‘घोषणापत्रअनुसार काम नगर्ने दलमाथि प्रतिबन्ध लगाउनुपर्छ’

भक्तपुर, १८ कात्र्तिक । नेपाल मजदुर किसान पार्टीले भक्तपुरमा निर्वाचनको तयारीलाई तीब्रता दिएको छ । शनिबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलाले आगामी निर्वाचनको लागि दुवै क्षेत्रका लागि निर्वाचन परिचालन समिति गठन गरेको छ ।
भेलामा नेमकिपाका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें(रोहित) र भक्तपुर जिल्लाका ६ जनै उम्मेदवारले भेलामा सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नेमकिपाका केन्द्रीय अध्यक्ष बिजुक्छेंले घोषणपत्रअनुसार काम नगर्ने राजनीतिक दललाई प्रतिबन्ध लगाउनुपर्ने बताउनुभयो ।
‘घोषणापत्रअनुसार काम नगर्नु जनतालाई धोखा दिनु हो । वचन पूरा नगर्ने पार्टीको दर्ता खारेज गर्नु पर्दछ ।’, उहाँले भन्नुभयो ।
शासक दलहरुले जनताको राजनीतिक चेतनाको अभाव, अशिक्षा र गरिबीको फाइदा उठाइरहेको धारणा राख्दै अध्यक्ष रोहितले निर्वाचन जनतालाई राजनीतिक रुपमा सचेत बनाउने विश्वविद्यालय भएको प्रष्ट पार्नुभयो ।
साम्राज्यवादलाई खुशी बनाउन काङ्ग्रेस र एमालेले उत्तर कोरियाको विरोध गरेको बताउँदै संरा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोध नगर्ने राजनीतिक दल वामपन्थी दल हुन नसक्ने बताउनुभयो ।
उहाँले रातो झण्डाको विरोधमा रातो झण्डा उठाउने दलहरुविरुद्ध निर्वाचनलाई उपयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सचिव एवं प्रतिनिधि सभा भक्तपुर क्षेत्र नं १ का उम्मेदवार प्रेम सुवालले कुनै पनि सिद्धान्तहीन गठबन्धन देश र जनताको हित विपरीत हुने बताउनुभयो ।


तस्कर, कालोबजारी र भ्रष्टाचारीहरुका कारण देशको कर नै नउठ्ने सम्भावना भएको बताउँदै उहाँले शासक दलहरुका लोकतान्त्रिक र वाम गठबन्धन भारतीय विस्तारवादको चाहनाअनुसार बनेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा प्रदेश नं २(१) का उम्मेदवार सरोजराज गोसाईले पूँजीवादी बन्दोबस्तले गरिब र धनीबीचको आर्थिक भेद अझ फराकिलो बनाउँदै गएको बताउँदै ठेक्कापट्टा, भ्रष्टाचार र गुण्डागर्दीबाट कमाएको पैसालाई चुनावमा दुरुपयोग गर्नु राजनीतिक बेइमानी भएको बताउनुभयो ।
सभामा नेमकिपाको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार अनुराधा थापामगर, प्रदेशसभा क्षेत्र नं १(२) का उम्मेदवार सुरेन्द्रराज गोसाई, क्षेत्र नं २(२) का उम्मेदवार प्रेमजन थापामगर र क्षेत्र नं १(१) का उम्मेदवार नीरज लवजूले पनि बोल्नुभएको थियो ।
कार्यक्रम नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूको सभापतित्वमा भएको थियो । भेलाबाट नारायणबहादुर दुवालको अध्यक्षतामा क्षेत्र नं १ को र सूर्यभक्त त्वातीको अध्यक्षतामा क्षेत्र नं २ को निर्वाचन परिचालन समिति गठन भएको छ ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक