नेमकिपाको केन्द्रीय परिषद् सुरु
भक्तपुर, १८ पुस । नेपाल मजदुर किसान पार्टीको आठौँ अधिवेशनपछिको पहिलो (३७ औँं) केन्द्रीय परिषद् शुक्रबार भक्तपुरमा सुरु भयो ।
परिषद्मा पार्टी अध्यक्ष बिजुक्छेँले नेता र कार्यकर्ताहरूले संसारका मुख्य–मुख्य आन्दोलन र सङ्घर्षका इतिहास तथा क्रान्तिकारी नेताहरूको जीवनी र उहाँहरूको जीवन सङ्घर्षबाट सिक्न आवश्यक छ भन्नुभयो ।
फ्रान्सेली राज्य क्रान्तिको १० वर्षमा ४ ओटा संविधान बनेको उल्लेख गर्दै उहाँले देश र जनताको हितमा काम नगरेका नेपोलियन परिवारलाई फ्रान्सको चुनावमा उम्मेदवार हुन नदिने व्यवस्थासमेत गरेको बताउनुभयो ।
सन् १९१७ को अक्टोबर समाजवादी क्रान्तिबारे जानकारी दिँदै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “रुसका बोल्शेभिक सांसदहरू जनताको सङ्गठन र सङ्घर्षमा समर्पित भएर लागेका थिए । त्यसबेला एक जना गुप्तचर पनि बोल्शेभिक सांसद भए । उनले पार्टी र जनतालाई धोका दिएको हुँदा क्रान्तिपछि अदालतबाट उनलाई ज्यान सजाय भयो ।”
नेपालमा पनि देश र जनतालाई विश्वासघात गर्ने सांसद र मन्त्रीहरूलाई क्रान्तिपछि सजाय हुने धारणा अध्यक्ष बिजुक्छेँले व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “भदौ २३ र २४ गतेको घटनामार्फत नेका र एमालेको दुईतिहाइको सरकारलाई तासको घरजस्तै ढलायो । त्यसबेला नेका र एमालेका समर्थक दाबी गरेका शिक्षक–कर्मचारीहरूबाटै सरकारलाई सहयोग भएन । शासकहरूले ती शिक्षक र कर्मचारीहरूलाई आ–आफ्नो सुविधा बढाउन काठमाडौँमा आन्दोलन मात्र गराए । इतिहासमा विध्वंसको घटना हुँदा ठुल ठुला प्रतिरोध आन्दोलन भएका उदाहरणहरू छन् । नेपालमा शासक दलका नेता र कार्यकर्ताहरू आफ्नै दलको सरकार ढालिँदा पनि मौन बसे ।”
अध्यक्ष बिजुक्छेँले थप्नुभयो, “शिक्षक र कर्मचारीहरूले विद्यार्थी, युवा र सर्वसाधारण जनतालाई सुसंस्कृत समाज निर्माणबारे शिक्षित गर्नु जरुरी छ ।”
पार्टी कार्यमा घर छोडेर कति दिन खटिएँ, नयाँ कार्यकर्ताहरू कति जना तयार गरेँलगायत विषयमा कार्यकर्ताहरूले आत्ममूल्याङ्कन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “शासक दलहरूले कार्यकर्तालाई जागीर, ठेक्का, वैदेशिक रोजगारीको लोभ देखाउने, अपराधको निम्ति दण्ड सजायबाटसमेत मुक्त गरिदिने आश्वासन दिइरहेका छन् । नेमकिपाले कार्यकर्तालाई सुरुदेखि नै देश र जनताको निःस्वार्थ सेवा गर्न सिकाउनुपर्दछ । पार्टी कार्यकर्ताले पार्टीको अडान बोल्ने हो, व्यक्तिगत फाइदा खोज्ने होइन ।”
चुनावमा बहुमत आएर समाजवाद नआउने स्पष्ट पार्दै अध्यक्ष बिजुक्छेँले शासक दलहरूले चुनावमा सामान र पैसा बाँडेर दुईतिहाइ पु¥याएको र सरकारमा गएर भ्रष्टाचार गरेको हुँदा सरकार ढालिए पनि तिनका नेता र कार्यकर्ता कोही बचाउन निस्कन नसकेको बताउनुभयो ।
सोभियत समाजवादको विघटनबारे चर्चा गर्दै उहाँले भन्नुभयो, “ साम्राज्यवादीहरूले समाजवादविरुद्ध मनोवैज्ञानिकरूपमा भित्रभित्रै जनतालाई भड्काउने शीत युद्ध चलाए । यसकारण पनि सोभियत सङ्घ विघटन भयो र १५ ओटा पुँजीवादी देशमा विभाजन भयो ।”
प्रतिक्रियावादीहरूले देश र जनताको निःस्वार्थ सेवा गर्नेहरूलाई बाधा अवरोध तेस्र्याउनेतर्फ सचेत हुनुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष बिजुक्छेँले पञ्चायती निरङ्कुश सरकारले नेमकिपाका नेता र कार्यकर्ताहरूविरुद्ध झूटा ज्यान मुद्दा चलाएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “मजदुर वर्गको राज्य मागेर संसारमा कहाँ दिइएको छ ? जनताको हित हुने बन्दोबस्तको लागि सङ्घर्ष गर्नैपर्दछ । सङ्घर्षको लागि जनताबिच सङ्गठन गर्नैपर्दछ ।”
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “मुख्य मुख्य पदमा बसेर देश र जनताको सेवा नगर्नेहरू इतिहासमा दोषी साबित हुनेछन् । जनताको सेवामा लागिरहेकाहरूसमेत सङ्कट आउनासाथ ‘राजनीति नगर्ने’ भनी कागज गरेर प्रतिक्रियावादीहरूसँग झुकेका छन् । देश र जनताविरोधीहरूसँग लड्न नसके कार्यकर्ताहरू जीउँदो लासजस्तै हुनेछन् । नेमकिपाको उद्देश्य देश र जनताको निःस्वार्थ सेवाबाहेक अर्को छैन ।”
परिषद्मा सचिव प्रेम सुवालले पार्टी केन्द्रीय समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । सचिव सुवालले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि समूहगत छलफल गरिएको छ ।
शुक्रबार केही पार्टी जिल्ला समिति प्रतिवेदन, वर्गीय सङ्गठन र पेसागत सङ्गठनका प्रतिवेदनहरू प्रस्तुत गर्ने क्रम सुरु भयो ।
परिषद् शनिबार पनि चालु रहनेछ ।