नेमकिपाको २८ औं परिषद् शुरु

भक्तपुर, २५ पुस । नेपाल मजदुर किसान पार्टीको २८ औं केन्द्रीय परिषद् मङ्गलबार भक्तपुरमा शुरु भयो ।
पार्टी अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)को अध्यक्षतामा भएको परिषद्मा पार्टी केन्द्रीय समिति, विभिन्न जिल्लाका समिति, जनवर्गीय तथा पेशागत संगठनका प्रतिवेदन प्रस्तुत गरियो ।
परिषद्मा बोल्दै पार्टी अध्यक्ष रोहितले सजिलो बाटो भन्दै गलत बाटो छान्नु बुद्धिमानी नहुने बताउनुभयो । उहाँले सजिलो हुने भन्दै अरुको भरमा काम गर्दा धोखा हुने भएकाले आफ्नै सामथ्र्यमा पार्टी निर्माण गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
पूँजीवादी बन्दोबस्तबाट सजिलै समाजवादी बन्दोबस्त स्थापना हुने भए माक्र्सवाद–लेनिनवाद जस्तो राजनीतिक दर्शनको उदय र खाँचो नहुने विचार राख्दै उहाँले नेपालको राजनीतिमा भारतीय हिन्दु अतिवादीहरुको प्रभाव बढिरहेको विचार राख्नुभयो ।
अध्यक्ष बिजुक्छेंले नयाँ पुस्तालाई पार्टीमा आबद्ध गर्नेे विषयमा जोड दिएर काम गर्न कार्यकर्ताहरुलाई भन्नुभयो ।
पूँजीवादी निर्वाचनमा समाजवादी विचार सङ्ख्यात्मक हिसाबमा पछि पर्नु स्वभाविक भएको बताउँदै उहाँले पूँजीवादी चुनावमा धेरै मत नआएर क्रान्तिकारीहरु हतास हुनुको कुनै अर्थ नभएको बताउनुभयो
अध्यक्ष बिजुक्छेंले सबै जनवर्गीय तथा पेशागत संगठनहरुले वर्षमा कम्तीमा एउटा विचारप्रधान बुलेटिन प्रकाशित गरी आफ्ना कार्यकर्ताहरुलाई सचेत बनाउनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले पार्टी केन्द्रीय समितिको प्रतिवेदन र चुनावको समीक्षा प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
बैठकमा विभिन्न जिल्ला समितिहरुबाट प्रस्तुत प्रतिवेदनहरुमा शासक दलहरुले चुनाव जित्न गरेका अनेकन अराजनीतिक र आचारसंहिता विपरीतका गतिविधिको चर्चा गरिएको थियो ।
नेमकिपाको विषयमा अनेक भ्रम र झुठ्ठा प्रचार गरेर जनतालाई समाजवादी विचारबाट टाढा राख्ने काममा शासक दलहरु, विशेषतः आफूलाई वामपन्थी भन्न रुचाउने दलहरुले नै सक्रिय रहेको प्रतिवेदनहरुमा उल्लेख छ ।
प्रतिवेदनहरुमा जनतालाई मासु र माछाको पोका, साइकल, लुगाफोटो, पैसा बाँडेर र भोज भत्तेर आयोजना गरेर जनताको मत प्रभावित गर्ने काममा सबै सरकारमा गएका दलहरु लागेको बताइएको छ ।
परिषद् बैठक बुधबार पनि चालु रहने पार्टी केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।