कम्युनिष्ट आन्दोलन रक्षा गर्न संशोधनवादविरुद्ध सङ्घर्ष

काठमाण्डौ, ६ असोज । नेपाल मजदुर किसान पार्टी काठमाण्डौको सातौं जिल्ला परिषद् शुक्रबार एक कार्यक्रमबीच नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै सचिव सुवालले व्यक्तिगत लेनदेन र अपराधीलाई छुटाउन समेत काठमाण्डौस्थित भारतीय राजदुतावासले नेपालमा हस्तक्षेप गरिरहेको निन्दनीय भएको बताउनुभयो । भारतका डलर तस्करलाई तारिखमा छुटाउन भारतीय दुतावासले नेपालको न्यायप्रणालीमा हस्तक्षेप गरेको हालै प्रकाशित समाचारतर्फ सङ्केत गर्दै उहाँले भारतीय हस्तक्षेपको विरोधमा शासक दलहरु बोल्न डराउने गरेको बताउनुभयो ।
शासक दलहरुले संविधानको प्रावधान र मर्मविपरीत मत सीमाको कानुनी बन्दोबस्त गर्न लागेको धारणा राख्दै नेपालको सदन र सडकमा उठेको भारतीय विस्तारवादविरोधी आवाज दबाउन नयाँ दिल्लीको इसारामा मत सीमाको बन्दोबस्त गरिएको बताउनुभयो ।
सभासद् सुवालले पार्टी कार्यकर्ताहरुलाई सैद्धान्तिक अध्ययन र छलफलमा जोड दिन आग्रह गर्दै भन्नुभयो,‘माक्र्सवाद–लेनिनवाद र माओ विचारधाराको रक्षा गर्न नेपालको कम्युनिष्ट आन्दोलनमा रहेका संशोधनवादी र अवसरवादी धारको विरोधमा सैद्धान्तिक सङ्घर्ष आवश्यक भएको धारणा राख्नुभयो ।
उहाँले प्रजग कोरियाली जनताको एकता, सक्रियता र ज्ञानकै कारण संरा अमेरिकी साम्राज्यवादलाई चुनौती दिन सक्षम भएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले नेपाली जनताले प्रतिगमनविरोधी आन्दोलन देशमा दुई वा तीन दलको तानाशाही शासन ल्याउन नगरेको विचार राख्नुभयो ।
शासक दलहरुको राजनीतिक संरक्षणका कारण भ्रष्टाचारी र अपराधीहरुले उन्मुक्ति पाइरहेको भन्दै उहाँले शासक दलहरुको व्यवहारका कारण देशको लोकतन्त्र कमजोर भएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा काठमाण्डौ जिल्ला अध्यक्ष नारायण महर्जनले पार्टी सदस्यहरुले जनताको सेवामा थप समय दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजवीर डंगोल, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय संयोजक नीरज लवजू, वीरबहादुर डंगोल, श्यामकुमार महर्जन र रुपा थापामगरले पनि बोल्नुभएको थियो ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक