मजदुरहरूको दुःख कष्टको कारक पुँजीवादी व्यवस्था


भक्तपुर, १८ वैशाख । नेपाल क्रान्तिकारी मजदुर सङ्घ जिल्ला समिति भक्तपुरको आयोजनामा १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार ¥याली तथा सभा भयो ।
उक्त सभामा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले भन्नुभयो, “मजदुरहरूले आफ्नो रोजगारी गुमेको विरोधमा मेसिनविरोधी लुडाइट आन्दोलन पनि गरे । अन्ततः मजदुरहरूले आफ्नो दुःख कष्टको कारक मेसिन होइन, पुँजीवादी व्यवस्था नै भएको बुझे । मजदुरहरूको राज्य पेरिस कम्युन गठन पनि भयो । यसैको प्रेरणामा अक्टोबर क्रान्ति भयो ।”

“पुँजीवादी व्यवस्थामा मन्त्रीहरू भ्रष्टाचारी हुन्छन्, फौजदारी अभियोग लागेकाहरूलाई सांसद बनाइन्छ, मुट्ठीभरका शोषकहरूको कब्जामा असङ्ख्य स्रोत र साधन हुन्छ, ख्वप विश्वविद्यालयको विधेयक पारित हुँदैन”, उहाँले भन्नुभयो ।
भारतीय विस्तारवाद र एकाधिकार पुँजीको विरोध नगर्ने, सार्वजनिक संस्थानहरू सस्तोमा बिक्री गर्ने, युवालाई वैदेशिक रोजगारीमा पठाएर देशलाई मरूभूमि बनाउनेहरू नयाँ वा पुरानो पार्टी या कम उमेर वा बढी उमेर भएको नेता भए पनि देश र जनताको हितमा हुनेछैन, सचिव सुवालले प्रस्ट पार्नुभयो ।
“प्रतिकृयावादी साहित्यले शोषणको विरोध गर्न नहुने र अर्को जन्ममा सुख पाउने आदि प्रचार गर्छ । यसको विरोधमा माक्र्सवादी साहित्य अध्ययन र सृजना गर्नु जरुरी छ । पुँजीवादको उत्थान, विकास र पतनको नियम माक्र्सवाद हो । माक्र्सवाद कार्यान्वयन हुन मजदुरहरूको सांस्कृतिक स्तर उच्च हुनु जरुरी छ । नेपाल मजदुर किसान पार्टी यही अभियानमा लागिरहेको छ ।”, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले कार्ल माक्र्स र एङ्गेल्सले सन् १८४८ मा रचेको कम्युनिस्ट पार्टीको घोषणापत्रमा पुँजीपतिवर्गले आफ्नो काल आफैले निम्त्याउने र क्रान्तिकारी सङ्गठन र सिद्धान्त निर्माण गरी शोषणविहीन समाज र समाजवाद स्थापनाको कुरा उल्लेख छ भन्नुभयो ।
समाज परिवर्तन अवश्यम्भावी छ भन्ने धारणा लिएर सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “मजदुरहरू संसारका निर्माता हुन्, देशको उन्नति, प्रगति र विकास मजदुर वर्गकै कारण भएको हो । जनताको मेहनत, पसिना र सीपले नै यहाँका दरबार र महल बनेका हुन् ।”
शारीरिक श्रम र बौद्धिक श्रम तथा गाउँ र नगरको भेद समाजवादी व्यवस्थामा हट्ने स्पष्ट पार्दै उहाँले भन्नुभयो, “देशमा समान वितरण समाजवादमा मात्र हुन्छ । योग्यताअनुसार काम र कामअनुसार ज्यालाको व्यवस्था हुन्छ ।”
राज्यले स्वदेशमै रोजगारी, स्वदेशमै अध्ययन र स्वदेशमै उपचारको व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उहाँले युवाहरू विदेसिएर देश परिवर्तन हुनेछैन भन्नुभयो ।
उहाँले भन्नुभयो, “युद्ध, हत्या, हिंसा पुँजीवादी व्यवस्थाको कारक हो । युक्रेनको काँधमा बन्दुक भिडाएर संरा अमेरिका रूसको विरोधमा युद्ध गर्दै छ । साम्राज्यवादी अमेरिकाबाट शान्ति सम्भव छैन । अमेरिकी आतङ्कको विरोधमा ल्याटिन अमेरिका, अफ्रिका र एसियाली देशहरू लागिरहेका छन् । अब पुँजीवादमा अलमलिने होइन, समाजवादको बाटो तयार गर्नुपर्छ ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले श्रमको सम्मान र उचित ज्यालाको निम्ति मजदुरहरूले आन्दोलन छेडेको प्रस्ट पार्दै श्रमको उचित मूल्याङ्कन गरी ज्याला दिने व्यवस्था नभएसम्म मजदुरको सम्मान नहुने बताउनुभयो ।
मजदुर आन्दोलन दबाउन मजदुर आन्दोलनमा उच्छृङ्खल तत्वले उपद्रव मच्चाउने अनेक षड्यन्त्र भएको चर्चा गर्दै उहाँले देशमै उत्पादन गरेर स्वावलम्बी बनाउनुुभन्दा विदेशमा पठाउने पुँजीवादी पार्टीको नीति हुने बताउनुभयो ।
उत्पादन बढाउनुभन्दा सस्तो ज्यामी विदेशमा पठाउने सरकारी कामले देश अधोगतितर्फ पुगेको उहाँले प्रकाश पानुृभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष गोविन्द दुवालले पुँजीवादी व्यवस्था अन्त्य गरी श्रमिक वर्गको शासन व्यवस्था ल्याउन सके बहुमत जनताको जीवन सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभयो ।
साम्राज्यवाद र विस्तारवादसामु नझुकी देश र जनताको पक्षमा नेमकिपाले राजनीति गरिरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “देशभक्तिपूर्ण आन्दोलन दबाउने पार्टी विदेशी दलाल हुन्छ । नेमकिपा सबैले पढ्ने, लेख्ने, खान पाउने व्यवस्था ल्याउन सङ्घर्षरत छ ।”
नेपाल क्रान्तिकारी मजदुर सङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष उपेन्द्र सुवालको सभापतित्वमा भएको सो सभामा डकर्मी सङ्घका विष्णुराम दुमरू, सिकर्मी सङ्घका पुण्यराम न्हुछे, अन्तर्राष्ट्रिय श्रमिक दिवस परिचालन समितिका संयोजक बिक्रम ढुकुछु, राजेश बोय्जुलगायतले बोल्नुभएको थियो ।
सभाका राजकुमार मानन्धर, श्रमिक कला सदन र बाराही अजिमा भजनको गीत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय गीत गाइएको थियो ।
सभाअघि दूधपाटीबाट सुरु भएको जुलुसले नगर परिक्रमा गरेको थियो । दूधपाटीमा रामसुन्दर सुवाल र रमेश दुमरुले पनि बोल्नुभएको थियो 

पार्टी गतिविधिहरु
समाचार