भक्तपुर, १९ पुस । नेपाल मजदुर किसान पार्टीको आठौँ अधिवेशनपछिको पहिलो (३७ औँं) केन्द्रीय परिषद् शुक्रबार र शनिबार भक्तपुरमा सम्पन्न भयो ।
परिषद्मा अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले स्रष्टा समाज नेपालले प्रकाशन गरेको थोमस मोरको ‘कल्पनालोक’ पुस्तकको भावानुवाद सार्वजनिक गर्नुभयो ।
परिषद्मा पार्टी अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “बेलायतको सामन्तवादी व्यवस्थामा पुँजीपतिवर्गले समेत टाउको उठाएर हिँड्न पाउँदैनथ्यो । सामन्तवर्गले पुँजीपतिवर्गसँग कर बढाउँदै लगेपछि पुँजीपतिवर्गले मजदुरवर्ग समेतको सहयोगमा संसारमा पहिलोपटक बेलायतको राजतन्त्रलाई समाप्त पारेको थियो । यसपछि बेलायतका सामन्त र पुँजीपतिवर्ग मिलेर मजदुरवर्गलाई दबाउन थाले । यो प्रतिक्रान्तिलाई बेलायतको गौरवपूर्ण क्रान्ति भनियो । त्यो भनाइ झूटो हो ।”
उहाँले भन्नुभयो, “प्रतिक्रियावादीहरूले कलाकार, खेलाडी, व्यवसायी समेतलाई दूत बनाएर आफ्नो स्वार्थ पूरा गर्ने गर्छन् । विद्यार्थीलाई परीक्षाबिना उत्तीर्ण गराउने, विदेशीलाई नेपाली नागरिकता दिने, नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने सरकारहरू देशद्रोही र प्रतिक्रियावादी हुन् ।”
कार्यकर्ताहरू बौद्धिकरूपमा अघि बढ्नु जरुरी रहेको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले सुविधालाई होइन देश र जनतालाई प्राथमिकतामा राख्नुपर्ने र जस्तोसुकै कठिनाइ सामना गर्न पनि कार्यकर्ताहरू तयार हुनुपर्नेमा जोड दिनुभयो ।
पदमा बसेकाहरू जिम्मेवारी बिर्सेर भाग्नु अपराध स्वीकार गर्नुजस्तै हुनेतर्फ सचेत गराउँदै अध्यक्ष बिजुक्छेँले भेनेजुयलामाथि भएको अमेरिकी साम्राज्यवादको आक्रमणको विश्वव्यापी भत्र्सना भइरहेको छ, नेपाली जनताले पनि निन्दा गर्नेछन् भन्नुभयो ।
अक्टोबर समाजवादी क्रान्तिपछि सोभियत सङ्घले रुसको तीव्र विकास गरेको उल्लेख गर्दै चीन र प्रजग कोरिया, क्युवाको साम्राज्यवादविरोधी सङ्घर्षमा ऐक्यबद्धता जनाउँदै अघि बढ्नुपर्नेमा अध्यक्ष बिजुक्छेँले जोड दिनुभयो ।
उहाँले जनतामा लडाकु भावना भएसम्म जनताको समाजवादी आन्दोलन नहार्ने उल्लेख गर्दै पार्टी कार्यकर्ताहरू देश र जनताको तत्काल र दीर्घकालको हितमा समर्पित भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “पुस्तकालयमा बस्ने कर्मचारीहरू पुस्तक अध्ययन गर्न आउनेदेखि दिक्क मान्नुहुँदैन । आफूले पनि पुस्तक अध्ययन गरेर समाजको सेवा गर्नु जरुरी छ ।”
परिषद्ले पार्टीको ५२ औँ स्थापना दिवस माघ १० गतेको अवसरमा माघ महिनाभरि क्रान्तिकारी नेताहरूको जीवनी र कृति, संसारका मुख्य मुख्य मजदुर र कम्युनिस्ट आन्दोलन तथा पार्टी प्रकाशनहरूबारे अध्ययन एवम् अन्तरक्रिया गर्ने निर्णय ग¥यो ।
परिषद्मा फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि अध्यक्ष बिजुक्छेँको अध्यक्षतामा घोषणापत्र तयारी समिति र पार्टी सचिव प्रेम सुवालको संयोजकत्वमा केन्द्रीय चुनाव प्रचारप्रसार समिति गठन गर्ने निर्णय भयो ।
परिषद्मा पेस भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्तावहरूलाई अन्तिम रूप दिने जिम्मेवारी पार्टी केन्द्रीय सचिवालयलाई दिइएको छ ।
शनिबार पार्टी केन्द्रीय सदस्य, जिल्ला समिति र वर्गीय तथा पेसागत सङ्गठनको प्रतिवेदनहरू बैठकमा पेस गरिएका थिए ।