भारतीय विस्तारवादले भुटानलाई पनि निल्न खोजको छः अध्यक्ष रोहित

काठमाडौं, १४ साउन। छिमेकी मित्र देशहरू चीन र भारतबीच दोक्लाम क्षेत्रमा भइरहेको सैनिक तनावको विषयमा शनिबार राजधानीको प्रज्ञा भवनमा विचार गोष्ठी भयो।

गोष्ठीका वक्ताहरूले चिनियाँ र भारतीय सशस्त्र बलबीच आमनेसामने भइरहेको दोक्लाम क्षेत्र ऐतिहासिक तथ्यले चीनको भूमि भएकोले भारतीय सशस्त्र बल फिर्ता हुनुपर्ने र दुई देशबीच संवादमार्फत समस्या समाधानको दिशातिर लाग्नुपर्नेमा जोड दिनुभयो।

नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा भएको गोष्ठीमा बोल्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले भारतीय विस्तारवादले भुटानलाई पनि सिक्किम जस्तै निल्न खोजेको बताउनुभयो।

संरा अमेरिकी आर्थिक चिन्तक वालस्ट्रिटले आगामी केही वर्षभित्र चिनियाँ अर्थतन्त्रले संरा अमेरिकी अर्थतन्त्रलाई उछिन्ने तथ्य प्रस्तुत गरेपश्चात् चीनको आर्थिक विकासमा अवरोध पुर्‍याउन पश्चिमा देशहरूले चीनलाई युद्धमा फसाउन खोजिरहेको उहाँको विश्लेषण थियो।

‘दुई वटा विश्वयुद्ध भोगिसकेको पश्चिमा देशहरू तेस्रो विश्वयुद्ध एसियामा धकेल्न खोजिरहेका छन्। चीनलाई विभिन्न कोणबाट घेर्ने यही रणनीतिअनुसार भइरहेको हो’, अध्यक्ष रोहितले भन्नुभयो।

भारतमा मोदी नयाा हिटलरको रूपमा उदाउन खोजेको चर्चा गर्दै उहाँले कदाचित चीन र भारतबीच अहिले लडाइँ भए त्यसको दोषी मोदी र उनको नीति हुने बताउनुभयो।

‘जब जब मजदुर र कम्युनिष्ट आन्दोलन अघि बढ्छ, पूँजीपति वर्गले राष्ट्रवाद र देशभक्तिको नाममा क्रान्तिकारी आन्दोलन दबाउने गर्दछ।, बिजुक्छेंले भन्नुभयो, ‘एकाधिकार पूँजीले चाहेर वा नचाहेर लडाईँ गर्नुपर्ने हुन्छ। भारतीय एकाधिकार पूँजी युद्धको लागि अग्रसर हुनु उसको चरित्र नै हो।’

उहाँले भारतीय एकाधिकार पूँजीले निम्त्याउने युद्धको प्रतिरोध गर्न नेपालमा भारतीय एकाधिकार पूँजीविरूद्ध जनतालाई सचेत बनाउन  आवश्यक भएको विश्लेषण प्रस्तुत गर्नुभयो।’भारतीय एकाधिकार पूँजीले दक्षिण एसियाका कुनै पनि देशको विकास गर्न दिनेछैन’, अध्यक्ष बिजुक्छेंले भन्नुभयो।

प्राध्यापक माणिकलाल श्रेष्ठले भुटानभित्र पनि भारतीय विस्तारवादविरोधी जनभावना बढिरहेको र पछिल्लो घटनाक्रममा भुटान र चीनबीचको मामिलामा भारतले खेल्न खोजिरहेको बताउनुभयो।

दोक्लाममा भारतीय पक्षलाई भुटानले गुहारेको प्रचारबाजीको कुनै तथ्य प्रमाण नभएको चर्चा गर्दै भुटानको आग्रहबिना भारतीय सशस्त्र बल त्यहाँ जानु गलत भएको धारणा राख्नुभयो।

एसियाका दुई उदयीमान शक्तिहरूबीचको सम्बन्ध सधैं नमिठो बनाउन सन् १९६२ मा संरा अमेरिका र पश्चिमा साम्राज्यवादको चाहनाअनुसार चीन–भारत लडाई भएको भन्दै उहाँले संरा अमेरिकी साम्राज्यवादविरूद्ध विश्वव्यापी आन्दोलन व्यापक बनाउन आवश्यक भएकोमा जोड दिनुभयो।

भारत र चीनबीच सिमाना विवाद भएको भए अहिले भारतीय पक्षले भनेजस्तै दुवै देश पछाडि फर्कनुपर्ने तर्क सही हुने तर चीनको भूमिमा भारतीय सशस्त्र बल पसेको हुनाले भारतीय पक्ष नै फर्कनुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो।

प्राध्यापक श्रेष्ठले चीनले कुनै पनि विवादित क्षेत्रमा सेना पठाउने नगरेको तर भारतले विवादित क्षेत्र भनिएको चिनियाँ भूमिमा आफ्नो सेना पठाउनु गल्ती भएको विचार व्यक्त गर्नुभयो।

सीमाविद् बुद्धिनारायण श्रेष्ठले दोक्लाम काण्ड भारत र चीनबीचको प्रतिष्ठाको लडाइँ भएको दृष्टिकोण प्रस्तुत गर्नुभयो।

वर्तमान अवस्था सन् १९६२ को जस्तो कदापि नभएको विश्लेषण गर्दै दुवै छिमेकी देशबीच शान्तिपूर्वक समस्या समाधानको लागि नेपालले प्रयास गर्नुपर्ने बताउनुभयो।

उहाँले दुई छिमेकी देशहरूबीच मित्रता बलियो भए पनि नेपाललाई समस्या हुनसक्ने र शत्रुता बढ्दा पनि नेपाललाई समस्या पनसक्ने धारणा व्यक्त गर्दै नेपालले आफ्नो भूमि र सार्वभौमिकता रक्षाको लागि संवेदनशील र सावधान हुनुपर्ने बताउनुभयो।

उहाँले पनि भारतीय सेना फर्केर चीनले आफूले गर्दै आएको निर्माण कार्य रोकेर वार्ताको वातावरण बनाउनु समाधानको उचित बाटो हुन सक्ने धारणा व्यक्त गर्नुभयो।

नेमकिपाका सचिव तथा विदेश सम्बन्ध विभाग प्रमुख प्रेम सुवालले भारतले एक क्षेत्र एक बाटो पहलकदमीमा सही नगरेको हुनाले चीनले सिमाना क्षेत्रमा बाटो निर्माण कार्य तीव्र बनाएको भन्ने विश्लेषणको खण्डन गर्दै भन्नुभयो, ‘चीनले आफ्नो भूमिमा बाटोघाटो बनाउनु उसको सार्वभौम अधिकार हो।’

कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष नीरज लवजूले दोक्लाम तनावका विभिन्न पक्ष र कारणहरूबारे आफ्नो प्रस्तुति प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा नेक्राविसङ्घका सचिव नरेश खत्री र कोषाध्यक्ष सुरशेन धुसूले पनि बोल्नुभएको थियो।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक