‘सय वर्षपछिको भक्तपुर’ को परिचर्चा

भक्तपुर, २३ असार । देशका विशिष्ट संस्कृतिविद् र विद्वानहरुले शुक्रबार आयोजित एक समारोहबीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)को चर्चित कृति ‘सय वर्षपछिको भक्तपुर’ माथि परिचर्चा गर्नुभयो ।
नेपाल क्रान्तिकारी साँस्कृतिक सङ्घ केन्द्रीय समितिको आयोजनामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरुले कृतिमाथि मिहिन समालोचना गर्नुभयो ।
कार्यक्रममा बोल्दै कृतिका लेखक बिजुक्छेंले बीचमा कुनै पनि प्रकारको बाधा–व्यावधान नआए कृतिमा आफूले गरेको परिकल्पना पूरा हुन सय वर्ष पनि नलाग्ने तर ढिलामा पनि सय वर्षमा त्यस्तो समाज निर्माण हुने बताउनुभयो ।
भूगोलको आधारमा उत्पादन फरक–फरक हुने र उत्पादनको आधारमा संस्कृतिको विकास हुने गरेजस्तै कृतिमा परिकल्पना गरिएको समाज जिल्ला–जिल्लामा त्यहाँको परिस्थितिअनुसार फरक–फरक हुने उहाँको विचार थियो ।
काठमाण्डौ उपत्यकामा बसोबास विकासको विषयमा विज्ञहरुले दशकौं पहिले बनाएको प्रतिवेदनभन्दा आज ठीक विपरीत तरिकाबाट बस्ती विकास गरिएकोमा दुःख व्यक्त गर्दै उहाँले आफ्नो व्यक्तिगत वा कुनै समूह विशेषको आग्रहमा काम हँुदा सबै क्षेत्र लथालिङ्ग भएका बताउनुभयो ।
कर्मचारीतन्त्र(व्युरोक्रेसी) र प्राविधिकतन्त्र(टेक्नोक्रेसी) पूँजीवादी समाजका खराब पक्ष भएको बताउँदै अध्यक्ष बिजुक्छेंले स्मार्ट सिटी बनाउने नाममा केही राजनीतिक दलहरु हरित क्षेत्र विनाशको काममा लागेको धारणा व्यक्त गर्नुभयो ।

नेपाली साहित्य तथा संस्कृतिका धरोहर, शताब्दी पुरुष सत्यमोहन जोशीले भक्तपुरका अभौतिक सम्पदालाई विश्व सम्पदामा दर्ता गनतिर अग्रसर हुनुपर्ने बताउनुभयो ।
‘भक्तपुरका नवदुर्गा र महाकाली नाचलाई विश्वसम्पदा बनाउनमा ध्यान दिनुपर्छ । तर हाम्रो संस्कृति मन्त्रालयलाई यस विषयमा कुनै वास्ता छैन ।’, जोशीले भन्नुभयो ।
बिजुक्छेंकृत कृति भक्तपुरका युवाहरुको लागि भविष्यको लागि निर्देशिका हुने बताउँदै उहाँले सम्पदा संरक्षणमा भक्तपुरमा उदाहरणीय काम भइरहेकोमा खुशी व्यक्त गर्नुभयो ।
चर्चा गरिएको पुस्तकमा लेखकका कल्पना, अभिव्यक्ति र विचार सत्यता र यर्थाथमा आधारित भएको जोशीको भनाई थियो ।
‘रोम एकै रातमा बनेको थिएन । भक्तपुर पनि एकै रातमा बनेको होइन । त्यसकारण भक्तपुरले आफ्नो संस्कृति संरक्षणमा ध्यान दिनुपर्छ । यसमा नारायणमानजीको नेतृत्व हँुदै आएको खुशीको कुरा हो ।’, उहाँले भन्नुभयो ।
प्राध्यापक तथा समालोचक माणिकलाल श्रेष्ठले नारायणमान बिजुक्छेंलाई ‘राष्ट्रवादी’ नेता भनेकोमा विमति जनाउँदै बिजुक्छें क्रान्तिकारी माक्र्सवादी–लेनिनवादी भएकाले अन्तर्राष्ट्रिवादी नेता भएको बताउनुभयो ।
‘राष्ट्रवादलाई एउटा दर्शनको रुपमा बुझ्दा कम्युनिष्टहरु राष्ट्रवादी हुने गर्दैनन् । बरु देशको स्वाधीनता आन्दोलनमा कम्युनिष्ट सबभन्दा अग्रसर हुने भएकाले नारायणमानजीलाई राष्ट्रिय स्वाधीनताको लागि लड्ने नेता भन्दा उपयुक्त हुनेछ ।’, प्राध्यापक श्रेष्ठले भन्नुभयो ।
कृतिमा सङ्कलित लेखहरुबारे समालोचना गर्दै उहाँले लेखहरुले मूलतः द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण अंगालेको भए पनि कुनै ठाउँ कोरा भौतिकवादी सिद्धान्तबाट प्रभावित भएको चर्चा गर्नुभयो ।
सय वर्ष पछिको भक्तपुरमा परिकल्पना गरिएको समाज आगामी समय क्रान्तिकारी विचार बोकेका मानिसहरु अघि बढे सय वर्षभन्दा कम समयमा सम्भव हुने तर कुनै प्रतिगामी शक्तिको हातमा परे त्यो अवधिमा सम्भव नहुने बताउनुभयो ।
परिवर्तन र विकासको लागि मानवीय भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने उहाँको विचार थियो ।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले गरीब जनताका छोराछोरीलाई पनि कानुनविद् बनाउन आफ्नै गोजीबाट पैसा राखेर पनि वकिल काम सिकाएको स्मरण गर्दै गाउँ–गाउँमा न्यायाधीश तयार गर्न सके न्याय व्यवस्था बलियो हुने विचार व्यक्त गर्नुभयो ।
जनताको, जनताको लागि र जनताद्वारा न्याय व्यवस्था स्थापना गर्न अभियानको आवश्यकता भएको अधिवक्ता भण्डारीको भनाई थियो ।
वरिष्ठ पत्रकार भैरव रिसालले आफूले आधा शताब्दीअघि भोगेको नेपाल र आजको नेपालमा निकै धेरै परिवर्तन आइसकेको अनुभूति सुनाउँदै राजनीतिक नेतृत्व सही दिशामा नभए देश कहाँ पुग्ने हो चिन्ताको विषय भएको बताउनुभयो ।
माटोले छाना छाएको घर हेर्न आफू २०२८ सालमा जुम्ला र हुम्ला पुगेको सुनाउँदै उहाँले नेपालको पूर्वी भाग सिन्धुली–बर्दिबासको बाटोबाट निकै कम समयमा पुगेको घटना आफ्नो अनुमानभन्दा परको बताउनुभयो ।
‘दृढता र इमान्दार सक्रियता भए छोटो समयमा निकै धेरै काम गर्न सकिने कुराका हामी आफै साक्षी छौं’, उहाँको भनाई छ ।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गले सरकारमा बसेका राजनीतिक दलहरुको साँघुरोपना र वैचारिकताको अभावका कारण ख्वप विश्वविद्यालय स्थापनामा ढिलासुस्ती भएको तर भक्तपुरमा विश्वविद्यालय स्थापना यर्थाथवादी द्रष्टाको दृष्टिकोण भएको बताउनुभयो ।
साहित्यकार डा.रामप्रसाद ज्ञवालीले नेपाल अघि नबढ्नुको कारण राजनीतिक रुपान्तरण नभई साँस्कृतिक रुपान्तरण हुन नसक्नु भएको बताउनुभयो ।
ठूला भनिएका क्रान्तिकारीहरु समेत लोभ र ईश्र्याका जुका नाकमा पालेर बसेका र पानी खाने समयमा मात्र त्यस्ता जुकाँ बाहिर आउने गरेको चर्चा गर्दै आधारलाई भन्दा अधिरचनाप्रति ध्यान दिन नसक्दा नेपालको कम्युनिष्ट आन्दोलनमा समस्या देखिएको बताउनुभयो ।
सम्पदाकर्मी रवीन्द्र पुरीले बिजुक्छेंका कृतिले आफूलाई भक्तपुरको सम्पदा संरक्षणमा आफूले गर्दै आएको कामलाई अझ अघि बढाउन उर्जा प्राप्त भएको बताउनुभयो ।
पत्रकार समाज नेपालका अध्यक्ष लक्ष्मणराज जोशीले चर्चा गरिएको कृतिले थप अध्ययन अनुसन्धानमा गहकिलो टेवा पुग्ने विचार व्यक्त गर्नुभयो । नेक्रासाँसङ्घका केन्द्रीय अध्यक्ष सुरेन्द्रराज गोसाईको सभापतित्वमा भएको कार्यक्रममा नीरज लवजूले पनि बोल्नुभएको थियो ।

‘सय वर्षपछिको भक्तपुर’ पुस्तकको पहिलो संस्करण २०५९ सालमा प्रकाशित भएको थियो भने शुक्रबारको कार्यक्रममा दोस्रो संस्करण पनि सार्वजनिक भएको हो ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक