माक्र्स दिवसमा विचार गोष्ठी

भक्तपुर, २२ वैशाख । नेपाल मजदुर किसान पार्टीले विश्व सर्वहारा वर्गका गुरु, दार्शनिक, अर्थशास्त्री, समाजशास्त्री, राजनीतिक सिद्धान्तकार, पत्रकार, समाजवादी एवं आमूल परिवर्तनकारी कार्लमाक्र्सको शनिबार दुई सयौं जन्मदिवसको अवसरमा विचार गोष्ठीको आयोजना ग¥यो ।
नेमकिपाका नेता तथा कार्यकर्ताहरूको विशेष उपस्थितिमा आयोजित सो विचार गोष्ठीमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले आर्थिक समानता हुने, गाउँ र सहरको भेद नहुने राज्यविहीन समाज नै साम्यवादी समाज हो भन्नुभयो ।
साम्यवादी समाजमा जनताका आवश्यकता सबै पूर्ति हुने चर्चा गर्दै उहाँले समाजवादी व्यवस्थामा योग्यताअनुसार काम र कामअनुसार ज्यालाको बन्दोबस्त हुन्छ भन्नुभयो ।
सबैलाई सबैको आवश्यकता पूर्ति हुने हुँदा पुँजीवादी व्यवस्थामा जस्तो साम्यवादी समाजमा लुछाचुँडी, मारपिट नहुने विचार व्यक्त गर्दै अध्यक्ष रोहितले मान्छेको राजनीतिक, सेद्धान्तिक र सांस्कृतिक आदि चेतनास्तरको विकाससँगै समाजमा उपद्रव नहुने बताउनुभयो ।
नेपालको ढुकुटी विदेशी बैड्ढमा राख्न नहुनेमा जोड दिंदै अध्यक्ष बिजुक्छेंले समाजवादी समाजमा उद्योग, बैड्ढ तथा अन्य उत्पादनका साधनहरू राष्ट्रियकरण गरिएको हुन्छ भन्नुभयो ।
राजनीतिमा लाग्दा अनेक दुःख–कष्ट र चुनौतीको सामना गर्नुप¥यो भनेर सिद्धान्त र विचार छोड्न नहुने औंल्याउँदै उहाँले पार्टीको जिम्मा लिएपछि आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पालना गर्नुपर्छ भन्नुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो–‘जिम्मेवारी लिएपछि पूरा नगर्नु पनि धोका दिएको सरह हो । पार्टी या जनवर्गीय स·ठनको बैठक नबोलाउँदा जनताको सेवा हुँदैन, जनताको सेवा नगर्नु कर्तव्य भुल्नु हो ।
पार्टीभित्र अनुशासनमा नबस्ने, जिम्मेवारी पूरा नगर्ने कार्यकर्तालाई आलोचना गर्नुपर्नेमा जोड दिंदै उहाँले काम गर्दा जानी नजानी कमी–कमजोरी हुनसक्छ, त्यस्तो बेला आलोचना गरेर सुधार्नुपर्छ, तर आलोचना बुझेर गर्नुपर्छ भन्नुभयो ।
आफूलाई कम्युनिष्ट भनिने सरकारको नेतृत्व गरिरहेका एमाले र माओवादी केन्द्रले किसान र मजदुरको हितमा कुनै काम नगरेको चर्चा गर्दै उहाँले जनताको सैद्धान्तिक स्तर उठाउने यस्ता कार्यक्रम अझ व्यवस्थित गरेर निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले पार्टीको २८ औं परिषद्मा द्विशतवार्षिकीको अवसरमा वर्षभर जिल्ला–जिल्लामा माक्र्सको कृति र साहित्यबारे अनेक कार्यक्रम गर्ने निर्णय भएको जानकारी दिंदै औद्योगिक क्रान्ति अघि श्रमिक वर्गको स्थितिबारे जानकारी दिनुभयो ।
पुँजीपति वर्गले सामन्तवाद अन्त्य गरेपछि पुँजीवादी सरकार गठन हुने हुँदा बहुमत जनताको सेवा नगर्ने औंल्याउँदै उहाँले पुँजीवादी सरकार अन्त्य गर्न सर्वहारा वर्गले सङ्घर्ष गर्नुपर्छ भन्नुभयो ।
निरङ्कुश पञ्चायती शासनको अन्त्यसँगै स्थापित पुँजीपति वर्गको शासन अन्त्य गर्न कम्युनिष्टहरूले सङ्घर्षलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्दै सचिव सुवालले भन्नुभयो –‘पुँजीपति वर्गको हातमा उत्पादनका स्रोत र साधन केन्द्रित हुँदा जनतामा असन्तोष बढ्छ र सर्वहारा वर्ग आन्दोलनमा लाग्छ ।’

नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले जीवन र जगतलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने विधि तथा जीवन र जगतका सामान्य नियमहरूको अध्ययन नै दर्शन हो, दुःखको मूल कारण शोषण हो भन्नुभयो ।
सशस्त्र सङ्घर्षको सिद्धान्त, मजदुर वर्गले राज्यसत्ता कब्जा गर्ने सिद्धान्त र सर्वहारा वर्गको अधिनायकत्व कायम गर्ने सिद्धान्त नै माक्र्सवाद हो – उहाँले भन्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले सत्यको खोजी गर्ने, काममा पथप्रदर्शन गर्ने सबभन्दा उन्नत सिद्धान्त वा दर्शन नै माक्र्सवाद भएको उल्लेख गर्दै समाजको एउटा चरण नास हुँदै मानव समाजको अन्त्य हुँदैन, क्रान्ति अवश्य हुन्छ, क्रान्ति गर्न क्रान्तिकारी पार्टी चाहिन्छ भन्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य अनुराधा थापामगरले वैज्ञानिक समाजवादका प्रवर्तक कार्ल माक्र्सको जीवनीबारे प्रकाश पार्दै वर्गीय समाजमा पुँजीपति आधिपत्य अन्त्य गर्न वर्गसङ्घर्ष आवश्यक छ भन्नुभयो ।
क्रान्तिकारीहरूको लागि भौगोलिक सीमा नहुने उल्लेख गर्दै उहाँले भन्नुभयो –‘शोषित–पीडित जनताको माग पूरा गर्न पत्नी जेनी माक्र्सले पनि उल्लेखनीय योगदान गरेको विचार व्यक्त गर्दै सर्वहारा वर्गको मुक्तिको लागि दृढतापूर्वक लागेको बताउनुभयो ।
सर्वहारा वर्गले पनि राज्य प्राप्त गर्न सक्नेरहेछ भन्ने कुरा पेरिस कम्युनले देखाएको उल्लेख गर्दै केन्द्रीय सदस्य थापामगरले माक्र्सले सङ्घर्ष नै सर्वश्व सम्झेर आन्दोलनमा लागेकै कारण उहाँ युगयुगसम्म बाँचिरहेको हो भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले लेनिनले लेखेको पुस्तक ‘कार्लमाक्र्स र उनको शिक्षाबारे प्रकाश पार्दै हेगेलको द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त प्रतिपादन गरेको बताउनुभयो ।
उहाँले वर्ग र राज्यको विलयपश्चातको वर्गविहीन र राज्यविहीन व्यवस्था नै साम्यवाद हो भन्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले कम्युनिष्ट घोषणापत्रबारे उल्लेख गर्दै वर्गसङ्घर्षले मात्र सर्वहारा वर्गको अधिनायकत्वमा पु¥याउन सक्छ, मानव जातिको सम्पूर्ण इतिहास नै शोषक–शोषित, शासक र उत्पीडित वर्गहरूबीचको सङ्घर्ष हो भन्नुभयो ।
उहाँले भन्नुभयो –‘बुर्जुवा वर्गको पतन अनिवार्य छ, सर्वहारा वर्गको विजय सुनिश्चित छ, सर्वहारा वर्गको सत्ता भएपछि शोषण पद्धति नष्ट हुन्छ, सर्वहारा वर्गको आन्दोलन बहुसङ्ख्यक जनताको हित र स्वतन्त्रताको लागि हो ।’
नेमकिपाका अर्का वैकल्पिक केन्द्रीय सदस्य सृजना सैंजूले अतिरिक्त मूल्यको सिद्धान्तबारे चर्चा गर्दै अतिरिक्त मूल्यसँग लड्नु नै पुँजीवादसँग लड्नु हो भन्नुभयो ।
उहाँले भन्नुभयो– ‘जहाँ शोषण हुन्छ त्यहाँ विद्रोह हुन्छ ।’
पार्टीका अर्का वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले माक्र्सकालीन युरोप र जर्मनीको इतिहासबारे उल्लेख गर्दै सबभन्दा बढी काम गर्ने मजदुरले केही नपाउने हुँदा त्यस्तो व्यवस्था उल्टाउन मजदुरहरू सङ्घर्ष गर्छन् भन्नुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष नीरज लवजूले द्वन्द्ववाद दुई विरोधी पक्षबीचको एकता हो, निषेध विनासको कारण नवीन निर्माणको प्रस्थान बिन्दु हो भन्नुभयो ।
विचार गोष्ठीमा प्राध्यापक समाजका प्रकाशकुमार श्रेष्ठले परिवार, निजी स्वामित्व र राज्यको उत्पत्ति, रुपक जोशीले बेलायतमा कामदारहरूको स्थिति, सुजन माकले फ्रान्समा भएको गृहयुद्ध र सुनिले दुवालले ज्यालादारी श्रम र पुँजीबारे आ–आफ्नो प्रस्तुतस्करण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको सुरुवात अन्तर्राष्ट्रिय गीतबाट गरिएको थियो ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक