लेनिन दिवस मनाइयो, कम्युनिष्टहरु पूँजीवादी सरकारमा जानु संशोधनवाद

भक्तपुर, ८ बैशाख ।सर्वहारा वर्गका गुरु कामरेड लेनिनको १४८ औं दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टीले शनिबार विचार गोष्ठी आयोजना ग¥यो । कार्यक्रममा पार्टीका सचिव प्रेम सुवालले प्रतिकृयावादी संघ–संस्थाभित्र गएर जनताको सेवा गर्ने लेनिनवादी नीति अनुसार नेमकिपाले पूँजीवादी चुनावलाई उपयोग गरी क्रान्तिकारी संसदवादको भूमिका निर्वाह गरिरहेको बताउनुभयो । कम्युनिष्टहरु पूँजीवादी सरकारमा नजाने प्रष्ट पार्दै सचिव सुवालले नेमकिपाले जनताको आवाज संसदमा राख्न र सरकारका जनविरोधी गतिविधिहरु उदांग्याउने स्पष्ट पार्नुभयो ।
उहाँले नेपालमा कम्युनिष्ट नामका संशोधनवादी र अवसरवादीहरु पूँजीवादी सरकारमा बहुमत प्राप्त गरी जनतामाथि विश्वासघात गरिरहेको उल्लेख गर्दै नेमकिपा नभएको भए संशोधनवाद र अवसरवादको विरोध गर्ने साँचो कम्युनिष्ट पार्टी नै नहुने बताउनुभयो ।
सचिव सुवालले सर्वहारा वर्गका महान् गुरु एङ्गेल्सले व्यापक मताधिकार मजदुर वर्गको परिपक्वताको नापो बताएको उल्लेख गर्दै क्रान्तिको परिस्थिति तयार भए पनि क्रान्तिको पक्षमा नलाग्नेहरु संशोधनवादी हुने प्रष्ट पार्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले सर्वहारा वर्गले क्रान्तिमार्फत मुक्तिको अनुभव गर्ने अवसर पाउने उल्लेख गर्दै माक्र्सवादी सिद्धान्तअनुसार वैज्ञानिक समाजवादको जग निर्माण गर्न सफल क्रान्तिकारी व्यक्तित्व लेनिन भएको बताउनुभयो ।
उहाँले रुसी अक्टोबर समाजवादी क्रान्तिपश्चात सोभियत जनताले शिक्षा, स्वास्थ्य उपचार र विज्ञान तथा प्रविधिको क्षेत्रमा उपलब्धी हासिल गरेको चर्चा गर्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य एवं नेपाल क्रान्तिकारी महिला संघका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले लेनिनको क्रान्तिकारी नीतिलाई व्यवहारमा उतार्न नादेज्दा क्रुप्स्कायाले खेल्नुभएको भूमिकाबारे चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, सोभियत समाजवाद स्थापनापछि निःशुल्क, अनिवार्य र उत्पादन श्रमसंग जोडिएको शिक्षा प्रदान गर्ने व्यवहारिक खाका कोर्ने व्यक्तित्व क्रुप्स्काया नै हुन् ।
अर्का केन्द्रीय सदस्य रविन्द्र ज्याख्वले पूँजीवादको उच्चतम विकासको क्रममा साम्राज्यवादको विकास भएको चर्चा गर्दै लेनिनले साम्राज्यवादको विरोधमा सर्वहारा वर्गले वर्गसंघर्षमार्फत समाजवादी क्रान्ति सफलतामा टुंग्याएको जानकारी दिनुभयो ।
पार्टीका बैकल्पिक केन्द्रीय सदस्य एवं नेपाल क्रान्तिकारी साँस्कृतिक संघका केन्द्रीय अध्यक्ष सुरेन्द्रराज गोसाईले लेनिन विश्व साम्राज्यवादविरोधी आन्दोलनका शीर्ष योद्धा भएको बताउनुभयो । उहाँले भारतमा फासीवादी नेतृत्वका चेलाहरुले लेनिनका शालिकहरु ढालेर समाजवादी आस्थामाथि प्रहार गरेको उल्लेख गर्दै जनवादी गणतन्त्र चीन सरकारले जर्मनीलाई कार्लमाक्र्सको शालिक उपहार दिएर समाजवादी आन्दोलन जारी रहेको सन्देश दिएको बताउनुभयो ।
पार्टीका अर्का बैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले तत्कालीन रुसी कम्युनिष्ट पार्टीभित्र रहेका संशोधनवादीहरुका विरुद्ध लेनिनले निरन्तर सैद्धान्तिक संघर्ष गरेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नीरज लवजूले लेनिनले माक्र्सवादको सरल र जनताले बुभ्mने भाषामा व्याख्या गर्नुभएको बताउनुभयो ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक