जनताको साहित्यको सैंतिसौं वर्ष

असोज १६ देखि नेपाल भाषा तःमुंज्या (नेपाल भाषाको विराट सम्मेलन) को सेंतिसौं (३७) औं सम्मेलन सुरु भयो । यसको स्थापनापछि जन्मेका नयाँ पुस्ता समेत प्रौढ अवस्थामा सक्रिय छन् । यो साहित्य सम्मेलन, कामदार वर्गको साहित्य हो, किसान जनता र बुद्धिजीवी समुदायको साहित्य सम्मेलन हो । यस तःमुंज्या (विराट साहित्य) को स्थापना नभएसम्म गरिब जनता, किसान र मजदुरहरुले साहित्यको दबुली (मञ्च) मा गएर साहित्य वाचन गर्न पाउँदैनथे, साहित्य सम्मेलनको मञ्चमा बस्न पाउँदैनथे ।

सुकिलो लुगा लगाउनेहरुको ‘सम्मेलन’ मा कामदार जनताका छोराछोरी, टाउकोमा नाम्लो र डोको बोक्ने, खर्पन बोक्ने ज्यापू र भारी बोक्ने भरियाका छोराछोरीले शोषक वर्गको दबुलीमा उक्लिन पाउँदैनथे, किनभने त्यस बेला गरिब र कामदार जनतालाई साहित्यमा पनि वर्ग हुन्छ भन्ने थाहा थिएन । नेपाल भाषा साहित्य तःमुंज्याले गरिबका छोरा–छोरीलाई साहित्यमा पनि वर्ग हुन्छ भन्ने शिक्षा दियो, कविता, कथा, निबन्ध, नाटक लेखन र सांस्कृतिक गतिविधि गर्न सिकायो । हो, अब कामदार वर्गको कलम समात्ने दोस्रो पुस्ता जनताको साहित्यिक फाँटमा उक्लिंदैछ । तिनीहरुको साहित्यले नेपाली जनताको सेवा गर्नेछ, साम्राज्यवाद र उपनिवेशवादको विरोध गर्न सिकाउनेछ, प्रभुत्ववाद र विस्तारवादको विरोध गर्न सिकाउनेछ ।

बितेको वर्ष भारतीय नाकाबन्दीको विरोधमा साहित्य रचना भयो, हाम्रो शत्रु को हो र हाम्रो मित्र को हो भन्ने प्रस्ट पा¥यो । प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र क्युवा समाजवादी देशहरु हुन् । ती मित्र राष्ट्रहरुमाथि अमेरिकी साम्राज्यवादले थिचोमिचो गर्दैछ । त्यसको विराधमा पनि नयाँ पुस्ताका युवा लेक, कवि, कलाकारहरुले कलम चलाउँदैछन् । नेपाली साहित्यमा पनि अन्तर्राष्ट्रियतावाद तड्कारो रुपले अगाडि बढ्नेबारे कुनै शड्ढा छैन । महाभूकम्पको घाउ आज पनि आलै छ । प्राधिकरण भनिने उद्धार समिति भारतको मुख ताक्दैछ । भारतले बचन दिएको रकम दिन मानेको छैन भन्ने हल्ला छ । सत्य त्यही हो भने भारतीय मित्रलाई नेपालले कर गर्नुहुन्न । भारत ‘ठूलो प्रजातान्त्रिक’ देश हो, त्यहाँ पनि भारतीय जनताका अनेक दुःख–कष्ट भोग्दैछन् । भारतमा पनि आधा जनसंख्या अर्थात् ५०–६० करोड जनता एक छाक खान्छन्, तिनीहरुको घरमा शौचालय छैन, ऋण तिर्न नसकेर वर्षमा हजारौं गरिब किसानहरुले आत्महत्या गर्छन्, दहेज दिन नसकेर वर्षको हजारौं बुहारीहरुको हत्या हुन्छ र आत्महत्या हुन्छ, संसारमा सबभन्दा बढी हत्या र बलात्कार, चोरी र डकैती भारतमै हुन्छ ।

भारतमा वर्षको २२ हजार मानिस रेल दुर्घटनामा मर्छन् र हरेक दिन भारतमा ४०० मोटर दुर्घटनामा मर्छन् । भारतको रेलवेको बन्दोबस्त अंग्रेजको पालामा भएको थियो र १०० वर्ष नाघिसकेको छ । तर बन्दोबस्त नमिल्दा अनावश्यक मृत्यु मर्न भारतीय जनता बाध्य छन् । नेपाली र भारतीय जनता दुवै गरिब छन्, पूँजीवादी सरकारहरुबाट पीडित छन् । धनी झन् झन् धनी हुँदैछन् र गरिब झन् झन् गरिब ! त्यसमाथि जमिनदार वर्ग र पूँजीपति वर्गको शोषणले जनता छटपटीमा छन् । भ्रष्टाचार, कालाबजारी, खाने कुरामा मिसावट, घुस खाने, बेरोजगारी, जातीय र धार्मिक भेदभावप चरम अवस्थामा छ । भारतीय जनता पार्टीको सरकार बहुमतमा छ, मोदी त्यस सरकारको प्रधानमन्त्री हुन्, छिमेकी देशहरुमा उनको थिचोमिचो छ । यसकारण छिमेकी देशका जनताको बारे पनि नेपाली भाषा साहित्यमा आउने आशा गर्न सकिन्छ । बहुमत जनताको आवाज नै जनताको साहित्य हो ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक