संशोधनवाद क्रान्तिविरोधी

भक्तपुर, ५ असोज । ‘माक्र्सवाद–लेनिनवादको केरमेट तथा हेरफेर संशोधनवाद हो र यसको मुख्य सिद्धान्त क्रान्तिबाट जनतालाई टाढा राखी शोषकहरूको सेवा गर्नु नै हो ।’ उक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छें (रोहित) ले नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिको आयोजनामा सम्पन्न उपत्यकास्तरीय महिला कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रममा व्यक्त गर्नुभएको हो ।

श्रमिक साप्ताहिक र मजदुर दैनिकमा प्रकाशित विभिन्न अन्तर्राष्ट्रिय लेख–रचनामा केन्द्रित भई गरिएको उक्त अन्तरक्रियामा अध्यक्ष रोहितले मजदुर र किसानको एकता र सङ्घर्षविना पूँजीपति वर्गले आफ्नो स्वार्थ नछाड्ने हुनाले उनीहरूको स्वार्थ पूरा गर्ने मुख्य हतियार राज्य वा शासन सत्तालाई मजदुर, किसान वा कम्युनिष्टले आफ्नो सङ्घर्षको बलमा प्राप्त गर्ने गर्दछ भन्ने विचार व्यक्त गर्नुभयो ।  संशोधनवादी नेता खु्रश्चेभ, गोर्भाचोभलगायतले गलत बाटो लिएका कारण रूसको समाजवाद संशोधनवादमा पतन भएको उल्लेख गर्दै उहाँले नेपालका कम्युनिष्ट नामधारी पार्टी एमाले, माओवादी पनि तिनै संशोधनवादीको पदचिह्नमा हिंडेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘संशोधनवादी नेता वर्नस्टिन, ख्रुश्चेभले जस्तै नेपालका नक्कली कम्युनिष्ट पार्टीले पनि अब सङ्घर्ष आवश्यक नभएको र शान्तिपूर्ण बाटो अर्थात् चुनावबाटै समाजवाद आउँछ भन्ने गलत धारणामार्फत जनतालाई भ्रममा राख्ने काम गरेका छन्, यसले गरिब जनताको भलो गर्दैन र कमजोर बनाउँछ ।  उहाँले रूसको समाजवाद अन्त्यको लागि संशोधनवादी नेताहरूले अमेरिकालाई प्रभाव र चलखेल गर्न दिएको चर्चा गर्दै समाजवादको अन्त्यपछि त्यही रूसको पछि लाग्ने मंगोलिया, जर्मन, चेकोस्लाभकिया, युगोस्लाभिया, भोल्गेरियालगायत देशका कम्युनिष्ट पार्टी पनि खतम भएको उल्लेख गर्नुभयो ।

अमेरिकाले ६० वर्षदेखि समाजवादी देश प्रजग कोरियालाई दुःख दिएको र हेपेको कारण आफ्नै खुट्टामा उभिई स्वाभिमान र आत्मरक्षाको निम्ति आणविक हतियार उत्पादन गरेको विचार राख्दै उहाँले भन्नुभयो, ‘सिद्धान्तमा अडिग हुने देश होस् या पार्टी अविचलित रूपमा कुनै पनि बाह्य शक्तिको अगाडि झुक्दैन र जनतालाई बलियो बनाउँछ ।’ अध्यक्ष रोहितले सिद्धान्तमा नबस्ने स्वार्थ बोकोकाहरू अन्ततः पार्टीमा पनि नटिक्ने भएकोले सिद्धान्तको आधारमा पार्टी सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष बिजुक्छेंले महिलाहरू पनि राजनीतिक र सैद्धान्तिकरूपले शिक्षित र सचेत भए कुनै पनि पार्टीका गलत क्रियाकलाप र नीतिका विरूद्ध सङ्घर्ष गर्नसक्ने आंैल्याउनुभयो ।  ख्वप कलेज अफ इञ्जिनियरिङका प्राचार्य सुनिल दुवालले मस्को घोषणापत्र र मस्को वक्तव्यको आधारमा एक होऔं विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।  नेक्रामसङ्घका केन्द्रीय सदस्यहरूले ‘संशोधनवादीहरूको एक ऐना’ र ‘इटालियाली रचिनियाँ कम्युनिष्ट पार्टीबीचको मतभेद’ विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।  सङ्घका अध्यक्ष अनुराधा थापामगरको सभापतित्वमा भएको कार्यक्रममा कान्ति अवा, हिमाली रानामगर, सुलोचना छ्वाजू, गंगा वैद्य, सानुमाया लागे र प्रतिभा श्रेष्ठले पनि बोल्नुभएको थियो ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक