एमाले–माओवादी केन्द्र एकता–संशोधनवादी एकता

विदा भएको वर्ष २०७४ मा ‘घोषणा हुन मात्र बाँकी’ एमाले र माओवादी केन्द्रबीचको तथाकथित वाम एकता २०७५ सालको पहिलो सातामै ‘सङ्कट’ मा फसेको छ । पदको बाँडफाँटमा कुरा नमिल्दा ‘फाइनल टच’ दिन मात्र बाँकी भएका सबै विषय समेत धरापमा पर्ने देखिएका छन् । साथै एकता घोषणा मिति बैशाख ९ पनि धरापमा परेको छ ।

निरज लवजू

बदलिंदो परिस्थितिले एमाले र माओवादी केन्द्रबीचको मिलन कुनै ‘वाम एकता’ नभई चुनावी गठजोड मात्र भएको भन्ने विश्लेषण सही प्रमाणित हुँदैछ । दुई दलबीचको एकतालाई ‘दुनियाँमा कहीं नभएजस्तो’ भन्दै अतिरञ्जना फलाक्ने प्रचण्डको अभिव्यक्ति यसअघि उनले बोलेका धेरै बोली जस्तै हावादारी पुष्टि हुनेछ ।
वामपन्थीको कुनै चरित्र नै नभएका दुई दलहरुबीचको एकता(कदाचित भए)ले खासमा नेपालको कम्युनिष्ट आन्दोलनमा इतिहासमा कहिल्यै नभए सरीको क्षति पु¥याउने निश्चित छ । तात्कालीन नेपाल कम्युनिष्ट पार्टीको दोस्रो महाधिवेशनबाट नेतृत्वमा पुगेको माझी समूहले पार्टीलाई पञ्चायतसमक्ष आत्मसमर्पण गर्न खोज्नु, नक्सलवादी विद्रोहको अन्धनक्कल गरी बीसको दशकमा झापामा भएको व्यक्तिहत्याको खोटो विचार, ‘जनयुद्ध’ को नाममा भएको माओवादी अराजकतावादी विद्रोहपछि नेपालको कम्युनिष्ट आन्दोलनमा एमाले र माओवादी केन्द्रबीचको एकताले अर्को ठूलो हानी पु¥याउनेछ । नेपाली कम्युनिष्ट आन्दोलनमा एक्लै एमालेको संशोधनवादी लाइन नै कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन पुग्दो थियो, अब ऊसँग माओवादी केन्द्र पनि जोडिएपछि त्यसले पार्ने क्षतिको अनुपात स्वभावतः विशाल हुनेछ ।
संसारको कम्युनिष्ट आन्दोलनमा संशोधनवादी विचारको विकाससँगै समाजवादी आन्दोलनमा ठूलठूला क्षति भएका छन् । कम्युनिष्ट आन्दोलनभित्रैबाट विकास हुने गरेको संशोधनवादी विचारले संसारका धेरै देशहरुमा वैज्ञानिक समाजवादी बन्दोबस्त स्थापनामा तगारोको काम गरेर सारमा पूँजीवादकै सेवा गरेका मनग्य दृष्टान्त छन् । संशोधनवादलाई त्यसकारण कम्युनिष्ट आन्दोलनभित्रको पूँजीवादी चिन्तन भन्ने गरिन्छ । संशोधनवादी लाइनले माक्र्सवादको कुरा गर्न छोड्दैन तर माक्र्सवादकै बद्ख्वाई गर्नुमै उसको अस्तित्व निहित हुने गर्दछ । संशोधनवाद रातो झण्डा खसाल्न उचालिएको रातो झण्डा हो । अर्थात् यो बद्नियतपूर्ण रातो झण्डा हो । त्यसको रङ्ग रातो भएर पनि उसको भित्री रुप भने कुनै पनि पूँजीवादी राजनीतिक दलभन्दा भिन्न हुने गर्दैन ।
संशोधनवादको रुप सधैं ‘राष्ट्रवादी’ हुने गर्दछ । प्रथम विश्वयुद्धका क्रममा जर्मनीका नेता कार्ल काउत्स्कीले युद्धमा आफ्नै देशका शोषक वर्गको सेवा गरेर जर्मनीका मजदुरहरुलाई धोखा दिएका थिए । तात्कालीन जर्मनीमा विद्यमान क्रान्तिको परिस्थितिलाई उपयोग गर्नुको साटो काउत्स्कीले मजदुर आन्दोलनलाई राष्ट्रवादको नाममा जर्मनीका शोषक वर्गकै हितमा मोडे । परिणामतः जर्मनीमा समाजवादी आन्दोलन कमजोर मात्र भएन बरु रोजा लक्सम्बर्ग र लिब्नेख्तजस्ता कम्युनिष्ट नेताहरु र कार्यकर्ताहरु निर्मम दमनचक्रमा परे । संशोधनवादीले लगाउने गरेको राष्ट्रवादको नारा मजदुर र किसान वर्गको हितमा नभई शोषक र पूँजीपति वर्गकै सेवा गर्ने नारा हो । काउत्स्कीको राष्ट्रवादले जर्मनीका मजदुरहरुको सेवा गरेन, बरु त्यहाँका पूँजीपति वर्गको हित ग¥यो ।
संशोधनवादीले क्रान्तिलाई रोक्ने मात्र होइन, क्रान्तिद्वारा स्थापना भएको समाजवादी बन्दोबस्त ध्वस्त बनाउने प्रतिक्रान्तिकारी भूमिका समेत खेल्ने गर्दछ । तात्कालीन सोभियत संघको ख्रुश्चेभ संशोधनवादी लाइन यसको उत्तम दृष्तान्त हो । अक्टोबर समाजवादी क्रान्तिले स्थापना गरेको सोभियत सत्ता समेतलाई ध्वस्त बनाउन संशोधनवादीहरु सफल भएका थिए । स्थापना भएको ७० वर्षपश्चात सोभियत समाजवादी सत्ता ढल्यो ।
इतिहासका यस्ता धेरै घटनाहरुले संशोधनवाद हरियो घाँसभित्र लुकेर बसेको हरियो सर्प भएको पुष्टि गर्दछ । एक्लो संशोधनवादी पार्टी नै समाजवादी आन्दोलनको लागि घातक हो भने नेपालमा आज दुई वटा संशोधनवादी सर्पहरुको मिलनले कम्युनिष्ट आन्दोलनमा ज्याद्रै क्षति पुग्नेछ । एमाले र माओवादी केन्द्रको एकता खासमा नयाँ जनवादी सत्ता स्थापनाको लागि कथित जनयुद्ध गरेको पार्टी माओवादी केन्द्रको मदन भण्डारीको संशोधनवादी लाइन जनताको बहुदलीय जनवादसमक्षको आत्मसमर्पण हो । यो एकता मदन भण्डारीको संशोधनवादी लाइनको जीत हो र समग्र नेपालका मजदुर किसान र कम्युनिष्ट आन्दोलनको पराजय हो ।
माओवादी केन्द्र र एमालेबीचको एकतालाई दुवै दलका नेताहरुले जेसुकै उपमा र अलंकार लगाए पनि खासमा यसको जग कति कमजोर छ भन्ने कुरा यो साता पदको भागवण्डा नमिल्दा एकता प्रक्रियामा मडारेको संकटबाट पुष्टि गर्दछ ।
कम्युनिष्ट पार्टीहरुबीचको एकताको आधार भनेको सिद्धान्त र कार्यक्रम हो । सिद्धान्त र कार्यक्रम नमिल्दा पनि कुनै कथित कम्युनिष्ट पार्टीहरुबीच एकता हुन्छ भने त्यो स्वार्थ हो । कम्युनिष्ट पार्टीहरुको एकताको निम्ति सबैभन्दा बढी बहस र छलफल सिद्धान्त र कार्यक्रममा नै हुने गर्दछ । चिनियाँ कम्युनिष्ट पार्टी र सोभियत संघको कम्युनिष्ट पार्टीबीच भएको सैद्धान्तिक बहस सिद्धान्त र कार्यक्रमबीचकै मतभेदको परिणाम थियो । तर एमाले र माओवादी केन्द्रबीचको एकताको जरो सैद्धान्तिक मतभेद नभई पदको खिचातानी हुनुबाटै उनीहरुको नक्कली वाम चरित्र सतहमा आएको छ ।
दुई पार्टीबीच एकताको लागि हुनुपर्ने सैद्धान्तिक एकता वा बहसबारे केन्द्रीय स्तरका नेताहरु समेत अनविज्ञ हुनु आफैमा यो सैद्धान्तिक एकता नभएको प्रमाण हो । पार्टी एकताका सैद्धान्तिक आधारबारे नेता–कार्यकर्ताबीच छलफल र बहस नभएको भन्दै दुवै दलका एक खेमा नेताहरु सार्वजनिक रुपमै पार्टी एकताको विरोधमा उत्रेका छन् । कदाचित यो सैद्धान्तिक एकता भए दुवै पार्टीले खोई कुन दस्तावेज छलफलको लागि पार्टी एकाइमा पठाएर बहस गराइयो ?
विशेषतः माओवादी नेताहरु यो एकतालाई माओवादी केन्द्रको एमालेकरणको संज्ञा दिइरहेका छन् । उनीहरु यसलाई प्रचण्डको पूँजीवादीकरणको रुपमा लिइरहेका छन् भने यो कसरी कुनै पनि समाजको अग्रदस्ता प्रगतिशील क्रान्तिकारी पार्टीहरुबीचको एकता हुन सक्छ ?
एमाले र माओवादी केन्द्रबीचको एकताको लक्ष्य भनेको नेपालमा शासक बन्न सक्ने एउटा अर्को पार्टीको निर्माण गर्नु हो । अझ प्रष्ट शब्दमा भन्नुपर्दा काँग्रेसको बुढो घोडालाई तबेलामा थन्काएर नेपालका दलाल पूँजीपति वर्गले एमाले–माओवादी केन्द्र नामको घोडालाई सवारीको लागि तयारी गर्नु हो ।
सारमा संशोधनवाद कम्युनिष्ट आन्दोलनको क्यान्सर हो भने अब दुई वटा क्यान्सरको एकताले महाक्यान्सरको रुप लिंदैछ । यो क्यान्सरको प्रतिरोधको जिम्मेवारी भने फेरि पनि कम्युनिष्ट आन्दोलनभित्रका क्रान्तिकारी शक्तिको हो । संशोधनवादविरुद्धको सबभन्दा शक्तिशाली मोर्चा भनेको सैद्धान्तिक संघर्ष नै हो ।
मे ५ अब धेरै दिन टाढा छैन । विश्व सर्वहारा वर्गका गुरु, माक्र्सवादका प्रबद्र्धक कार्ल माक्र्सको यो वर्ष द्विशतवार्षिकी हो । यो अवसरमा नेपालका कम्युनिष्टहरुको जिम्मेवारी माक्र्सवादलाई संशोधनवादबाट जोगाउनु नै हुनेछ । नेपालको सन्दर्भमा संशोधनवादी लाइन कमजोर हुनु नै समाजवादी आन्दोलनको बाटो फराकिलो बन्नु हो । संशोधनवादी विचार माक्र्सवादी लेनिनवादी र कम्युनिष्टको जामा लगाएर शक्तिशाली बन्नुञ्जेल नेपालको कम्युनिष्ट आन्दोलनबारे नेपाली जनतामा रहेको भ्रम निवारण हुनेछैन । संशोधनवादीको मुखमा राम राम बगलीमा छुराको यर्थाथ जनताबीच उजागर गर्नुको अर्को विकल्प छैन ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक