भक्तपुर, १ असोज । २०४५ मा नेपाल मजदुर किसान पार्टीलाई समुल नष्ट गर्न निरङ्कुश पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र भक्तपुर काण्ड (कालो दिन) को विरोध र भत्र्सना स्वरूप अग्रज महिला कार्यकर्ताहरूको भेला मङ्गलबार भयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिको आयोजनामा भएको उक्त भेलामा सङ्घका अध्यक्ष अनुराधा थापामगरले राजनीतिकरूपमा सचेत र सङ्गठित बन्न नसक्दा धेरै महिलाहरूले दुःख भोग्नुपरेको वास्तविकता औँल्याउँदै अबका दिनहरूमा सतर्क रहन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपामा घुसेका प्रतिक्रियावादीहरूले भारत प्रवासमा पार्टी नेतृत्वविरुद्ध गोली प्रहार गरेको र ती तत्वहरूले घटनाको यथार्थ विवरणलाई ढाकछोप गर्न झूटा तर्क राखेको अहिले पनि खुलिरहेको छ । पार्टीभित्र गलत तत्व घुस्नेबारे सबै कार्यकर्ता र शुभेच्छुकहरू सचेत हुनु जरूरी छ ।”
केन्द्रीय अध्यक्ष थापामगरले भक्तपुरमा वास्तविक महिलाहरू जागेको सरजमिनको दिन भएकोले त्यसबाट शिक्षा लिनुपर्ने र शत्रुहरूको षड्यन्त्रबारे नयाँ पुस्तालाई बताउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
वाग्मती प्रदेश सभा सांसद सृजना सैँजूले भुक्तभोगी अग्रज महिला कार्यकर्ताहरूको अनुभवले कामदारवर्गका महिलाहरूमा नयाँ जाँगर र उत्साह थप्ने धारणा राख्नुभयो ।
उहाँले महिलाहरूलाई त्यसबेलाको राजनैतिक परिस्थितिले वैचारिकरूपमा परिपक्व बनाएको विचार व्यक्त गर्नुभयो ।
महिलाहरू राजनीतिकरूपमा सचेत भए परिवार नै शिक्षित हुने धारणा पनि उहाँले व्यक्त गर्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय उपाध्यक्ष कमलमैयाँ सुवालले नेमकिपाले स्थापनाकालदेखि इमानदारीका साथ देश र जनताको निःस्वार्थ सेवा गर्दै आएकोले शत्रुको आँखाको कसिङ्गर बनेको विचार व्यक्त गर्नुभयो ।
“हामी महिलाहरूले नयाँ पुस्ताको सोच, चिन्तन र व्यवहारबारे जानकारी राख्नु आवश्यक छ”, उहाँले भन्नुभयो ।
सङ्घका केन्द्रीय सचिव सुलोचना छ्वाजू र कोषाध्यक्ष रोशनमैयाँ सुवालले पनि बोल्नुभएको उक्त कार्यक्रममा भक्तपुर काण्डका पीडित अग्रज महिला कार्यकर्ताहरूले आ–आफ्नो अनुभव आदानप्रदान गर्नुभयो ।