क्रान्तिकारी किसान संघ ४९ वर्षमा

भक्तपुर, १३ साउन । नेपालको क्रान्तिकारी किसान आन्दोलनमा महत्वपूर्ण भूमिका निभाउँदै आएको नेपाल क्रान्तिकारी किसान संघले शुक्रबार आफ्नो स्थापनाको ४९ वर्ष मनायो । झण्डै आधा शताब्दी लामो आन्दोलनको समीक्षा गर्दै किसान आन्दोलनका कार्यकर्ताहरुले कामदार किसानको अधिकार रक्षाको लागि, देशको सार्वभौमिकता रक्षाको लागि र समाजमा आमुल परिवर्तनको लागि गर्दै आएको संघर्षलाई निरन्तरता दिने प्रतिबद्धता दोहो¥याएका छन् ।
नेक्राकिसङ्घको ४९ औं स्थापना दिवसको अवसरमा शुक्रबार सङ्घको भक्तपुर जिल्ला समितिले प्रवचन कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले आफूलाई ठूला दाबी गर्ने पार्टीहरुले व्यापक काम गरी खाने कामदार जनताको दीर्घकालीन हितबारे चिन्तन नगरेको बताउनुभयो ।
“नेपाली काँग्रेसका नेता तथा मन्त्रीहरु सबै जमिनदार र अरबपति हुन् त्यसैले यिनीहरुले किसाको समस्यालाई कहिल्यै बुझ्दैनन् । नाम मात्रका कम्युष्टि पार्टीहरु समाजवादको नाम लिन्छन् तर निःशुल्क शिक्षातिर ध्यान नदिई निजीकरणलाई बढी प्राथमिकता दिएका छन् ।” बिजुक्छेंले भन्नुभयो ।
निर्वाचनमा शासक दलहरुले पूँजीपति वर्गसँग मोटो रकम लिएकै कारण स्थानीय निर्वाचनमा पैसाको छेलोखेलो, भोजभतेरमा खर्च गरी चुनाव जितेको प्रष्ट पार्नुभयो ।
“भ्रष्टहरुको मनस्थिति भ्रष्टाचारी नै हुन्छ भने गुण्डाहरु शासन सत्तामा पुगे गुण्डागर्दीकै शासन हुनेछ ।” अध्यक्ष बिजुक्छेंले बताउनुभयो ।
उहाँले शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र अदालतमा र सिँहदरबारमा समेत भारतीय दलालहरुको हालीमुहाली भएको बताउँदै त्यसको विरुद्धमा नेमकिपाले संसददेखि सदनसम्म देश र जनताको हितमा सङ्घर्ष गर्दै आएको जानकारी गराउनुभयो ।
कार्यक्रममा नेक्राकिसङ्घका केन्द्रीय अध्यक्ष डिल्लीप्रसाद काफ्लले किसान सङ्घले स्थापनाकालदेखि नै किसानको हकहितको लागि काम गरिरहेको बताउनुभयो । उहाँले किसानविरोधी पार्टीहरु धेरै भएकोले किसान सङ्घका सार्थीहरुलाई धेरै चुनौती भएको बताउनुभयो ।
“नेमकिपाले देशको रक्षार्थ, निःस्वार्थ, सङ्घर्षशील, इमानदार, देशभक्त नागरिक तयार गर्ने उद्देश्यले अगाडि बढिरहेको छ ।” काफ्लले जानकारी दिनुभयो ।
नेमकिपा जिल्ला समितिका उपाध्यक्ष सुरेन्द्रराज गोसाइले किसान सङ्घको स्थापनाले गर्दा नै नेमकिपाको आशाका किरणहरु पलाएको बताउनुभयो । उहाँ अहिलेका युवाहरुले अग्रज किसानहरुबाट धेरै कुराहरु सिक्ने सक्ने र उहाँहरु नै प्ररेणाका स्रोतहरु हुन् भनेर भन्नुभयो ।
नेक्रामहिला सङ्घ भनपा जिल्ला समितिका अध्यक्ष कमलमैंया सुवालले किसानहरुले गरेका योगदानको चर्चा गर्दै किसान सङ्घले निःस्वार्थ भावका साथ समाज परिवर्तनमा योगदान गरिरहेको बताउनुभयो ।
नेक्राकिसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालको सभापतित्वमा भएको कार्यक्रममा एन.वि दुवाल, सूर्यबहादुर फोजू, नारायणभक्त न्हेमाफुखीले पनि बोल्नुभएको थियो ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक