nwpp@ntc.net.np +1 6610026
नेमकिपाले देश र जनताको सेवा गरेकै कारण भक्तपुर काण्डको षड्यन्त्र

काठमाडौँ, २६ भदौ । नेपाल क्रान्तिकारी किसान सङ्घ काठमाडौँ जिल्ला समितिको आयोजनामा भक्तपुर काण्डको विरोधमा मङ्गलबार कार्यकर्ता भेला भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं नेक्रामहिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले देश र जनताको सेवा गर्ने काम नेमकिपाले गरेकै कारण पञ्चायतले भक्तपुर काण्डको षड्यन्त्र रचेको हो भन्नुभयो ।
उहाँले साम्राज्यवादी देश संरा अमेरिकाले भियतनामाथि गरेको आक्रमणको विरोधमा रभारतीय विस्तारवादले नेपालको भूभाग सुस्ता अतिक्रमणको विरूद्ध भक्तपुरमा जुलुस भएको थियो भन्नुभयो ।
उहाँले भन्नुभयो, “देशी विदेशी शक्ति लागेर नेमकिपाविरूद्ध षड्यन्त्र भएकै हो । वि.सं. २०३५ साल भदौ १५ गते भारत प्रवास रहँदा श्रद्धेय अध्यक्ष रोहितमाथि गोली हानेर घाइते बनाइएको थियो  । २०४५ सालमा पञ्चायती शासकहरूले अध्यक्ष रोहितको फाँसीको माग गरे । नेमकिपाले देश र जनताको पक्षमा काम गरेकै कारण राज्यले षड्यन्त्र गरेको हो ।”
नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले निःस्वार्थरूपले देश र जनताको सेवा गर्ने नेमकिपाको अडान नै पञ्चायती शासकहरूको निम्ति हाम्रो दोष र विराम थियो भन्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एन. महर्जनले भन्नुभयो, “नेमकिपाले सुरूदेखि नै व्यक्तिहत्या र अराजकतावादी दृष्टिकोणको विरोध गर्दै आएको हो । यसबारे हामीमा कुनै द्विविधा छैन ।”
उहाँले गणतन्त्रका सरकारबाट पनि साँचो अर्थमा निःस्वार्थरूपले देश र जनताको सेवा भइरहेको छैन भन्नुभयो ।
नेमकिपा काठमाडौँ जिल्ला समितिका बन्दना श्रेष्ठले महिला दिदीबहिनीहरू सदा सचेत हुनु आवश्यक छ भन्नुभयो ।
उहाँले संरा अमेरिकी सहयोगमा इजरायली नेतन्याहु सरकारले प्यालेस्टिनी जनताको जातीय ढङ्गले नास गर्न केटाकेटी र आमाहरूलाई मारिरहेको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष हरिशरण श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गुणदास महर्जन, काशीलाल डंगोल, कुलनारायण डंगोल, विष्णुबहादुर खत्री, काशीनारायण डंगोल, ज्ञानुमैया दराई, रत्नशोभा महर्जन, ममता महर्जन, दामोदर कारञ्जित, विन्द्रा महर्जन, रत्नशोभा महर्जन, मन्दिरा डंगोल, पूर्णबहादुर बुढाथोकी, मोहन थापामगरलगायतले बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार