चे ग्वेभाराको जन्मदिवसमा विचार गोष्ठी

भक्तपुर, ३१ जेठ । साम्राज्यवादविरोधी तथा अन्तर्राराष्ट्रवादी योद्धा का. चे ग्वेभाराको ८९ औं जन्मदिवसको अवसरमा विचार गोष्ठी कार्यक्रम बुधबार सम्पन्न भयो ।

कार्यक्रममा आफ्नो विचार व्यक्त गर्नुहुँदै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले पैसा र व्यक्तिगत स्वार्थको बारेमा मात्र सोच्नु पूजीवादी सोच हो भन्नुभएको छ । नयाँ पुस्ताका विद्यार्थीहरुलाई सुझाव दिनुहुँदै उहाँले आफूलाई कहिल्यै पैसासंग तुलना गर्न नहुने बताउनुभयो । चेले आफ्नो डक्टरी पेशासमेत त्यागेर क्रान्तिको सेवामा जीवन समर्र्पण गरेकोबाट सिक्न उहाँले नयाँ पुस्ताका कार्यकर्ताहरुलाई सुझाउनुभयो ।

पैसा र व्यक्तिगत स्वार्थको बारेमा मात्र सोच्नु पूजीवादी सोच हो

त्यस्तै नेमकिपा केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले श्रममन्त्री भइसक्दा समेत चेले कारखानामा गएर काम गरेर श्रमको सम्मान गर्नुभएको बताउनुभयो । चेको जीवनीबाट सिकेर हामीले विद्यार्थी उमेरदेखि नै श्रमलाई सम्मान गर्न सिकाउनु पर्ने, कठिन परिश्रम र बलिदान गर्न तयार रहनुपर्ने बताउनुभयो । चे एक अनुुकरणीय व्यक्तित्व भएका नेता भएको बताउँदै उहाँले हरेक नेताको जीवन चेको जस्तै कार्यकर्ता र जनताहरुको निम्ति अनुकरणीय हुनुपर्ने बताउनुभयो ।

नेमकिपा भक्तपुर जिल्ला समितिका कार्यवाहक अध्यक्ष सुरेन्द्रराज गोसाईले इतिहासमा चे ग्वेभारा सम्बन्धी आवाज बुलन्द गर्ने पहिलो जिल्ला भक्तपुर भएकोमा गर्व महसुस गरेको बताउनुभयो । शत्रुका सामु कहिले नझुक्ने, निडर र लडाकु स्वभावका व्यक्तित्वका धनी चेको जीवनीबाट नयाँ पुस्ताका विद्यार्थीहरुले नयाँ यात्राको थालनी गर्नुपर्ने बताउनुभयो ।

नेपाल क्रान्तिकारी युवा संघ, नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल क्रान्तिकारी सांस्कृतिक संघको संयुक्त आयोजनामा भएको विचार गोष्ठीमा नरेश खत्री, दिनेश प्रधान र अमोद उलकले पनि आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सुलोचना छ्वाजू र मनीषा श्रेष्ठले चेप्रति समर्पित गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमस्थलबाहिर विद्यार्थीहरुले तयार गरेका रचनात्मक चित्रकलाको प्रदर्शनी गरिएको थियो ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक