“कम्युनिस्ट नाम राखेका संसद्वादी दलहरू सरकारमा गएर पञ्चायत र राणा शासकहरूजस्तै काम गरिरहेका छन्”


“कम्युनिस्ट नाम राखेका संसद्वादी दलहरू सरकारमा गएर पञ्चायत र राणा शासकहरूजस्तै काम गरिरहेका छन्”

दैलेख, ३ कार्तिक । नेपाल मजदुर किसान पार्टी दैलेख जिल्ला समितिको आयोजनामा शनिबार चामुण्डामा कार्यकर्ता भेला भयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालको आतिथ्यमा भएको उक्त कार्यक्रममा सांसद सुवालले भन्नुभयो, “शासक दलका नेताहरू उपचार गर्न राज्य कोष लिएर विदेश जान्छन् । नेमकिपाका नेता र पार्टीका कसैले पनि राज्य कोष लिएर स्वदेश र विदेशमा उपचार गराएका छैनन् । पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) का परिवार शोभा प्रधानको स्तन क्यान्सर र पाठेघर क्यान्सरको उपचार देशभित्रका अस्पतालमा राज्य कोष नलिइकनै भएको हो ।”
“नेमकिपाको घोषणापत्रअनुसार निर्वाचित भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूले ख्वप कलेजहरू सञ्चालन गरी ७७ वटै जिल्लाका जनताका छोराछोरीहरूलाई इन्जिनियरिङ, विज्ञान, मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र सङ्कायमा उच्च शिक्षा प्रदान गर्दै छन्”, उहाँले भन्नुभयो ।
“भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालन गरी जनताका छोराछोरीलाई १०–१५ लाखमा चिकित्सा शिक्षासमेत दिने लक्ष्य राखेको ८–१० वर्ष भयो तर, ख्वप विश्वविद्यालयको विधेयक सरकारले पारित गरिदिएको छैन । छिट्टै पारित हुने अपेक्षामा नगरपालिकाको रहेको छ”, सचिव सुवालले अगाडि भन्नुभयो ।
कम्युनिस्टहरूको एउटै काम मजदुर–किसानको सेवा गर्ने र देशको रक्षा गर्ने हो भन्दै सचिव सुवालले कम्युनिस्ट नाम राखेका संसद्वादी दलहरू सरकारमा गएर पञ्चायत र राणा शासकले जस्तै काम गरिरहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “संसद्वादी दलहरूले निर्वाचनमा मजदुर किसानको मत लिएर संसद् र सरकारमा शोषक वर्गको सेवा गर्दैै छन् । सिद्धान्तहीन निर्वाचन मोर्चा र सत्ता गठबन्धन गर्ने संसद्वादी दलहरूबाट देश र जनताको हित हुनेछैन ।”
नेमकिपाका कार्यकर्ता र शुभेच्छुकहरूले देश र विदेशको राजनीतिक अवस्था बुझन् पार्टी प्रकाशनहरूबारे अध्ययन र अन्तरक्रिया चालु राख्नु जरूरी रहेको र यसमा बुद्धिजीवीहरूको भूमिका महत्वपूर्ण हुने सांसद सुवालले बताउनुभयो ।
अमेरिकी साम्राज्यवादले युक्रेनका हतियार पठाई रूसविरूद्ध युद्ध छेडेको हो भने इजरायललाई हतियार दिई प्यालेस्टिनी जनताको नरसंहार र भूमि कब्जा गराइएको उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “नेमकिपामा आस्था राख्ने शिक्षकहरूले विद्यार्थीहरूलाई ६० प्रतिशतको अङ्कसहित उत्तीर्ण गराउने लक्ष्य राख्नु आवश्यक छ । एसईई र कक्षा १२ मा आधाआधी विद्यार्थी अनुत्तीर्ण हुनु जग बलियो नहुनु हो । जग बलियो बनाउन शिक्षक र अभिभावकहरूको संयुक्त प्रयास जरूरी छ । उत्पादन श्रमसँग जोडिएको शिक्षा दिनु आवश्यक छ ।”
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश संयोजक सरोजराज गोसाई, पार्टीका केन्द्रीय सदस्यहरू जग्यबहादुर शाही, नर्मा गुरूङ र सृजना सैंजू तथा लक्ष्मी विकले पनि बोल्नुभएको थियो ।
चामुण्डा माविमा अध्ययन अवलोकन
सांसद सुवालले चामुण्डा माविमा शनिबार अध्ययन अवलोकन भ्रमण गर्नुभयो । अवलोकनको क्रममा स्थानीय शिक्षकहरूसँगको अन्तरक्रियामा उहाँले भन्नुभयो, “नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले २०५६ सालमा ‘एक घर एक स्नातक’को लक्ष्य राख्नु भएपछि भक्तपुर नगरपालिकाले ख्वप मावि र ख्वप कलेजहरू सञ्चालन गरेको हो ।”
भनपाले सञ्चालन गरेका ख्वप कलेजहरूमा कर्णाली प्रदेशका १० वटै जिल्लाका विद्यार्थीहरूले इन्जिनियरिङ विषयसमेत अध्ययन गरिरहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “दैलेखका ३३, कालीकोटका ४०, जुम्लाका ६०, सुर्खेतका २८, हुम्लाका १०, मुगुका ७, सल्यानका ११, पश्चिम रूकुमका ११, जाजरकोटका ७, डोल्पाका ४ जना विद्यार्थीहरूले भनपाबाट सञ्चालित कलेजहरूमा इन्जिनियरिङ विषय अध्ययन गरिसकेका छन् ।”
सांसद सुवालले भन्नुभयो, “नेपालको नदीनाला भारतलाई दिएर, नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाएर सुखी नेपाली र समृद्ध नेपाल बन्नेछैन ।”
“१०४ वर्षको निरङ्कुश राणा शासन र निर्दलीय पञ्चायती व्यवस्थाविरूद्ध ३० वर्ष सङ्घर्ष गरी सरकारमा गएका दलहरूले २६ अर्ब ऋणमा देशलाई पु¥याएर सडक, पुल, अस्पताल, विद्यालय भवन बनाएको दाबी गर्नु देशघात नै हो । देशको सन्तुलित आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नु अहिलेको आवश्यकता हो”, उहाँले भन्नुभयो ।
“प्रतिनिधिसभामार्फत सरकारको ध्यानाकर्षण गराउन देश र जनताका विषयहरू दैलेखका बुद्धिजीवीहरूबाट प्राप्त हुने अपेक्षा गर्दछ”, सांसद सुवालले भन्नुभयो ।

पार्टी गतिविधिहरु
समाचार