माक्र्सको २०० औं जन्म दिवसमा का.रोहितको अन्तर्वार्ता

माक्र्सको २०० औं जन्म दिन मनाइरहेका छौं । मानव इतिहासमा माक्र्सको योगदानबारे तपाईको बुझाई के हो ?

हो, संसारका सचेत कामदार जनता, संवेदनशील बुद्धिजीवी समुदाय र मानव जातिको विकासबारे सुक्ष्म ढंगले चिन्तन गर्ने लेखक, कवि र कलाकारहरूले कार्ल माक्र्सको २ सय वर्षको जन्मोत्सव मनाइरहेका छन् ।
कार्ल माक्र्सको योगदानबारे चिन्तन गर्दा १४ मार्च १८८३ को कार्ल माक्र्सको समाधिमा फ्रेडरिक एंगेल्सको मूल्याड्ढन अत्यन्त उपयुक्त सम्झिन्छ । मानिसको जीवनमा संसारलाई परिवर्तन गर्ने एउटा नयाँ आविष्कार दिन सक्नु एक महान् काम हुन्छ । डार्बिनले जीव–विज्ञानको क्षेत्रमा विकासको नियम पत्ता लगाउनुभयो । त्यसले जीव जगतमा मात्रै होइन समाजशास्त्र र राजनैतिक क्षेत्रमा समेत प्रभाव पार्याे ।
कार्ल माक्र्सले मानव इतिहासको नियम पत्ता लगाउनुभयो, अर्थशास्त्रमा अतिरिक्त मूल्य पत्ता लगाउनुभयो र निजी सम्पत्ति र समृद्धि कसरी सामूहिक सम्पत्ति हुन्छ भन्ने प्रष्ट पार्नुभयो ।
सयांै वर्ष चिन्तकहरूले कल्पनामा आधारित समाजवाद र साम्यवादलाई वैज्ञानिक आधार दिनुभयो, जसको उदाहरण पेरिस कम्युन, बोल्शेविक समाजवादी क्रान्ति, समाजवादी चीन, प्रजग कोरिया, क्युवा आदि हुन् । पूँजीवादी समाजको पतन र सर्वहारा वर्गको शासनको अनिवार्यता र त्यसले ल्याउने मानव जातिको प्रगतिबारे उहाँले सुक्ष्म रुपले हेर्नुहुन्थ्यो जस्तो विजुलीको आविश्कारबाट संसारको हरेक क्षेत्रमा के कस्तो प्रभावहरू पार्नेछन् ।

माक्र्सले अर्थशास्त्र र गणितमा जस्तै पर्यावरण, समाजशास्त्र, कला र साहित्यमा समेत नयाँ देन दिनुभयो ।
पत्रकारिताको क्षेत्रमा ‘राइन समाचारपत्र’ र ‘नयाँ राइन समाचारपत्र’को सम्पादन गरी कार्ल माक्र्सले जर्मनीको राजनैतिक संसारमा क्रान्तिकारी आँधी ल्याइदिनुभयो । फ्रान्समा उहाँले ‘फ्रान्सेली–जर्मेनियाली वर्ष पत्र’ र ‘अग्रसर’ को सम्पादन गर्नुभयो ।
संगठनको हिसाबले कार्ल माक्र्सले फ्रान्स, ब्रुसेल्स र बेलायतका मजदुरहरूको संगठन सँगसँगै ‘अन्तर्राष्ट्रिय मजदुर संघ’ को स्थापना गर्नुभयो ।
कार्ल माकर्सले एंगेल्ससँग मिलेर विचारको क्षेत्रमा र संगठनको क्षेत्रमा संसारलाई उज्यालो दिने आश्चर्यजनक कार्यहरू गर्नुभयो । तर त्यसबेलामा निरंकुश र प्रजातन्त्रवादी भन्ने सरकारहरूले उहाँलाई पक्राउ गरे तथा आ–आफ्ने देशहरूबाट निष्कासन गरे । पूँजीवादीहरूको आँखामा उहाँ सबभन्दा घृणित र विरोध गरिएका व्यक्ति हुनुहुन्थ्यो । तर उहाँले वर्गशत्रुहरूको त्यो तुच्छ भावना र लाञ्छनाहरूलाई माकुराको जालो र धुलो जस्तै झार्नुहुन्थ्यो ।
हो, एंगेल्सले भन्नुभएजस्तै उहाँको कुनै व्यक्तिगत शत्रु थिएन । तर उहाँको नाम र कार्यहरू संसारमा युग–युगसम्म सम्झिरहनेछन् ।

 

भौतिक रुपमा माक्र्स संसारबाट विदा हुनुभएको पनि एक शताब्दीभन्दा लामो समय बितिसकेको छ । तथापि माक्र्सका विचार अर्थात् माक्र्सवाद अझै व्यापक र सान्दर्भिक बनिरहेको देखिन्छ । के कारणले यसको सान्दर्भिकता अझ बढिरहेको छ ?
कार्ल माक्र्स १९ औं शताब्दीमा बित्नुभयो, २० औं शताब्दीमा पनि युरोपदेखि अमेरिका र एसियामा अत्यधिक चर्चित व्यक्ति उहाँ नै हुनुभयो– विश्वविद्यालय, कारखानाहरू र खेत र खलिहानमा ।
आज हामी २१ औं शताब्दीको सुरुमा छौं । हिजोभन्दा आज र आजभन्दा भोलि संसारमा उहाँको चिन्तन, योगदान र रचनाहरूबारे बढी चर्चा र अध्ययन हुनेछ । अर्थशास्त्रमा दश वर्षमा एकपटक हुने आर्थिक शड्ढट पूँजीवादी व्यवस्थाको निको नहुने रोग हो र मजदुर वर्गको शासन वा समाजवाद मात्रै त्यसको उपचार हो भन्ने उहाँको आविष्कार र अध्ययनको परिणाम २१ औं शताब्दीको सुरुमा सबभन्दा बढी उहाँका रचनाहरू पूँजीवादी देशहरूमै बढी प्रकाशनहरू भइरहेका छन् । उहाँको चिन्तन विज्ञानसम्मत छ, त्यसैले उहाँ र उहाँका रचनाहरूको सान्दर्भिकता बढ्दैछ ।

केही मानिसहरु माक्र्सवाद पुरानो भयो र यसको सान्दर्भिकता पनि अन्त्य भयो भन्ने विचार राख्छन् । के भन्नुहुन्छ ?
संसारमा दिउँसो प्रकाश नदेख्ने प्राणीहरू पनि छन् । त्यस्तै अन्धविश्वासीहरू र धर्मभिरुहरू आज पनि पृथ्वी गोल छ र सूर्यलाई पृथ्वीले परिक्रम गर्छ भन्ने मान्दैनन् । तिनीहरूलाई कपर्निक, ग्यालिलियो र ब्रुनईको कुनै मूल्य छैन ।
त्यस्तै पूँजीवादी संसारलाई आर्थिक सड्ढटले भूकम्पले जस्तै हल्लाइरहेको नदेख्ने, समाजवादी देशहरूको चौतर्फी प्रगति नदेख्ने, सन् २०२१ भित्रै संरा अमेरिकी अर्थतन्त्रलाई जनवादी गणतन्त्र चीनले पछाडि छोड्ने र सन् २०४९–५० सम्ममा युरोप र अमेरिकाको संयुक्त अर्थतन्त्र समेत पछि पर्ने गम्भीर आर्थिक संस्थाहरू र अमेरिकाकै वाल स्ट्रिटको अनुमान त्यस्तै छ भने दिउँसो आँखा नदेख्नेहरूलाई हामीले ‘विचरा’ मात्र भन्न सक्नेछौं ।
तर त्यस्ता विश्वको प्रगति नदेख्ने र विज्ञानसम्मत कुरा नगर्ने मानिसहरूको संख्या संसारमा घट्दैछ ।

 

माक्र्सवाद विज्ञान हो र यो देशअनुसार र समयअनुसार परिवर्तन हुने हो भन्ने विचार फलाक्दै संसारमा एक थरी मानिसहरु माक्र्सका मूल विचारमाथि नै हमला गरिरहेका छन् नि ।
पृथ्वीको आकर्षण शक्ति विज्ञानले पत्ता लगाएकै विषय हो, त्यस्तै जलवायु परिवर्तनको अध्ययन पनि एक विज्ञान नै हो । तर जलवायुमा प्रभाव पार्ने कारणहरूको भविश्ष्वाणी गर्न टाढा–टाढाका सूचनाहरू पर्याप्त भई नसक्दासम्म सानतिना हावापानीको भविष्यवाणी गलत हुनसक्छ, त्यो स्वयम् विज्ञान हो ।
पृथ्वी एउटै हो, तर विषुवत रेखीय देशको हावापानी, उष्ण कटीबन्धीय क्षेत्र र ध्रुवीय क्षेत्रको हावापानी समान हुँदैन । तर त्यहाँका जलवायुमा पर्ने प्रभाव पहिले नै पत्ता लगाई सकेजस्तै हरेक देशको आन्तरिक विकासक्रम, छिमेकी देशहरू तथा अन्तर्राष्ट्रिय क्षेत्रकोे के – कति प्रभाव पार्नेछ भन्नेबारे जानकारी हुनु पनि स्वयम् विज्ञान नै हो ।
तर बिहान जसरी हुन्छ, त्यस्तै पूँजीवादी समाजको नसुल्झिने अन्तरविरोधले क्रान्ति जन्माउँछ र समाजवादको स्थापना अवश्यम्भावी छ । राती चिराग निभाउन खोज्ने प्राणीहरूको पनि कमी छैन तर तिनीहरुको भविष्य त्यही भष्म हुन्छ ।

नेपालको सन्दर्भमा माक्र्सवादको प्रयोग भन्नुको अर्थ के हुनसक्छ ?
नेपालमा श्रमिक वर्गको संगठन बढ्दै जानु,राजनैतिक क्षेत्रमा पनि माक्र्सवादको अध्ययन गर्ने नयाँ पुस्ता बढ्दै जानु र पूँजीवादी शासक दलहरूले समेत हाम्रो देश ‘समाजवादउन्मुख’ भन्न बाध्य हुनु नै माक्र्सवादको प्रभाव बढ्दै जानु हो । विश्वविद्यालयमा पढाइने समाजशास्त्रदेखि वातावरण विज्ञानमा समेत माक्र्सका रचनाहरूको अध्ययन भइरहेका छन् ।

माक्र्सको व्यक्तित्वबाट तपाईलाई सबभन्दा बढी प्रभावित बनाउने पक्ष के के हुन् ?
राजनीतिशास्त्रमा सर्वहारा वर्गको राज्य, वैज्ञानिक समाजवादको अपरिहार्यता र त्यसपछिको खुड्किलो–शारीरिक श्रम र बौद्धिक श्रमको भेद हट्ने, किसान र मजदुरको भेद हट्ने, गाउँ र सहरको भेद हट्ने, शोषणरहित र राज्यसमेत ओइलिएर जाने साम्यवादी चरणबारे म अति आकर्षित छु ।

सिद्धान्त, विचार, आदर्श आदि विषयमा भन्दा तत्कालका फाइदा हेर्ने र गहिरो विषयबस्तुमा ‘टाउको दुखाउन’ नचाहने केही आजका युवाहरुलाई के माक्र्सवादी साहित्यबारे कसरी आकर्षित गर्न सकिन्छ होला ?
माक्र्सवाद युरोपेली दर्शन भएको हुँदा र माक्र्सवादको विकासको विषयमा युरोपको तत्कालीन राजनैतिक परिवेश, त्यसैबेलाको अर्थतन्त्र वा पूँजीवादको विकास आदि विषयका जानकारी दिने पुस्तकहरू नेपाली भाषामा सा¥है कम छन्, साथै हाम्रो विद्यालयको शिक्षाले युरोपको तत्कालीन विकासलाई नहुने हुँदा हाम्रा युवाहरूको जानकारी कम हुँदा एकैबाजी नौलो विषयमा हाम फाल्दा ‘टाउको दुख्नु’ स्वाभाविक हो । पूँजीवादी समाजमा छिट्टै काम पाउने र मामको बन्दोबस्त चाहनु परिस्थितिकै घच्घच्याई हो । हाम्रो विश्वविद्यालयको पाठ्यक्रम समय सुहाउँदो र वैज्ञानिक भएमा नयाँ पुस्ताले माक्र्सवादलाई चाख मानेर अध्ययन गर्ने छन् किनभने माक्र्सवाद एक विज्ञान हो । नेपालका नयाँ पुस्तामा विज्ञानको अध्ययनमा रुची बढेको देख्दैछौं । कार्ल माक्र्सले कम उमेरमै युरोपका अनेकौं महाकाव्यहरू र विभिन्न देशका साहित्यहरू पढ्नुभएको थियो, जसको प्रभाव उहाँको राजनैतिक र ऐतिहासिक अनि र्अशास्त्रको रचनाहरूमा समेत यत्रतत्र मगमगाउने फुलहरूसरह छरिएका छन् ।

अन्त्यमा केही कुरा छन् कि ?
सारमा कार्ल माक्र्स १९ औं शताब्दीको एक महान चिन्तक, कामदार वर्गका गुरु र मानव जातिको आमूल परिवर्तन चाहने संसारका सबै जनताका प्रतिभाशाली मित्र हुनुहुन्छ । उहाँको विचार र उद्देश्य आज पनि नौलो छ, त्यस उद्देश्यको निम्ति हामी निरन्तर लाग्न अनुरोध गर्छौं ।

२०७५ बैशाख ५ गते
५ मे २०१८

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक