भक्तपुर, २१ पुस । सार्वभौम राष्ट्र भेनेजुयलामाथि आक्रमण र राष्ट्रपति दम्पत्तिलाई नियन्त्रणमा लिने संयुक्त राज्य अमेरिकाको कायरतापूर्ण एवम् बर्बरतापूर्ण सैनिक हमलाविरूद्ध नेपाल मजदुर किसान पार्टीले विरोध एवं भत्र्सना गरेको छ ।
बोलिभारियाली समाजवादी क्रान्तिका नायक ह्युगो चाभेजले राष्ट्रपति निर्वाचित भएपछि अमेरिकी पँुजीपतिहरूको भेनेजुयलाको तेल र त्यहाँको प्राकृतिक स्रोतमा गरिरहेको एकलौटी कब्जालाई अन्त्य गरेकोले अमेरिकाले पटक पटक आक्रमणको प्रयास गर्दै आएको हो ।
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नेमकिपा केन्द्रीय परिषद्को सन्देश र समसामयिक राजनैतिक विषयमा सोमबार भएको प्रशिक्षण तथा प्रवचन कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
उहाँले भेनेजुयलामा अमेरिकी साम्राज्यवादले गरेको आक्रमणबारे थाहा पाउन ‘भेनेजुयला ः हिजो र आज’ पुस्तक अध्ययन गर्नुका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे बुझ्न पार्टी प्रकाशनहरू अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
अमेरिकी साम्राज्यवादले संयुक्त राष्ट्र सङ्घको बडापत्रविपरीत भेनेजुयलामा आक्रमण गरेकोमा अमेरिकी जनताका साथै विश्वको न्यायप्रेमी जनताले विरोध एवं भत्र्सना गर्दै जुलुस गरिरहेको र चीन, ब्राजिल, रुस, प्रजग कोरियालगायतका देशहरूले तुरून्त राष्ट्रपति मादुरो र उहाँकी श्रीमतीलाई अविलम्ब छोड्नुपर्ने अन्यथा त्यसको असर भोग्न तयार हुनुपर्ने वक्तव्य दिएको उल्लेख गर्दै सचिव सुवालले आफ्नो स्वार्थ पूरा नभएपछि अमेरिकी साम्राज्यवादले मादुरोलाई लागूऔषध र आतङ्ककारीको आरोप लगाएको बताउनुभयो । हतियारको व्यापारी अमेरिकी साम्राज्यवादको कारण विश्वमा अशान्ति मच्चाउने काम भइरहेको पनि उहाँले बताउनुभयो ।
सचिव सुवालले नेपालकै प्रसङ्गमा भन्नुभयो, “मानव अधिकार आयोगले भदौ २३ र २४ को घटना सरकारले समयमा नै समस्या समाधान नगरेको र विभिन्न गतिविधिलाई बेवास्ता गरेको कारणले भएको रिपोर्ट दिएको थियो ।”
नेपाल मजदुर किसान पार्टी वाग्मती प्रदेश सदस्य जीपी लासिवाले अमेरिकी साम्राज्यवादको अहम् व्यापारिक स्वार्थको रक्षा गर्न सार्वभौम देश भेनेजुयलालाई नाकाबन्दीदेखि आक्रमण गरेको बताउँदै नेमकिपाले सधैँ साम्राज्यवादको विरोध गर्दै आएको हो भन्नुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका प्रतिनिधि गंगाराम ज्याख्वले विश्वका न्यायप्रेमी जनताले भेनेजुयलामाथि अमेरिकी साम्राज्यवादको आक्रमणको विरोध गर्ने बताउनुभयो ।
कार्यक्रममा नेमकिपा २ वडा समितिका रत्नकाजी नायोभारी, श्यामसुन्दर मातां र हरिराम सुवालले पनि अमेरिकी साम्राज्यवादको कायरतापूर्ण र बर्बरतापूर्ण आक्रमणको विरोध गर्नुभयो ।