मोरङमा नेमकिपाको चुनावी गतिविधि

मोरङ, १२ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुन गइरहेको मोरङ जिल्लामा नेपाल मजदुर किसान पार्टीले असार आइतबार विविध प्रचारात्मक गतिविधि सम्पन्न गर्‍यो ।
सोही क्रममा विराटनगरको पुष्पलाल चोकमा चुनावी सभा सम्पन्न भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य नरेन्द्र होमागाईले नेमकिपाले राजनीतिलाई निःस्वार्थ रुपमा जनताको सेवा गर्ने माध्यमको रुपमा लिएको बताउँदै निर्वाचित हुने नेमकिपाका जनप्रतिनिधिहरुले पार्टीको घोषणापत्रअनुसार जनताको सेवा गर्ने बताउनुभयो ।
नेमकिपाले कहिलेपनि टाउको गिन्ती र संख्या वृद्धिलाई मुख्य लक्ष्य नबनाएको बरु सैद्धान्तिक र वैचारिक प्रशिक्षण र प्रचारमा जोड दिएको स्पष्ट पार्दै नेमकिपाको उम्मेदवारी गलत प्रवृत्तिविरुद्धको खबरदारी हो भन्नुभयो ।
उहाँले नेमकिपाले भक्तपुर नगरपालिका एक ठाउँमा मात्र जितेर पनि कलेज, अस्पताल आदिमार्फत् देशभरका जनताहरुलाई सेवा गर्ने दृष्टिकोण बोकेको चर्चा गर्नुभयो ।
नेपाल क्रान्तिकारी युवा संघका केन्द्रीय अध्यक्ष प्रकाश थुसा श्रेष्ठले नेमकिपाले स्थानीय तहको निर्वाचनलाई जनतालाई जनअधिकारबारे सचेत र जागरुक बनाउने अभियानको रुपमा उपयोग गरिरहेको बताउनुभयो ।
नेमकिपा स्थापनाकालदेखि भ्रष्टाचारविरोधी र पादर्शिताको पक्षधर पार्टी रहेको चर्चा गर्दै उहाँले स्थानीय तहमा सदाचार, सुशासन र पारदर्शिता बहाल गरी भ्रष्टाचार र कमिसनखोरी अन्त्य गर्न नेमकिपाले संघर्ष गर्दै जाने स्पष्ट पार्नुभयो ।
उहाँले सरकारमा रहेर निर्वाचन आचारसंहिताको मस्यौदा गरेका दलका नेताहरुले नै आचारसंहिता उल्लंघनमा प्रतिस्पर्धा गरिरहेको उल्लेख गर्दै लोकतन्त्र र जनवाद फलाक्ने भन्दा व्यवहारमा लागू गरी देखाउन जरुरी भएको बताउनुभयो ।
सभामा नेमकिपा मोरङका रमेश श्रेष्ठ, विराटनगर महानगरपालिका वडा नं १ मा नेमकिपाका वडाअध्यक्ष उम्मेदवार रीना कटुवाल(भट्टराई)ले पनि बोल्नुभएको थियो ।
त्यस्तै विराटनगरको भट्टाचोकमा पनि चुनावी कोणसभा सम्पन्न भयो ।
मोरङकै ग्रामथान गाउँपालिका वडा नं ४ मोतिपुर, वडा नं ५ तेतेरिया, बेलवारी नगरपालिका र कानेपोखरी गाउँपालिकामा पनि घरदैलोलगायत विविध प्रचारात्मक कार्यक्रम सम्पन्न भएको छ ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक