भूमिसुधार कार्यालयमा किसान सङ्घको ध्यानाकर्षण

भक्तपुर, २ पुस । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुरले भूमिसुधार अधिकारी शान्तिराम प्रसाईलाई भेटी जोताहा किसानका विभिन्न समस्या समाधानको लागि लिखित ध्यानाकर्षण गराएको छ । सङ्घका जिल्ला अध्यक्ष एवं जिविस भक्तपुरका पूर्वसभापति गोविन्द दुवालले ८ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै भूमिसुधार कार्यालयले मोही किसानको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो । बाजे बराजुको पालामा अंशबण्डा गरे पनि दा.खा. नामसारी नभएको कारण साविक लगत खडा भएको कारण हदबन्दी लगाउन नहुने, पहिले छोडपत्र गरेको जग्गा पनि साविक लगतको आधारमा हाल छोरा÷नातिको पालामा हदबन्दी लगाई मोही नामसारी, बाँडफाँड र छोडपत्र गर्न बाधा दिन नहुने उहाँले ध्यानाकर्षण गराउनुभयो । नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सचिव विकल प्रजापतिले नेपाल क्रान्तिकारी किसान सङ्घले विगतमा गरेको किसान आन्दोलनको कारण धेरै किसानहरूको मोहीयानी हक बचेको प्रसङ्ग उल्लेख गर्दै भूमिसुधार कार्यालयमा जग्गाधनी र मोहीबीच जग्गा बाँडफाँडमा ढिलाइ भएको, निजी गुठीको जग्गा बाँडफाँड गर्दा मोहीको भागमा परेको जग्गामा पुनः गुठी जनाउँदा किसानलाई समस्या परेको विषयमा ध्यानाकर्षण गराउनुभयो । ध्यानाकर्षणपत्र बुझ्दै भूमिसुधार अधिकारी शान्तिराम प्रसाईले सङ्घको माग जायज भएकोले आफूले सक्दो पहल गर्ने बताउनुभयो । प्रमण्डलमा पञ्चलक्ष्मी दुवाल, बुद्धकेशरी माक, रामभक्त सुकमनी, भीमप्रसाद बास्तोला, पृथ्वीकुमार प्रजापति, अष्टदेवी वाडेलगायतको उपस्थिति थियो ।ध्यानाकर्षण पत्रको पूर्ण विवरणः नेपाल क्रान्तिकारी किसान सङ्घ जोताहा किसानको हितमा तपसिलका विषयमा ध्यानाकर्षण गराउँदछ – १. मोहियानी हक सबै अंशियारमा बण्डा लाग्ने बनाउन, बेचबिखन, दानदातव्य गर्न, धितो धरौट राख्न पाउने व्यवस्था गर्न, २. मोही र जग्गाधनीको असमान हदबन्दी व्यवस्था सुधार गर्न, हदबन्दीको बहानामा जग्गाधनी र मोहीबीच जग्गा बाँडफाँडमा बाधा नदिन, ३. पहिले नै अंशबण्डा गरेको तर मोही दा.खा. नामसारीमात्र नभएको तथा पहिले छोडपत्र गरेकोमा साविक मोही लगतको आधारमा हाल छोरा÷नातिको पालामा हदबन्दी लगाई मोही नामसारी, बाँडफाँड र छोडपत्र गर्न बाधा दिन नहुने, ४. मोही हदबन्दीका कारण जग्गा बाँडफाँडमा जग्गाधनीलाई बाधा दिन नहुने, ५. जग्गाधनी र मोहीबीच जग्गा बाँडफाँडमा आवश्यकता अनुसार स्थलगत निरीक्षण गरी छिटो छरिटो कारबाही गर्न, ६. स्थानीय मुर्दा गुठीको जग्गा बाँडफाँड गर्दा मोहीको भागमा परेको जग्गामा पुनः गुठी जनाउन नहुने, ७. मोही जग्गामा घर बनाई बसेका भूकम्प पीडितलाई पुनः सोही जग्गामा घर बनाउन र सरकारको तर्फबाट अनुदान र ऋणको व्यवस्था गर्न, ८. भूमिसुधार कार्यालयमा भइरहेको भ्रष्टाचार र अनियमितताबारे जनगुनासो भएकोले आवश्यक अनुगमन गरी त्यसको नियन्त्रण गर्न ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक