‘नेमकिपा एक्लै पनि सैद्धान्तिक सङ्घर्ष गर्छ, असैद्धान्तिक तालमेल गर्दैन

भक्तपुर, ८ कार्तिक । देशमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएपछि शासक दलहरूले ‘वाम गठबन्धन’ र ‘लोकतान्त्रिक गठबन्धन’ भन्दै देश र जनतालाई धोखा दियोे । नेपालको एक सच्चा कम्युनिष्ट पार्टी तथा देश, जनअधिकार र प्रजातन्त्रको निम्ति निःस्वार्थ रुपमा सङ्घर्ष गरेको नेपाल मजदुर किसान पार्टी कुन गठबन्धनमा जाने हो धेरैको चासो र जिज्ञासाको विषय बन्यो । नेमकिपा कम्युनिष्ट पार्टी भएकोले ‘वाम गठबन्धनमै जाने होला भन्ने कतिपयको अनुमान थियो तर त्यो अनुमान सही सावित भएन । ‘एमाले–माओवादी केन्द्र र नेशपा मिलेर बनाएको कथित ‘वाम गठबन्धन’ न वामपन्थी गठबन्धन हो न कम्युनिष्ट एकता हो’–नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंले विभिन्न सञ्चार माध्यमसितका अन्तर्वार्ताहरूमा दोहो¥याउनुभएको छ । ‘कथित ‘वाम गठबन्धन’ को एक घटक माओवादी केन्द्र अझै सरकारमा छ । संसदमा सरकारको विरोधमा रहेका र सभामुखको बायाँपट्टिको सिटमा बस्नेहरूलाई वामपन्थी भनिन्छ । यस अर्थमा सरकारमै रहेको माओवादी केन्द्र वामपन्थी होइन । प्रमुख प्रतिपक्ष भनिएको एमालेले पनि कहिल्यै संसदमा विपक्षीको भूमिका खेलेन । संसदमा कहिलेकाहीं सरकारको विरोध गरे पनि त्यो उसको राजनीतिक नियुक्तिमा भागवण्डाको मोलमोलात्न्दा बढी थिएन । सरकारले ल्याएको विधेयकमा फरक मत राख्ने, विरोध गर्ने र विपक्षमा मत हाल्ने काम गरेन । बरु राजदूत, न्यायाधीश  जीएम भिसी आदि नियुक्तिको भागबण्डामा भाग लियो । तसर्थ एमाले पनि वामपन्थी होइन । तिनीहरूको गठबन्धन कसरी ‘वाम गठबन्धन’ हुन्छ ? त्यस्तै एमालेले ४ पटक र माओवादीले ३ पटक सरकारको नेतृत्व गरे । तर, तिनीहरूले कहिल्यै मजदुर, किसानलगायत कामदार जनताको पक्षमा कुनै कार्यक्रम ल्याएनन् र ऐन–नियम बनाएनन् । उल्टो मजदुरहरूलाई हायर एण्ड फायर गर्ने बन्दोबस्तसहितको श्रम ऐन निर्माण गरी पारित गरे । शिक्षा र स्वास्थ्योपचार निःशुल्क बन्दोबस्त गर्नेमा समेत ती पार्टीहरू सहमत छैनन् । त्यसैले तिनीहरू कम्युनिष्ट त के प्रजातान्त्रिक समाजवादी र सामान्य वामपन्थीसमेत होइनन् ।’अध्यक्ष रोहित अगाडि भन्नुहुन्छ – नेपालको सन्दर्भमा कोही कम्युनिष्ट हो वा होइन भनी छुट्याउने कसी उसले पश्चिमा साम्राज्यवाद र भारतीय विस्तारवादको विरोध गर्छ या गर्दैन भन्ने पनि हो । यस कसीमा दुवै पार्टी असफल छन् । भारतले महिनौं लामो नाकाबन्दी लगाउँदा पनि ती पार्टीहरू चुपचाप बसे । नेमकिपाले कथित वामगठबन्धन वामपन्थी गठबन्धन होइन भनेपछि कतिपयले नेमकिपाले नेपाली काङ्ग्रेससित तालमेल गर्ने अनुमान गरे । नेपाली काङ्ग्रेसका नेताहरू नेमकिपाका अध्यक्ष रोहितलगायत नेताहरूसित भेटघाट गर्न आए । तर, नेमकिपाले असैद्धान्तिक तालमेलको पक्षमा नरहेको स्पष्ट पा¥यो । नेमकिपा र नेपालको समसामयिक राजनीतिबारे जानकारी राख्ने सबैलाई थाहा छ – नेपालमा क्रान्तिकारी संसदवादको व्यावहारिक प्रयोग गरिरहेको एकमात्र कम्युनिष्ट पार्टी नेमकिपा हो । नेमकिपा सुविधा लिन, सरकारमा जान र राज्यकोषको भागवण्डा खान संसदमा गएको होइन । प्रतिक्रियावादी सङ्घ संस्थाभित्र गएर पनि जनताको लागि सङ्घर्ष गर्ने र जनताको सेवा गर्ने लेनिनवादी नीतिअनुरुप नेमकिपा राष्ट्रिय पञ्चायत, बहुदलीय व्यवस्थाको संसद र गणतन्त्रको संसदमा पनि प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्दैछ ।‘नेमकिपा एक कम्युनिष्ट पार्टी हो । बहुमत कामदार जनताको हितका निम्ति राजनीति गरिरहेको छ । राजनीति निःस्वार्थ रुपले देश र जनताको सेवा गर्नु हो । राजनीति व्यापार होइन । नेमकिपाले सिद्धान्तहीन तालमेल गर्दैन । नेमकिपा एक्लै पनि सैद्धान्तिक सङ्घर्ष गर्छ । आसन्न निर्वाचनमा हामी थ्रेसहोल्डलगायत अप्रजातान्त्रिक प्रावधानहरूको विरुद्धमा सङ्घर्ष गर्दैछौं ।’ अध्यक्ष रोहितले स्पष्ट पार्नुभयो । असोज २४ का दिन अध्यक्ष रोहितको निवासमा भेटघाट गर्न आउनुभएका नेपाली काङ्ग्रेसका नेताहरू डा. रामशरण महत र अर्जुननरसिंह केसीलाई पनि अध्यक्ष रोहितले यसरी नै स्पष्ट पार्नुभएको थियो । त्यस्तै कार्तिक ३ गते पूर्वसभामुख दमननाथ ढु·ाना र कार्तिक ६ गते काङ्ग्रेस महामन्त्री विमलेन्द्र निधी अध्यक्ष रोहितलाई भेट्न उहाँकै निवासमा पुग्नुभएको थियो । नेपाली काङ्ग्रेसका नेताहरूले प्रजातन्त्र पुनःस्थापनाका आन्दोलनहरूमा नेमकिपाको उल्लेख्य योगदान र बलिदान भएको बताउँदै प्रजातन्त्र रक्षाको निम्ति पनि सँगै जान सकिने बताएका थिए । अध्यक्ष रोहितले संसदलाई बौद्धिक छलफलको थलो बनाउनका निम्ति शासक दलहरूले बौद्धिक व्यक्तित्वहरूलाई उम्मेदवार बनाउनुपर्ने, निर्वाचनलाई घोषणापत्रको लडाईँको रुपमा लिनुपर्ने, निर्वाचनमा मतदातालाई खाममा पैसा, ग्यास सिलिण्डर, कुर्ता, सारी, मोबाइल, मासुको पोका, जाँड–रक्सी, बियर आदि बाँडेर मत लिने विकृति हटाउनुपर्ने, हिन्दूस्तानको लोकसभा र विधानसभाका सदस्यहरूमध्ये ५० प्रतिशत बढी गुण्डा र अपराधीहरू परेजस्तै नेपालको प्रतिनिधिसभा र प्रदेशसभामा अपराधीहरू पुग्न दिन नहुनेमा जोड दिनुभएको थियो । सैद्धान्तिक सङ्घर्षमा नेमकिपाले कसैलाई मोलाहिजा नगरेको, बरु, नेका, एमाले, माओवादीलगायतले नेमकिपाविरुद्ध मोर्चाबन्दी गरेको बताउँदै अध्यक्ष रोहितले नेमकिपा सिद्धान्तहीन तालमेलको पक्षमा नभएको र निर्वाचनलाई घोषणापत्रमार्फत पार्टीको विचार प्रचार गर्ने अवसरको रुपमा उपयोग गर्ने स्पष्ट पार्नुभयो । न नेमकिपा निर्वाचनलाई वर्गीय र सैद्धान्तिक लडाइँ मान्छ र सैद्धान्तिक लडाइँ एक्लै पनि लड्न तयार रहेको उहाँले बताउनुभयो ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक