पार्टीको २७ औं परिषद् भक्तपुरमा शुरु

भक्तपुर, २० साउन। नेपाल मजदुर किसान पार्टीको २७ औं केन्द्रीय परिषद् शुक्रबारबाट सुरु भएको छ।

परिषद्मा हालै सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा, आगामी तेस्रो चरणको स्थानीय तहको निर्वाचन, प्रादेशिक तथा सङ्घीय निर्वाचनको तयारी र बदलिंदो अन्तर्राष्ट्रिय परिस्थितिको सम्बन्धमा छलफल हुने बताइएको छ। शुक्रबार पार्टीका विभिन्न पेशागत तथा जनवर्गीय सङ्गठनका प्रतिवेदनहरू प्रस्तुत गरिए।

परिषद् बैठकको अध्यक्षता गर्दै पार्टी अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले पूँजीवादी व्यवस्थामा सरकारमा गएका र पूँजीवादी पार्टीहरूले पैसाको छेलोखेलो गरी निर्वाचन जित्नु नौलो नभएको बताउँदै मजदुर र कम्युनिष्ट पार्टीहरूले निर्वाचनलाई जनतालाई सचेत पार्ने अवसरका रुपमा उपयोग गर्छन् भन्नुभयो।

उहाँले यो वर्ष अक्टोबर समाजवादी क्रान्तिको शत्वार्षिकीलाई अध्ययन, अन्तरवि्र्कया र कक्षा सञ्चालन गरी विश्व इतिहासको महत्त्वपूर्ण क्रान्तिको स्मरण गर्न पार्षद्हरूलाई निर्देशन दिनुभयो।

अन्तर्राष्ट्रिय परिस्थितिबारे चर्चा गर्दै उहाँले प्रजग कोरिया र कोरियाली मजदुर पार्टीको लडाइँ अमेरिकी कठपुतली दक्षिण कोरिया र जापानसित नभई अमेरिकी साम्राज्यवादसितै भएको बताउनुभयो। उहाँले साम्राज्यवादी र पूँजीवादी देशमा आर्थिक र राजनीतिक सङ्कटसँगै साम्राज्यवादीहरूले कमजोर र शत्रु देशमाथि हमला गर्ने बताउँदै प्रजग कोरियाले कसैको भरमा नपरी आफ्नो लडाइँ आफ्नै हतियार र सेनाको बलमा लड्ने र जित्ने नीतिअनुरुप तयारी गरिरहेको बताउनुभयो।

अध्यक्ष बिजुक्छेंेले वर्गीय हित र जनताको सेवाको निम्ति सङ्घर्ष गर्ने पार्टीलाई चुनावी थ्रेसहोल्डको कमजोर सिक्रीले बाँध्न नसक्ने बताउँदै समाजवाद स्थापनाको सङ्घर्षलाई व्यापक जनतामाझ पुर्‍याउन निर्देशन दिनुभयो।

परिषद्मा पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले स्थानीय तह निर्वाचन दुई चरणको समीक्षा र संसदमा देश र जनताको पक्षमा नेमकिपाले गरिरहेको वैचारिक सङ्घर्षको चित्रणसहित २६ औं केन्द्रीय परिषद्पछिको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभयो।

परिषद्मा जिल्ला समितिहरूको प्रतिवेदन प्रस्तुत गर्ने क्रम चालू छ। परिषदले प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्ने र महत्त्वपूर्ण निर्णयहरू लिने बताइएको छ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक