नेमकिपाको २७ औं केन्द्रीय परिषद् सम्पन्न

नेपाल मजदुर किसान पार्टीको २७ औं केन्द्रीय परिषद् आइतबार सम्पन्न भयो । शुक्रबारबाट शुरु भएको परिषद्को अध्यक्षता पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले गर्नुभएको थियो । परिषद्का निर्णयबारे आइतबार पार्टी केन्द्रीय सचिव प्रेम सुवालले प्रेस वक्तव्य जारी गर्नुभएको छ  । वक्तव्यको पूर्ण विवरण प्रस्तुत छ ः

नेपाल मजदुर किसान पार्टीको २७ औं केन्द्रीय परिषद् २०७४ साउन २०, २१ र २२ गते भक्तपुरमा सम्पन्न भयो । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को अध्यक्षतामा सम्पन्न परिषद्ले नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले पेश गर्नुभएको प्रतिवेदन सुझावसहित पारित ग¥यो  परिषद्ले गत वैशाख र असारमा सम्पन्न स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनको सिंहावलोकन गर्नुका साथै आगामी निर्वाचनको तयारी एवम् पार्टीको विभिन्न गतिविधि सञ्चालनको निम्ति आवश्यक निर्णय ग¥यो र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा प्रस्तावहरु पारित ग¥यो ।  परिषद्मा केन्द्रीय सदस्यहरू, जिल्ला अध्यक्ष र जनवर्गीय तथा पेशागत सङ्गठनहरुको प्रतिवेदन प्रस्तुत भयो । नेपाल मजदुर किसान पार्टीको २७ औं केन्द्रीय परिषद् (२०७४ साउन २०, २१ र २२) बाट पारित निर्णयहरु निम्नानुसार छन् ः

१. २०७४ वैशाख ३१ गते प्रदेश नं १, ३ र ६ र असार १४ गते प्रदेश नं ४, ५ र ७ मा भएको स्थानीय तहको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरूलाई मतदान गर्ने सम्पूर्ण मतदाता तथा सहयोग गर्ने जनतालाई यो परिषद् आभार एवं धन्यवाद प्रकट गर्दछ । पूँजीवादी दलहरु नेका, एमाले, माओवादीलगायतको आचारसंहित उल्लंघन गरी झुठा आश्वासन दिने, भोज–भतेर खुवाउने, सामान र पैसा वितरण गर्ने कामको विरोध पार्टीले गर्दै जाने र आगामी दिनमा पनि समाजवादी आन्दोलन र देशभक्तिपूर्ण सङ्घर्ष चालु राख्ने निर्णय भयो ।

२. माओवादी केन्द्र–नेकाको सरकारद्वारा २०७३ चैत २९ गते व्यवस्थापिका–संसदमा प्रस्तुत संविधानको दोस्रो संशोधन प्रस्ताव नेपाली जनताको हितविपरीत भएको हुँदा परिषद्ले पुनः विरोध ग¥यो । भारतीय विस्तारवाद र एकाधिकार पूँजीको हित गर्ने सो प्रस्ताव फिर्ताको लागि सरकारलाई दबाब दिन जिल्ला–जिल्लामा पार्टी र जनवर्गीय तथा पेशागत सङ्गठनहरुमार्फत विभिन्न गतिविधिहरु गर्ने निर्णय भयो ।

३. व्यवस्थापिका–संसदमा विचाराधीन मतसीमा (थ्रेसहोल्ड) को बन्दोबस्तसहितको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक २०७४ प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रविरोधी तथा प्रतिगामी, निर्दलवादी भएको परिषद्को ठहर छ । दुई वा तीन दलीय तानाशाही थोप्ने र दर्शन एवं विचारको आधारमा गठन र सञ्चालन भएका दलहरूलाई प्रतिबन्ध लगाउन नपाउने संविधानको प्रावधानविपरीत भएका ती दुवै विधेयकको अप्रजातान्त्रिक दफाको विरोधमा जिल्ला–जिल्लामा पार्टी, जनवर्गीय र पेशागत सङ्गठनहरुलाई गतिविधि गराउने निर्णय भयो ।

४. प्रदेश नं २ मा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनलाई पार्टीले क्रान्तिकारी उपयोग गर्ने र चुनाव प्रचार–प्रसारमा साम्प्रदायिक तथा विखण्डनवादी विचारविरुद्ध सैद्धान्तिक र राजनीतिक अभियान चालू राख्ने निर्णय भयो ।

५. २०७४ माघ ७ गतेभित्र हुने प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनको क्रान्तिकारी उपयोग समेत गर्न देहायबमोजिम पार्टीका साथीहरुको संयोजकत्वमा पार्टीको प्रदेश समितिहरू गठन गर्ने निर्णय भयोःप्रदेश नंं १ संयोजक ः नरेन्द्र होमागाइँ  प्रदेश नंं २ संयोजक ः दिनेश शाह  प्रदेश नंं ३ संयोजक ः प्रेम सुवाल  प्रदेश नंं ४ संयोजक ः नीरज लवजू  प्रदेश नंं ५ संयोजक ः हरिसुन्दर वासी  प्रदेश नं. ६ संयोजक ः सुनिल प्रजापति प्रदेश नं. ७ ः संयोजक ः बजीरसिंह विक

अन्तर्राष्ट्रिय विषय

१. सन् १९१७ मा विश्व सर्वहारा वर्गका महान गुरु कामरेड लेनिन र स्तालिनको नेतृत्वमा रुसमा सम्पन्न महान अक्टोबर समाजवादी क्रान्तिको यो वर्ष शतवार्षिकी हो । यस अवसरमा जिल्ला–जिल्लामा अक्टोवर समाजवादी क्रान्तिको इतिहास र नेपालको सन्दर्भमा त्यसको महत्वबारे प्रशिक्षण, अध्ययन गोष्ठी, अन्तरक्रियालगायतका गतिविधि वर्षभरि अभियानको रुपमा अगाडि बढाउने र सो क्रान्तिको गौरवबारे कार्यकर्ता र जनतालाई जानकारी गराउँदै पार्टीको संगठन विस्तारलाई जोड दिने निर्णय भयो ।

२. जून १८ सन् २०१७ का दिन भारतीय सशस्त्र सीमा सुरक्षा बल पञ्चशीलको सिद्धान्तविपरीत चीनको भूमि दोक्लाम क्षेत्रमा प्रवेश गरी चिनियाँ सार्वभौमिकतामा हस्तक्षेप गरेको हुँदा यो बैठक भारतको हस्तक्षेपकारी गतिविधिको विरोध एवं भत्सर्ना गर्दछ । सार्वभौम र स्वतन्त्र देश भुटानको भूमि रक्षा गर्ने निहुँमा ७५० को सङ्ख्यामा भारतीय सशस्त्र सीमा सुरक्षा बलको चिनियाँ भूमिमा प्रवेश तत्कालीन बेलायती–भारत सरकार र चीनबीच सम्पन्न सन् १८९० मा भएको सन्धिको उल्लङ्घन हो । तसर्थ भारतीय सशस्त्र सीमा सुरक्षा बल दोक्लाम क्षेत्रबाट अविलम्ब फिर्ता हुनुपर्ने यो परिषद् ठहर गर्दछ ।

३. प्रजग कोरियाले संरा अमेरिकी साम्राज्यवादको युद्धको धम्की र नाकाबन्दीको प्रतिरोध गर्न आफ्नो सार्वभौमिकताको रक्षा तथा ऊर्जा उत्पादनको लागि आणविक परियोजना र क्षेप्यास्त्र परीक्षण गरेकोलाई यो परिषद् स्वागत र समर्थन गर्दछ । कोरियाली प्रायः द्वीपमा तनाव उत्तर र दक्षिण कोरियाबीचको मात्र नभई कोरिया एवं कोरियाली जनता तथा संसारका सबै न्यायप्रेमी जनता र संरा अमेरिकी साम्राज्यवादबीचको सङ्घर्ष हो । पहिलो आक्रमणको अधिकार संरा अमेरिकालाई मात्र नभई प्रजग कोरियासँग पनि हुने प्रजग कोरियाको घोषणा उचित छ । दक्षिण कोरियाबाट संरा अमेरिकी साम्राज्यवादको सेना र हतियार अविलम्ब फिर्ता गरी विनाबाहिरी हस्तक्षेप कोरिया पुनः एकीकरणको मार्ग प्रशस्त गर्न र अमेरिकी साम्राज्यवादले प्रजग कोरियाविरुद्ध लगाएको नाकाबन्दी अविलम्ब फिर्ता गर्र्न यो परिषद् माग गर्दछ ।

४. बोलिभारियाली गणतन्त्र भेनेजुयलाको आन्तरिक मामिलामा संरा अमेरिकी साम्राज्यवादको नेतृत्वमा रहेको मोर्चाले त्यहाँका कथित विद्रोहीहरुलाई सहयोग गरी उक्साउँदै हस्तक्षेप गरिरहेकोमा यो परिषद् विरोध एवं भत्सर्ना गर्दछ । गएको जुलाई ३० मा सम्पन्न चुनावबाट निर्वाचित भेनेजुयलाको राष्ट्रपति माडुरो सरकारको संविधानसभामार्फत भेनेजुयलाको राजनीतिक सड्ढट समाधान गर्ने निर्णयप्रति यो बैठक समर्थन गर्दछ ।

५. संरा अमेरिकी साम्राज्यवादले समाजवादी देश क्युवाविरुद्ध लगाउँदै आएको नाकाबन्दी हटाउनुपर्ने प्रस्ताव संयुक्त राष्ट्र सङ्घको साधारणसभाबाट २३ आंै पटक पारित भइसकेको हुँदा क्युवाविरुद्धको संरा अमेरिकी साम्राज्यवादको नाकाबन्दी अविलम्ब फिर्ता गर्न यो परिषद् माग गर्दछ ।

पार्टीका प्रकाशनहरुको अन्तरक्रिया

१. मजदुर दैनिक र श्रमिक साप्ताहिक तथा पार्टीका अन्य प्रकाशनहरुको पार्टी सदस्य, समर्थक र जनतासम्म ग्राहक बनाउने अभियान जिल्ला पार्टीकै अगुवाइमा सञ्चालन गर्ने र पार्टी समिति तथा जनवर्गीय एवं पेशागत सङ्गठनहरुलाई नियमित अन्तरक्रिया गराउने निर्णय भयो ।

पञ्चायती राज्यस्तरद्वारा रचित भक्तपुर काण्डको भत्सर्ना

१. तत्कालीन पञ्चायती सरकारले नेपाल मजदुर किसान पार्टीविरुद्ध राज्यस्तरको षड्यन्त्र रचेको भक्तपुर काण्ड ‘कालो दिन’को भत्र्सना एवं विरोध गर्न र आगामी दिनमा प्रतिक्रियावादीहरुबाट हुने षड्यन्त्रविरुद्ध कार्यकर्ताहरुलाई सचेत पार्न जिल्ला जिल्लामा कार्यकर्ता भेला, छलफल, प्रवचन आदि कार्यक्रम गरी भक्तपुर काण्डको भत्र्सना गर्ने निर्णय भयो ।

पार्टी प्रतिवेदन

१) पार्टी सचिव कामरेड प्रेम सुवालले पेश गर्नुभएको प्रतिवेदन सुझावसहित पारित गरियो ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक