दुश्मनसंग झुकेर होइन, डटेर लड्नुपर्ने

भक्तपुर, २१ कात्र्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले दुश्मनसंग झुकेर होइन, डटेर लड्नुपर्ने बताउनुभएको छ । वर्तमान परिप्रेक्ष्यमा भारतीय विस्तारवाद र ‘ठूला’ भनाउँदा दलाल शासक पार्टीहरु नै नेपाल र नेपाली जनताको मुख्य दुश्मन भएको बताउँदै अध्यक्ष बिजुक्छेले यसविरुद्ध संघर्ष चलाउनुपर्ने बताउनुभयो ।

उहाँले उक्त विचार सन् १९१७ मा सोभियत रुसमा भएको अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकी पूरा भएको अवसरमा नेपाल मजदुर किसान पार्टीले मंगलबार भक्तपुरको टौमढीमा आयोजित जनसभामा व्यक्त गर्नुभएको हो । सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष बिजुक्छेले भारतीय एकाधिकार पूँजी र नेपालका शासक दलहरुको विरुद्ध संघर्ष चलाउन नेमकिपाले आफ्नो उम्मेदवारी दर्ता गरेको प्रष्ट पार्नुभयो । प्रतिक्रियावादी संघसंस्थाहरुभित्र घुसेर पनि जनताको पक्षमा संघर्ष गर्ने लेनिनवादी सिद्धान्तअनुसार नै पार्टीले निर्वाचनलाई उपयोग गर्न उम्मेदवारी दर्ता गराएको उहाँले बताउनुभयो । सोभियत संघ स्थापनापश्चात पूँजीवादी देशहरुले २००÷३०० वर्षमा गर्न नसकेको विकास समाजवादी रुसले ५० वर्षमा गरेको उल्लेख गर्दै उहाँले समाजवादी व्यवस्था कै कारण उत्तरकोरिया, क्युवाजस्ता देशहरु आकारमा सानो भएपनि साम्रज्यवादसामु नझुकेको बताउनुभयो । अमेरिकाले बेलैमा आफ्ना साम्राज्यवादी क्रियाकलापहरुलाई बन्द नगरे बेलायतजस्तै विश्वको एक कुनामा सीमित हुनुपर्ने नियति भोग्नुपर्ने चेतावनी दिनुभयो ।

सभामा मन्तव्य दिनुहुँदै नेमकिपा केन्द्रीय सचिव एवं पार्टीकातर्फबाट प्रतिनिधि सभा भक्तपुर क्षेत्र नं १ का उम्मेदवार प्रेम सुवालले भारतीय विस्तारवादले नेपालमा सूक्ष्म व्यवस्थापन गर्न खोजिरहेको बताउँदै नेपालले सबै कुरामा भारतमा मात्र निर्भर हुन नहुने विचार व्यक्त गर्नुभयो । उहाँले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र पार्टीको नाम फरक फरक भए पनि व्यवहारमा सबै दलाल पूँजीवादी पार्टी भएको बताउनुभयो । सोभियत रुसमा स्तालिनको निधनपछि खु्रश्चेभ र गोर्वाचोभजस्ता संंशोधनवादीहरुको उदय भएको उल्लेख गर्दै सचिव सुवालले नेकपा एमाले, माओवादी केन्द्र ती नै संशोधनवादीहरुको नयाँ संस्करण भएको स्पष्ट पार्नुभयो । पटक पटक सरकारमा गएका शासक दलहरुले कामदा वर्गको पक्षमा कुनै काम नगरेको बताउँदै उहाँले शासक दलहरुले महाकाली, कोसीलगायतका देशका ठूलठूला नदीनालाहरु भारतको पोल्टामा सुम्पने काम गरेको बताउनुभयो । समयले एमाले पार्टीलाई भाइ कांग्रेस र माओवादीलाई भारतको ट्रोजन हर्स सावित गरेको बताउँदै उहाँले मादल चिन्हमा मतदान गरी नेमकिपाका उम्मेदवारहरुलाई विजयी गर्न आग्रह गर्नुभयो ।

नेमकिपा केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिकोले निर्वाचनमा भाग लिनु क्रान्तिको निम्ति प्रतिक्रियावादी संघसंस्थाको उपयोग गर्नु हो भन्नुभयो । उहाँले सोभियत रुसमा भएको अक्टोबर क्रान्तिले समाजवादी व्यवस्था विश्वको एक मात्र सर्वोत्कृष्ट व्यवस्था भएको पुष्टि गरेको बताउँदै नेपालका शासक दलका नेताहरु खु्रश्चेभ, गोर्वाचोभ र बर्नस्टिनका शिष्यहरु रहेको बताउनुभयो ।
त्यस्तै पार्टीकातर्फबाट प्रतिनिधि सभा भक्तपुर क्षेत्र नं २ का उम्मेदवार अनुराधा थापामगरले नाकाबन्दीको समयमा नेमकिपा एक्लैले संसदमा भारतीय विस्तारवाद मूर्दावादको नारा घन्काएको स्मरण गर्दै हँसिया हथौडा अंकित झण्डा बोक्दैमा जो पनि कम्युनिष्ट नहुने विचार व्यक्त गर्नुभयो ।

त्यस्तै अतिथि सरोजराज गोसाईले विश्व समाजवादी क्रान्तिमा अक्टोबर क्रान्ति एक कोसेढुंगा सावित भएको बताउनुभयो । उहाँले नेमकिपाको चुनावी अभियान पूँजीवाद र नक्कली कम्युनिष्टहरुको विरुद्ध लक्षित रहेको बताउनुभयो ।

कार्यक्रममा नेमकिपा केन्द्रीय सदस्य एवं काठमाण्डौ क्षेत्र नं १०(क) का उम्मेदवार नारायण महर्जन, काभे्र क्षेत्र नं २ का प्रतिनिधि सभा उम्मेदवार कृष्णकुमार वैद्य, भक्तपुर प्रदेश सभा क्षेत्र नं १(ख) का उम्मेदवार सुरेन्द्रराज गोसाई, क्षेत्र नं १(क) का उम्मेदवार नीरज लवजू, क्षेत्र नं २(ख) का उम्मेदवार प्रेमजन थापा र सृजना सैंजूले पनि अक्टोबर क्रान्तिबारे आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा गायक विनोद विकले सांगीतिक प्रस्तुति दिनुभएको थियो ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक