिहासमा अभूतपूर्व रह्यो। यसको अगाडि पूँजीवादी क्रान्तिहरू फिक्का र साँगुरो देखिए।

पूँजीवादी क्रान्तिहरूले सामन्त वर्गको ठाउँमा पूँजीपति वर्गलाई सत्तामा ल्यायो, सामन्त वर्गको सेवाको ठाउँमा जनसङ्ख्याको सानो भाग पूँजीपति वर्गको सेवा गर्‍यो, सामन्ती शोषणको ठाउँमा पूँजीवादी शोषणलाई स्थापना गर्‍यो। सामन्तवादको विरोधमा जीवन–मरणको सङ्ग्राममा होमिएका जनसङ्ख्याको अत्यन्त बहुमत जनता किसान, मजदुर र कालिगढ जनतालार्ई पूँजीवादको ‘नयाँ पासो’ ले बाँघे, शोषण दुःख–कष्ट र अभावको नर्कमा डुवाइदिए।

तर रुसी सर्वहारा समाजवादी क्रान्तिले मानव सभ्यता सुरुदेखि नै थिचिएका र पिल्सिएका कामदार वर्गलाई सत्तामा ल्यायो र जनसङ्ख्याको अत्यन्त ठूलो भाग कामदार वर्गलाई नै सेवा गर्‍यो। सर्वहारा क्रान्तिले राजा–रजौटा, गुठी र जमिनदारहरूको जग्गा जमिनलार्ई विना मुआब्जा जफत गर्‍यो, तेल, कोइला, धातु र अन्य खानी, जङ्गल र पोखरीमा भएको व्यक्तिगत स्वामित्वलाई उन्मूलन गर्‍यो।

अक्टोबर क्रान्तिले पूँजीपति वर्गको कल–कारखाना, बैङ्क, रेलवे, विदेश व्यापार र खानीहरूलाई राष्ट्रियकरण गर्‍यो। कालाबजारी र  धनी किसानलार्ई दबाएर देश र जनतालाई भोकमरी र अकालबाट जोगायो।

अक्टोबर सर्वहारा क्रान्तिले प्रतिक्रियावादी सेनाको ठाउँमा मजदुर र किसानहरूको एक नयाँ लाल सेना स्थापना गर्‍यो। थिचिएका र पिसिएका विभिन्न जातिका जनता र स्वास्नी मानिसहरूलाई इतिहासमा पहिलोपल्ट वास्तविक समानताको अधिकार प्रदान गर्‍यो।

रुस त्यसबेला आर्थिक रुपले पश्चिमी युरोपको तुलनामा एक पिछडिएको देश थियो। पश्चिमी पूँजीवादी देशहरूले रुसलाई आर्थिक थिचोमिचोमा पारेका थिए। सर्वहारा क्रान्तिले जनतालाई दबाउन जार सरकारहरूबाट लिएका सबै ऋणहरू नतिर्ने र विदेशी पूँजीलाई राष्ट्रियकरण गरेर शोषित र पीडित देशहरूको निम्ति एक नयाँ शिक्षा दियो।

साम्राज्यवादी युद्धबाचट धुजाधुजा भइरहेको रुसलाई अक्टोवर समाजवादी क्रान्तिले जर्मनीसँग शान्ति सम्झौताको पाइलो चालेर रुसी जनतालाई नयाँ जीवन दियो र अनेक छिमेकी देशहरूसँगको असमान सन्धिहरूको ठाउँमा समान सन्धिहरू गरेर विश्व शान्तिको निम्ति नयाँ उदाहरणहरू प्रस्तुत गर्‍यो।

त्यसले युरोपका सम्पूर्ण मजदुर वर्गलाई सर्वहारा क्रान्ति र एउटै देशमा पनि समाजवाद हुनसक्दछ र पश्चिमलाई पूर्वबाट पनि समाजवादको बाटो देखाउन सक्छ भन्ने एक जाज्वल्यमान सैद्धान्तिक र व्यवहारिक हतियार प्रदान गर्‍यो। रुसको सर्वहारा क्रान्तिले सारा यरोपमा मजदुर वर्गलाई नयाँ क्रान्तिकारी ज्ञान थपिदियो र एक अर्थमा सम्पूर्ण पूँजीवादी व्यवस्थालाई मृत्युदण्ड सुनाइ दियो।

पूँजीवादी क्रान्तिहरूले यूरोप र संसारका अन्य केही देशका जनसङ्ख्याको एक निश्चित भागलाई सामन्तवाद र राजतन्त्रको विरोधमा आन्दोलित गरेको थियो। तर रुसी अक्टोवर क्रान्तिको तोपको आवाजले युगौंयुगदेखि सुतिरहेका करोडौं करोड चिनियाँ जनतालाई ब्युँझाइदियो, भारत, हिन्द–चीन, इण्डोनेसिया, दक्षिणपूर्वी एसियाका देशहरू, मध्यपूर्वका अरब राष्ट्र अथवा एसिया, अफ्रिका, उत्तर र दक्षिण अमेरिकाका स्वतन्त्रता र मुक्ति चाहने करोडौं करोड जनतालाई साम्राज्यवाद र सामन्तवादको विरोधमा लड्न नयाँ प्रेरणा गर्‍यो। त्यस क्रान्तिले क्यालिफोर्नियादेखि साइबेरियासम्म, नाइल नदीदेखि गङ्गा र ह्वाङ्गहोलसम्मका सबै गाउँ र सहर, खानी र खेत, समुद्र र पहाड,पूर्व पश्चिमका सारा देशका जनतालाई क्रान्तिको नयाँ बाटो खोलिदियो।

शिक्षा, संस्कृति, अर्थतन्त्र, विश्व राजनीति र कूटनैतिक क्षेत्रमा अक्टोवर क्रान्तिले नयाँ आयाम थपिदियो। यसकारण इतिहासमा यसको तुलनामा कुनै उदाहरण छैन। सबभन्दा महत्त्वपूर्ण कुरा रुसी अक्टोवर क्रान्तिले एक वर्गविहीन, शोषणरहित र युद्धविनाको नयाँ समाजको युगौं पुरानो मानिसको कल्पनालाई साकार रुप दिने एक व्यावहारिक पाइला चाल्यो। यी सबै अर्थमा पूँजीवादी क्रान्तिहरूभन्दा रुसी अक्टोवर सर्वहारा समाजवादी क्रान्तिको अत्यन्त ठूलो ऐतिहासिक महत्त्व थियो। त्यसले समाजको सबभन्दा तल्लो वर्ग, संसारका सबभन्दा विशाल कामदार वर्ग र जनसमुदायलाई आन्दोलित गर्‍यो र मानव समाजको सुन्दर, सुसंस्कृत भविष्यलाई झन् उज्ज्वल बनाइदियो।

डिसेम्बर, १९८७

सन्दर्भ: अक्टोवर क्रान्तिको शतवार्षिकी (१९१७–२०१७)
का. रोहित

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक