‘कर्मचारी बिग्रिए देशै बिग्रिन्छ’ : अध्यक्ष रोहित

भक्तपुर, १९ पुस । विश्व सर्वहारा वर्गका नेता स्तालिनको १३९ औं र माओ त्सेतुङको १२४ औं जन्मजयन्तीको अवसरमा बुधबार प्रवचन कार्यक्रम भयो ।

नेपाल कर्मचारी समाज केन्द्रीय समितिको आयोजनामा भएको उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले समाजवादी देशमा सरकारी कर्मचारी पार्टी कार्यकर्ताजस्तै हुने र सरकारले कर्मचारीहरूलाई कडा अनुशासनमा राख्ने बताउनुभयो ।

बसको ड्राइभरले कमजोरी गर्दा दुर्घटना भएजस्तै देशका कर्मचारीहरू बिग्रिए देशलाई नोक्सानी हुने उहाँले बताउनुभयो ।

‘कर्मचारीहरू सैद्धान्तिक र राजनीतिकरूपले परिपक्व हुनु आवश्यक छ । नेपालको गुणस्तर विभाग र यसका कर्मचारीहरू कमजोर हुँदा सुशासन कायम भएन र भारतीय विस्तारवादको हस्तक्षेप बढ्दै गयो’, उहाँले भन्नुभयो ।

सरकारमा गएका पार्टीदेखि नेता र कार्यकर्ताहरू भ्रष्टाचारी हुँदा देश र जनतालाई दुःख भएको उल्लेख गर्दै अध्यक्ष रोहितले कर्मचारीले देश र जनतालाई माया गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

नेमकिपाका केन्द्रीय सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले रुसमा पूँजीवादको विकाससँगै स्कूल र कलेजमा माक्र्सवादबारे बहस मजदुर आन्दोलनको विकास भएको चर्चा गर्दै त्यही क्रममा लेनिन र स्तालिनले क्रान्तिकारी बनेर समाजवादप्रति समर्पित भएको बताउनुभयो ।

लेनिन र स्तालिनले मजदुर वर्गलाई राजनीतिकरुपले सचेत पार्न ‘मजदुरको बाटो’, ‘सत्य’, ‘सैनिक सत्य’, ‘सङ्घर्ष’, ‘सर्वहारा सङ्घर्ष’, ‘फिलिङ्गो’, ‘नक्षत्र’, ‘नयाँ जीवन’, ‘नयाँ समाज’, ‘हाम्रो जीवन’, ‘समय’ आदि पत्रिका प्रकाशन गरेको उहाँले उल्लेख गर्नुभयो ।
रुसको अक्टोवर समाजवादी क्रान्तिले पूँजीवादको २–३ सय वर्षको विकासलाई ३०–४० वर्षमा गरेको चर्चा गर्दै सचिव सुवालले सन् १९९१ मा रुसमा पूँजीवाद पुनःस्थापना भएपछि महँगी, भ्रष्टाचार, मुद्रास्फिति, बेरोजगारी बढेको, केटाकेटी, महिला र ज्येष्ठ नागरिकलाई दुःख भएको र सोभियत सङ्घ १५ देशमा टुक्रा भएको बताउनुभयो ।

चीनमा सन् १९४९ को क्रान्तिबाट स्थापना भएको समाजवाद माक्र्सवाद–लेनिनवाद, माओ त्सेतुङ विचारधारा, देङ सियाओपिङ सिद्धान्त, हु चिन्ताओको विकासमा वैज्ञानिक सिद्धान्त र वर्तमान महासचिव सी चिनफिङको विचारअनुसार अघि बढिरहेको छ । अबको १४ वर्षमा चीन विश्वको पहिलो अर्थतन्त्र बन्नेछ, उहाँले भन्नुभयो ।

सचिव सुवालले उहाँहरूको जन्मदिवस र जीवनीबाट सिक्नु समाजवादको लागि सङ्घर्ष गर्न प्रेरणा लिनु हुने बताउनुभयो । नेपाल मजदुर किसान पार्टी भजिसका उपाध्यक्ष एवं प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले फासिवाद र साम्राज्यवादलाई परास्त गर्न, सोभियत सङ्घलाई विश्वका महाशक्ति बनाउन र विश्वमा संरा अमेरिकाको एकध्रुवीय शक्तिलाई परास्त गर्न स्तालिनका ठूलो योगदान भएको उहाँले बताउनुभयो ।

क्रान्तिकारी भावना र क्रान्तिकारी संस्कारलाई निरन्तरता दिन नसक्दा सोभियत सङ्घ पटन भएको चर्चा गर्दै उहाँले नेतृत्वकै क्षमताको कारण चीन विश्वको महाशक्ति राष्ट्र बन्न सफल भएको बताउनुभयो ।

समाजवादको विजय अवश्यम्भावी छ भन्ने दृढ विश्वास साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले समाजवादी आचरणलाई जीवन पद्धतिको रूपमा विकास गर्न कर्मचारी समाजका सदस्यहरूलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेमकिपाबाट निर्वाचति सभासदहरूलाई बधाइ ज्ञापन गरिएको थियो । आयोजक समितिका अध्यक्ष गौतमप्रसाद लासिवाको सभापतित्वमा भएको उक्त कार्यक्रममा समाजका दिलकृष्ण माक, काजीबहादुर पञ्च र शिवराम धुख्वाले स्तालिन र माओको जीवनबारे बोल्नुभएको थियो ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक