‘सरकारले सुनेन भने सडक र सदनमा सङ्घर्ष गर्छाैं’

भक्तपुर, ३ पुस । प्रतिनिधिसभाको लागि भक्तपुर क्षेत्र नं. १ बाट निर्वाचित नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवाललाई सोमबार चाँगुनारायण नपा वडा नं. ४ का जनताले अभिनन्दन गरे । चाँगु साङ्गदहमा भएको कार्यक्रममा निर्वाचित सांसद प्रेम सुवालले नेमकिपाले संसदमा जनताको पक्षमा आवाज उठाउने र उठाएको आवाज सरकारले सुनेन भन्ने सडक र सदनमा सङ्घर्ष गर्ने बताउनुभयो । अहिलेको चुनावी नतिजा प्रजातन्त्रको हत्या गर्नेहरू र देशको सार्वभौमिकता धरापमा पार्नेहरूको पक्षमा भएको हुँदा नेमकिपाले त्यसविरूद्ध सङ्घर्ष गर्ने उहाँले बताउनुभयो । कथित वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले दर्शन र विचारको आधारमा चुनाव लड्ने काम नगरी भोजभतेर खुवाएर पैसाको बलमा चुनाव जित्ने काम गरेकोले अहिले देशमा राजनैतिक संवेदनशीलता कमजोर भइरहेको छ, यसतर्फ जनता सचेत हुनुपर्छ, सांसद सुवालले बताउनुभयो । ‘वाम गठबन्धन’ र ‘लोकतान्त्रिक गठबन्धन’ भारतको इसारामा भएको हो, ती पार्टीहरुले संविधान संशोधनमार्फत देशलाई भुटानीकरण गर्दै सिक्किम गर्ने खतरा भएकोले देशको सार्वभौमिकता जोगाउन जनताको साथ लिई नेमकिपाले सङ्घर्ष गर्नेछ, उहाँले भन्नुभयो । नेमकिपा भक्तपर क्षेत्र नं. १ प्रदेशसभा १ का उम्मेदवार नीरज लवजूले राजनीतिमा अनुशासन भएमात्र देशमा अनुशासन कायम हुने चर्चा गर्नुभयो । पूँजीवाद बलियो भएपछि जनताको अधिकार खोसिने सम्भावना प्रबल भएको चर्चा गर्दै उहाँले वैज्ञानिक समाजवाद स्थापनाको लागि नेमकिपाले सङ्घर्ष गर्दै जाने बताउनुभयो । उहाँले भन्नुभयो, ‘भारतले सीमा अतिक्रमण गर्दा चुँसम्म बोल्न नसकेका पार्टीहरू अहिले जनताको सामु ठूलो राष्ट्रवादी बनेर आएका छन् । देशै नरहे हाम्रो इज्जत रहँदैन, हाम्रो गौरव रहँदैन तसर्थ सार्वभौमिकता धरापमा पारेर भारतको सामु लम्पसार पर्ने राजनीतिक दलहरू कदापि राष्ट्रवादी हुनैसक्दैन ।’ कार्यक्रममा नेमकिपा भजिसका अध्यक्ष न्हुछेभक्त फोजूले नेमकिपाको तर्फबाट विजयी उम्मेदवारहरूलाई बधाई तथा मतदाताहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा नेमकिपाका समानुपातिक उम्मेदवार सुदिप खनालले पनि बोल्नुभएको थियो ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक