सिरियामा भएको साम्राज्यवादी हमलाको विरोधमा भक्तपुरमा जुलुस

भक्तपुर, ३ बैशाख । सार्वभौम देश सिरियामाथि अमेरिका, बेलायत र फ्रान्सलगायतका साम्राज्यवादी देशहरुले गरेको हमलाविरुद्ध नेपाल मजदुर किसान पार्टीका जनवर्गीय संगठनहरुले सोमबार भक्तपुरमा विरोध जुलुस तथा सभाको आयोजना गरेका छन् ।

नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघको संयुक्त आयोजनामा पार्टीको केन्द्रीय कार्यालय गोल्मढीबाट सुरु भएको जुलुस भक्तपुर नगर परिक्रमा गरी सूर्यविनायक चोक पुगेर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्नुहुँदै नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेश नं ३ का सभासद सुरेन्द्रराज गोसाईले अमेरिकी साम्राज्यवाद रहेसम्म संसारमा जहाँपनि विध्वंस भइरहने बताउनुभयो । विश्वमा विभिन्न लडाकु र विद्रोही संगठनको नाममा अमेरिकाले तिनीहरुलाई हातहतियार दिई आतङ्क मच्चाउने प्रमुख नाइके अमेरिकी साम्राज्यवाद नै रहेको सांसद गोसाईले भन्नुभयो ।

हातहतियार र शक्तिको भरमा धम्क्याउँदै आएको अमेरिकी साम्राज्यवाद विश्वका हरेक ठाउँहरुबाट पराजित हुँदै आएको दृष्टान्त दिनुहुँदै उहाँले अमेरिकी साम्राज्यवादको पतनको घडी नजिकिँदै गएको बताउनुभयो ।

सभालाई सम्बोधन गर्नुहुँदै नेपाल क्रान्तिकारी विद्यार्थी संघका संयोजक नीरज लवजूले सिरियालगायत मध्यपूर्वका देशहरुमा रहेका तेल खानी कब्जा गर्ने उद्देश्यअनुरुप अमेरिकाले सिरियाली सरकारविरुद्ध आक्रमण सुरु गरेको बताउनुभयो । उहाँले संसारमा पहिलोपटक भियतनाम, कोरियालगायतका देशमा रसायनिक हतियारहरुको प्रयोग अमेरिका आफैले गरेको तर्क सार्दै साम्राज्यवादविरुद्ध संघर्ष गदैै आएका सिरियाली जनताहरुप्रति ऐक्यबद्धता व्यक्त गर्नुभयो ।

उहाँले एउटा सार्वभौम देशमाथि हमला हुँदासमेत नेपालको वामपन्थी कहलिएको सरकार चुपचाप बस्नुले यो गठबन्धन पनि अमेरिकी साम्राज्यवादको कठपुतली भएको पुष्टि भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल क्रान्तिकारी युवा संघ भक्तपुर जिल्ला समितिका अध्यक्ष मीन बहादुर बाटाले हरेक देशभक्त र न्यायप्रेमी जनताहरुले संसारभर अमेरिकी साम्राज्यवादले मच्चाइरहेको आतङ्कको विरोध गर्नुपर्ने बताउनुभयो ।
जुलुसमा सहभागीहरु युवा विद्यार्थीहरुले ‘अमेरिकी साम्राज्यवाद मूर्दावाद’, ‘सिरियामाथिको साम्राज्यवादी हमला बन्द गर’लगायतका नारा लगाएका थिए ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक