भक्तपुर, १६ पुस । नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर नगर समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भयो ।
विश्व सर्वहारावर्गका महान् गुरु स्तालिनको १४७ औँ र माओ त्सेतुङको १३२ औँ जन्म दिवसको अवसरमा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले युवाहरू चुनौतीदेखि नडराई सङ्घर्ष गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
अहिले प्रधानमन्त्री र मन्त्रीको उम्मेदवार बन्न अगाडि आइरहेकाहरू एमसीसीका समर्थक भएको उल्लेख गर्दै उहाँले उनीहरू विदेशी एनजीओ र आइएनजिओबाट सञ्चालित भएकोले सचेत हुनुपर्ने बताउनुभयो ।
उहाँले विचार र दृष्टिकोणले युवा बनिसकेपछि सही र गलत निर्धारण छुट्याउन सक्ने भएकोले देशको समसामयिक विषयका साथै विदेशीबाट सञ्चालित व्यक्तिहरूको बारेमा युवाहरूले बुझ्नु आवश्यक भएको बताउनुभयो ।
भदौ २३ र २४ गतेको घटना पूर्वनिर्धारित र नियोजित भएको हुँदा युवाहरू अरुको लहलहैमा नलाग्ने र लागेको भए त्याग्नुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।
नेमकिपा मधेस प्रदेश सदस्य राजकृष्ण गोराले नेपालका अधिकांश नेताहरू विदेशबाट सञ्चालित भएकाले आगामी चुनावमा त्यस्ता नेताहरूलाई बिर्सनुपर्ने बताउनुभयो । उहाँले युवाहरूले अध्ययनलाई जोड दिनुपर्ने र राष्ट्रिय–अन्तर्राष्ट्रिय राजनीतिलाई ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेक्रायुसङ्घ भक्तपुर नगर समितिका अध्यक्ष जगतराम धुख्वाको सभापतित्वमा भएको उक्त कार्यक्रममा सचिव रामेश्वर मचामसी, कृष्ण गरु, कृष्णप्रसाद सुवाल, राधिका बेकोजुलगायतले बोल्नुभएको थियो ।