नेपालभाषा साहित्य सम्मेलन शुरु, भण्डारी र ग्वंग सम्मानित

भक्तपुर, १६ असोज । सेत्तीसौं नेपालभाषा साहित्य सम्मलेनको सोमबार अगुवा किसान कार्यकर्ता कुलबहादुर कवांले पानसमा द्वीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । भक्तपुरको ल्योसिंख्योमा आयोजित सम्मेलनका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र संस्कृतिविद् एवं साहित्यकार तेजेश्वरबाबु ग्वङ्गलाई सम्मान गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख तथा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले कुनै पनि नगरपालिका क्षेत्रमा काम गर्न स्थानीय निकायको अनिवार्य स्वीकृति लिनुपर्ने प्रावधान बनाउनुपर्ने धारणा राख्नुभयो ।
जनताको अधिकार कर्मचारीको हातमा दिनुले प्रजातन्त्र कमजोर बनाएको बताउँदै शासक दलहरुले मतसीमाको बन्दोबस्त थोपरेर दुई दलीय तानाशाही लाद्न खोजिरहेको धारणा राख्नुभयो ।
उहाँले मुलुकी ऐनलाई विस्थापन गर्न बनेको देवानी ऐनसमेतलाई अल्पमतले पारित गरेर लोकतन्त्रको उपहास भएको बताउनुभयो ।
नगरप्रमुख प्रजापतिले उपभोक्ता समितिमार्फत गरिएको निर्माण अझ दिगो र गुणस्तरीय हुने गरेका अनुभव भक्तपुर नगरपालिकासँगै भएकाले कुनै पनि विदेशी दातृनिकायको शर्तसामू झुकेर काम गर्न नसकिने बताउनुभयो ।
‘हाम्रो आत्मसम्मानमाथि आँच पुग्ने कुनै पनि शर्त हामीलाई स्वीकार्य हुनसक्दैन ।’,उहाँले भन्नुभयो ।
स्वदेशका इन्जिनियर, डकर्मी र सिकर्मीहरुलाई मान्यता नदिने र जसको लगानी उसैको शर्तअनुसार काम गर्नुपर्ने केएफडब्ल्युको शर्त भक्तपुर नगरपालिका र भक्तपुरका जनतालाई मान्य नभएको धारणा राख्नुभयो ।
कार्यक्रममा सम्मानित वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले आफ्नो जीवनमा विभिन्न समय उत्पीडित किसान कार्यकर्ताहरुको प्रभाव भएको रहेको बताउँदै भक्तपुरलगायत देशभरि विभिन्न जिल्लामा भएका किसान आन्दोलनहरुमा सहयोग गर्न पाउनु गौरव भएको बताउनुभयो ।
संस्कृतिविद् तथा साहित्यकार तेजेश्वरबाबु ग्वङ्गले भाषाको अपव्याख्या हुँदा अर्थको अनर्थ भएको र संस्कृतिको मर्म पनि कमजोर भएकोमा सजग हुनुपर्ने धारणा राख्नुभयो ।
उहाँले नेवार जातिको संस्कृति नेपालकै लागि गौरव निधि भएकोले संरक्षणमा सबैको ध्यान जानुपर्ने बताउनुभयो ।
वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालको सरकार सक्षम भएको भए भारतले सीमाक्षेत्रमा असमान बाँध र तटबन्ध बनाउँदा पनि, सीमाक्षेत्रका नेपालीहरुलाई दुःख दिंदा पनि सरकार चुप लागेर नबस्ने बताउनुभयो ।
उहाँले ९–९ महिनामा पालैपालो सरकार परिवर्तन हुने अवस्थाले नेपालका सबै क्षेत्रमा अस्थीर भएको बताउनुभयो ।
लेखक एवं जनमत साहित्यिक मासिकका प्रधानसम्पादक मोहन दुवालले जनताको सक्रियताले नै भाषाको संरक्षण हुने चर्चा गर्दै नेपालमा राज्यले लेखक र साहित्यकारलाई प्रोत्साहन गर्न कुनै पहल नगरेको धारणा राख्नुभयो ।
उहाँले देशभरिका कवि कलाकार र लेखकहरुको वर्गीकरण गरी लेखकलाई राज्यले प्रोत्साहन दिनुपर्ने बताउनुभयो ।
मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले प्रत्यारोपण केन्द्रले मृगौला, हृदय र कलेजो प्रत्यारोपणमा विश्वस्तरीय सुविधा दिइरहेको चर्चा गर्दै मृगौला प्रत्यारोपणका लागि अब आफै घरको सदस्य बाहेक अरु आफन्तबाट पनि मृगौला लिन सक्ने नयाँ बन्दोबस्त आएको बताउनुभयो ।
उहाँले मस्तिष्क मृत्यु भएको मानिसबाट काम लाग्ने अङ्ग लिन सक्ने कानुनी प्रावधानले अब आफ्नो अङ्ग विफल भएका धेरै मानिस बाँच्ने आधार भएको बताउनुभयो ।
पूर्वन्यायाधिश गौरीबहादुर कार्कीले तीन प्रतिशतको मत सीमाले राजनीतिक निरंकुशता थोपर्ने षड्यन्त्र भएको बताउनुभयो । प्रजातन्त्रको नाममा संरा अमेरिकामा जस्तो दुई दलीय तानाशाही लाद्न खोज्नु प्रजातन्त्र नभएको धारणा राख्नुभयो ।
मनोविद् धनरत्न शाक्यले मोबाइल जस्ता आधुनिक प्रविधिले आजको समाजमा मानिसको जीवन एकोहोरो भएको धारणा राख्नुभयो ।
शरीरमा कोलस्टोरेजको मात्रा र मानसिक रोगको सम्बन्ध भएको जानकारी दिंदै मानसिक समस्या कम गर्न सके आत्महत्याको सङ्ख्या घट्ने विचार राख्नुभयो ।
स्त्रीरोग विशेषज्ञ डा.सानुमैंया श्रेष्ठले भक्तपुर नपाद्वारा सञ्चालित जनस्वास्थ्यमा काम गर्दाताका आफू भक्तपुरमा जनताको सेवा गर्ने तरिकाबाट प्रभावित भएको बताउनुभयो । रेडियोलोजिस्ट विशाल प्रतीक मिश्रले स्वस्थ्य जीवनका लागि ध्यान दिनुपर्ने कुराको विषयमा जानकारी दिनुभयो ।
कार्यक्रममा कवयत्री बेबी झा, कवि हरिहर तिमिल्सिना, लेखक अभय श्रेष्ठ, कवि सुरेश परियार, लेखक कृष्णकुमार वैद्यलगायतले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो । साथै एक दर्जनभन्दा बढी साहित्यकारहरुले प्रतियोगी साहित्यहरु वाचन गर्नुभएको थियो । पत्रकार समाज तथा जनलेखक सङ्घ नेपालका अध्यक्ष लक्ष्मण जोशीको सभापतित्वमा भएको सम्मेलनको पहिलो दिनमा स्वागत सेत्तीसौं नेपालभाषा साहित्य सम्मेलन आयोजक समितिका अध्यक्ष बलराम सिंबञ्जारले गर्नुभएको थियो ।
कार्यक्रमको बीच बीचमा विभिन्न साँस्कृतिक प्रस्तुति प्रस्तुत भएको थियो ।
सम्मेलन मङ्गलबार पनि चालु रहनेछ ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक