‘नयाँ शैली’ को नाममा नेमकिपा पूँजीवादी सत्ता राजनीतिमा लाग्न नसक्ने

काठमाण्डौ, ३ असोज । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको दोस्रो काठमाण्डौ उपत्यका सम्मेलन मङ्गलबार त्रिचन्द्र बहुमुखी क्याम्पसमा आयोजित एक कार्यक्रमबीच नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै सचिव सुवालले पूँजीवादी सत्तामा जान मरिहत्ते गर्ने शासक दलहरु कम्युनिष्ट पार्टी हुन नसक्ने बताउनुभयो ।
भारतीय बिस्तारवादको संरक्षणमा हुर्केका र राजाको प्रतिगमनसमक्ष आत्मसमर्पण गर्ने शासक दलहरुले व्यापक कामदार जनताको हित गर्न नसक्ने बताउँदै उहाँले नेमकिपासमक्ष आइपरेका कुनै पनि राजनीतिक चुनौतीको सामना गर्न अझ सक्रियतापूर्वक संगठनमा लाग्न विद्यार्थी कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
सचिव सुवालले ‘नयाँ शैली’ को नाममा शासक दलले जस्तै नेमकिपा पूँजीवादी सत्ता राजनीतिमा लाग्न नसक्ने बताउनुभयो ।
नेमकिपा काठमाण्डौं जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले भारतीय बिस्तारवादले नेपालमा नाकाबन्दी थोपर्दा चुप लाग्ने दलहरु नै आज ‘राष्ट्रवादी’ भनी जनतालाई भ्रममा पार्न खोज्नु बिडम्बनापूर्ण भएको बताउनुभयो ।
नेक्राविसङ्घका केन्द्रीय संयोजक नीरज लवजूले नेपालको शिक्षामा देखापरेका नवउदारवादी प्रभावका कारण कामदार वर्गका विद्यार्थीहरु गुणस्तरीय शिक्षाबाट बञ्चित हुनुपरेको बताउनुभयो ।
कार्यक्रममा नेपाल प्राध्यापक समाजका सहसचिव सुजन माक र इन्जिनियर समाज नेपालका अमोद उलकले सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
सम्मेलन तयारी समितिका संयोजक आर जीको सभापतित्वमा भएको कार्यक्रममा दिपेन्द्र शाही र एच दाहालले पनि बोल्नुभएको थियो ।
मङ्गलबार सम्पन्न बन्द बैठकमा नेक्राविसङ्घका केन्द्रीय सचिव सविन ख्याजू, केन्द्रीय सदस्य नरेश खत्री र सुरेश परियारले पनि बोल्नुभएको थियो ।
सम्मेलनबाट आर जीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक