ध्रुविकरण जनताको आँखामा धुलो छर्ने काममात्र

काठमाडौं, २९ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले नेपालको कम्युनिष्ट आन्दोलनलाई सङ्लो बनाउन नेमकिपाले निरन्तर सैद्धान्तिक र राजनीतिक सङ्घर्ष अगाडि बढाइरहने बताउनुभएको छ ।
नेपाल टेलिभिजनको कार्यक्रम ‘सिधा प्रश्न’ मा अन्तर्वार्ता दिंदै अध्यक्ष रोहितले वामपन्थी र लोकतान्त्रिक भनिएका दुवै ध्रुवीकरण जनताको आँखामा धुलो छर्ने काम मात्रै भएकोले नेमकिपा अपवित्र गठबन्धनमा छैन भन्नुभयो ।
वामपन्थी गठबन्धनमा रहेका पार्टीहरू वामपन्थी नै नभएको र लोकतान्त्रिक गठबन्धनमा लोकतन्त्रविरोधी पुरातनपन्थी, प्रतिक्रियावादी सबैखाले मिसिएको स्वार्थीहरूको एकतामात्र भएको बताउँदै तिनीहरूको एकता अन्धो र लङ्गडोको एकताको कहावतजस्तै भएको बताउनुभयो ।
‘तेल के हेर्नु तेलको धारा हेर्नु, छोरा के हेर्नु छोराको साथ हेर्नु’ भन्ने नेपाली उखान स्मरण गर्दै अध्यक्ष रोहितले जालीफटाहा, गुण्डा, ठग आदि अपराधीहरूको वर्चश्व रहेका पार्टीहरूले देशलाई अगाडि बढाउन नसक्ने र देशको हित गर्न नसक्ने बताउनुभयो ।
कम्युनिष्ट नामले होइन व्यवहारले हुने बताउँदै उहाँले माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारा अँगाल्ने र बोलेको कुरा व्यवहारमा लागू गर्नेहरूमात्र कम्युनिष्ट हुन्छन् भन्नुभयो ।
एमालेले चार पटक र माओवादीले तीन पटक सरकारको नेतृत्व ग¥यो तर कम्युनिष्ट सिद्धान्तविपरीतका काम गरेका र आ–आफ्ना निर्वाचन घोषणापत्रअनुसार कुनै काम नगरी, भ्रष्टाचार र देश तथा जनविरोधी काम गरी कम्युनिष्टहरूलाई बद्नाम गर्ने काममात्र गरेको उहाँले प्रस्ट पार्नुभयो ।
कथित कम्युनिष्ट एकतापछि चीनको हात छ भनी गरिएको प्रचारमा सत्यता नभएको बताउँदै रोहितले अध्यक्ष त्यसका पछाडि भारतीय शासक वर्ग र भारतीय एकाधिकार पूँजीका मालिकहरू हुनसक्ने औंल्याउनुभयो ।
कथित वामपन्थी र लोकतान्त्रिक भनिएको अपवित्र गठबन्धनले देश र जनताको हितमा कुनै काम नहुने बरू हिजोजस्तै दलीय भागवण्डा र देशको राज्यकोषको लुटलाई अझ बढाउने ठोकुवा उहाँले गर्नुभयो ।
थ्रेसहोल्डले नेपाल मजदुर किसान पार्टीको सङ्घर्षलाई कमजोर पार्न नसक्ने स्पष्ट पार्दै अध्यक्ष रोहितले नेमकिपाले पार्टी नै स्थापना गर्न नपाइने पञ्चायती निरङ्कुशताको अवस्थामा स्थापना भएर देश र जनताको सेवा गरेको बताउनुभयो ।
‘शासक पार्टीहरूले हामीलाई सदनमा अवरोध गरे सडक हाम्रो अगाडि खुला छ । प्रतिक्रियावादी शासकहरूको विरोधमा हामी एकजनामात्र बाँकी रहेसम्म सङ्घर्ष गर्छौं ।’ उहाँले अगाडि भन्नुभयो ।
निर्वाचन आचारसंहिता लागू भइसकेपछि मन्त्रिमण्डल विस्तार गर्नु आचारसंहिता विपरीत भएको बताउँदै उहाँले सरकार बनाएको गठबन्धन तोडिसकेपछि सरकारमै रहिरहनु माओवादी केन्द्रका नेताहरूको अनैतिकता हो भन्नुभयो ।
पालैपालो सरकारको नेतृत्व गरेका र सरकारमा रहेका दलका माझ आचारसंहिता उल्लङ्घन गर्ने प्रतिस्पर्धा रहेको बताउँदै उहाँले ती दलका नेताहरू जनताका नेता नभई नयाँ खानदानी वर्ग भएको बताउनुभयो ।
यसैबीच अध्यक्ष रोहितले आइतबार रासस, न्यूज अफ साप्ताहिक, मजदुर दैनिक र श्रमिक साप्ताहिकका संवाददाताहरूसित कुराकानी गर्दै पछिल्लो संसदले नयाँ संविधान जारी गर्नसक्नु र केही ऐनहरू निर्माण गर्नु संसदको उपलब्धि भएको बताउनुभयो ।
संविधानमा नेमकिपाको ७१ बुँदे असहमति रहेको र कैयौं ऐन देश र जनविरोधी प्रावधानसहित बनाएकोले नेमकिपाले अन्तिम क्षणसम्म त्यसको विरूद्ध सङ्घर्ष गरेको बताउनुभयो ।
उहाँले नेमकिपाले देश र जनताको हितका निम्ति गरेको सङ्घर्षले नयाँ पुस्तालाई देशका निम्ति संसदमा सङ्घर्ष गर्न प्रेरणा र शिक्षा मिल्ने बताउनुभयो ।
नेमकिपालाई भक्तपुर केन्द्रित पार्टी भन्नु दृष्टिदोषमात्र भएको स्पष्ट पार्दै अध्यक्ष रोहितले ठूला भनाउँदा पार्टीहरू वैचारिक र व्यवहारिक रूपले पतन हुँदैछन् र जनताको चेतनास्तर वृद्धिसँगै नेमकिपाको विस्तार हुँदैछ भन्नुभयो ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक