स्वास्थ्य बीमाभन्दा निःशुल्क स्वास्थ्योपचार आवश्यक

काठमाडौं, २४ असोज  । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले देश र जनताको निम्ति राम्रो काम गर्ने सबैलाई जनताले सम्झने उल्लेख गर्दै जगदिश शमशेर राणाले नाचगानको राजधानी भक्तपुर विषयक पुस्तक लेखेर मानव सभ्यताको एक श्रृङ्खला संरक्षण गर्न योगदान गर्नुभएको बताउनुभयो ।
संसदको विशेष समयमा मङ्गलबार सांसद सुवालले शिक्षा, संस्कृति, साहित्य र जनविरोधीहरू मन्त्री र सांसद भए पनि जनताले नसम्झने उल्लेख गर्दै विश्व विद्यालय स्थापना गर्न विधेयकसमेत अगाडि नबढाउनेहरू प्रतिगामी र अराजकता फैलाउनेहरू हुन् भन्नुभयो ।
उहाँले गुण्डा पाल्नेहरू नामले प्रगतिशील, कम्युनिष्ट र प्रजातन्त्रवादी भए पनि यथार्थमा जनविरोधी नै हुने उल्लेख गर्दै निर्वाचनमा भोजभतेर खुवाउने, ग्यास सिलिन्डर र चुलो बाँड्ने, चामलको बोरा बाँड्ने पार्टी र उम्मेदवारहरू हत्यारा हुने स्पष्ट गर्नुभयो ।
सांसद सुवालले निर्माण व्यवसायी महासङ्घका अध्यक्ष गौचनको हत्या निर्वाचनको लागि पैसा असुल्नेहरू या विदेशी तत्व कसबाट भयो, यथार्थ सार्वजनिक गर्नुपर्ने आवश्यकता आंैल्याउनुभयो ।
असोज २३ गते भारतको चण्डीगढमा ८८ वर्षको उमेरमा निधन भएका राणा २०५० सालमा राष्ट्रिय सभाको सदस्य हुनुहुन्थ्यो ।
सांसद सुवालले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकमा पार्टीको संशोधन पेश गर्दै सर्वसाधारण जनताको लागि चिकित्सा शिक्षा र स्वास्थ्य उपचार निःशुल्क नभए प्रतिष्ठानको औचित्य नहुने बताउनुभयो ।
स्वास्थ्य बीमा विधेयकबारे बोल्दै सांसद सुवालले बीमा म्याद नाघेको पूँजीवादी व्यवस्थाको प्रावधान भएको हुँदा स्वास्थ्य उपचार निःशुल्क गरिए बीमा आवश्यक नहुने विचार राख्नुभयो ।
पार्टीका अर्का सांसद डिल्लीप्रसाद काफ्लेले नेपाल सरकारले उच्च पदाधिकारीहरूको पारिश्रमिक, सेवा र सुविधा वृद्धि गरेर देशको अर्थतन्त्र कमजोर गर्न खोज्नुका साथै नयाँ खानदान वर्गको विकास गर्न खोजेको छ भन्नुभयो ।
सांसद काफ्लेले ‘प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक २०७४ माथि विचार गरियोस् भन्ने छलफलमा भाग लिंदै गरिब, किसान, मजदुर, बेरोजगारलाई रोजगार दिन वैदेशिक रोजगारीमा जानेहरूलाई स्वदेशमै रोक्न र देशको अर्थतन्त्रलाई बलियो बनाउन संसदमा सरकारले कहिल्यै पनि छलफल नगरेको चर्चा गर्नुभयो ।
उहाँले उच्च वर्गलाई सुविधा दिन सरकारी संस्थानहरू निजीकरण गर्न र वैदेशिक लगानी ल्याउने मात्र संसदमा छलफल गर्दै आएको उल्लेख गर्नुभयो ।
सांसद काफ्लेले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक २०७४ माथिको छलफलमा प्रतिष्ठानबाट दिइने शिक्षा र स्वास्थ्य उपचार निःशुल्क दिइनुपर्छ र निजी
अस्पतालहरूलाई सरकारी दायरामा ल्याएर त्यहाँ पनि स्वास्थ्य उपचार र शिक्षा निःशुल्क दिनुपर्ने बताउनुभयो ।
उहाँले वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा व्यवस्थापन तथा नियमन गर्न बनेको विधेयकमाथिको छलफलमा चिकित्सा विज्ञानबाट निको नहुने भनी प्रमाणित भएको रोग निको हुने अलौकिक वस्तु हो भनी विश्वास पारी बिक्री वा वितरण गर्ने गरी जनतालाई ठगी गर्नेहरू प्रोत्साहित हुने भएकाले विधेयकलाई परिमार्जन गरेर पारित गर्नुपर्ने बताउनुभयो ।
उहाँले प्रस्तावित विधेयकबाट साना व्यापारीहरू टाटपल्टने र सामानको गुणस्तर घट्ने बताउनुभयो । विधेयक पारित हुँदा नेमकिपाले विपक्षमा मतदान ग¥यो ।
सोही दिन बसेको संसदको तेस्रो बैठकमा सांसद काफ्लेले स्वास्थ्य बीमा विधेयक २०७४ माथिको छलफलमा भाग लिंदै सरकारले बीमामार्फत जनतालाई स्वास्थ्य उपचारमा व्यापार गर्न खोजेको भन्दै दुर्गम स्वास्थ्य केन्द्रमा स्वास्थ्य क्षेत्रका कर्मचारी नबस्ने हुँदा स्वास्थ्य बीमा कार्यक्रमहरू प्रभावित हुने भएकोले कर्मचारी र औषधि समयमा पठाउनुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले बीमा सरकारी कम्पनीमार्फत गर्नुपर्ने र गरिब स्वास्थ्य बीमा गर्न सरकारले रकम हाल्नुपर्ने उल्लेख गर्नुभयो ।
सांसद काफ्लेले भाषा आयोगमार्फत विदेशी भाषालाई नेपालको सरकारी कामकाजको भाषा बनाउन संविधान संशोधन गर्न खोजिएको बताउँदै भाषा आयोगले नेपालभित्र बोलिने भाषालाई मात्र नेपाल सरकारसमक्ष सिफारिस गर्नुपर्ने बताउनुभयो ।
सांसद डिल्लीप्रसाद काफ्लेले गणपुरक सङ्ख्या नपुगेको कुरा उठाएपछि बैठकमा १४८ जना सांसदहरू उपस्थित हुनुपर्नेमा ९० जनामात्र सांसदको उपस्थिति भएपछि बैठक स्थगित गरिएको थियो ।
पार्टीका अर्का सांसद अनुराधा थापामगरले भाषा आयोग विधेयकबारे विरोधको सूचना पेश गर्दै आयोगमा भाषाविद्हरू राख्नुपर्ने र नेपालका सबै भाषाको समान संरक्षण हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक