विभिन्न जिल्लामा विविध कार्यक्रमसहित १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस


बाँके, १८ वैशाख । १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल क्रान्तिकारी मजदुर सङ्घ, बाँके जिल्ला समितिले सोमबार प्रशिक्षण कार्यक्रम गरेको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले भारतीय एकाधिकार पुँजीको कारण नेपालको उद्योगधन्दाको विकास नभएको धारणा राख्नुभयो । उहाँले उदारीकरण तथा निजीकरणको नीति लिएर सार्वजनिक संस्थान तथा उद्योगहरू बन्द गराएर देशको अर्थतन्त्र ध्वस्त बनाएको उहाँको विचार थियो ।
केन्द्रीय सदस्य गोसाईले टे«ड युनियनको नेतृत्व गर्ने शासक पार्टीका नेताहरू नै श्रमिकको हकअधिकारको विरोधमा भएको भन्दै तिनीहरूले नै मजदुरमाथि शोषण गरिरहेको तर्क गर्नुभयो । उहाँले श्रम ऐनअनुसार विदेशीलाई काममा लगाउन नपाइने व्यवस्था भएर पनि भारतीयले नै नेपालको श्रम बजार कब्जा गरेको भनाइ राख्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले उद्योग तथा कारखानाहरूले विनाअनुमति विदेशीलाई काममा लगाएको भन्दै सरकारले निर्धारण गरेको न्यूनत्तम पारिश्रमिक पनि श्रमिकले नपाइरहेको बताउनुभयो ।

नेमकिपा, बाँके जिल्ला समितिका अध्यक्ष बखत थापाले नेपालका उद्योगधन्दा बन्द गराएर नेपालीलाई बेरोजगार बनाएको भन्दै मजदुरवर्गले राजनीतिक चेतना विकास नगरेसम्म समाजको आमूल परिवर्तन सम्भव छैन भन्नुभयो । उहाँले खुला सीमाको कारण भारतबाट खुलमखुला तस्करी भइरहेको भन्दै भारतीयले नेपाली बजारको कब्जा गरेको तर्क गर्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अध्यक्ष प्रकाश गुरुङले मे आन्दोलनलाई मजदुरहरूको वर्गीय मुक्ति अभियानको रूपमा आज पनि संसारभरकै मजदुरहरू स्मरण गरिरहेको भन्दै संसारका सम्पूर्ण तानाशाही, प्रतिक्रियावादी एवम् पुँजीवादी सरकारहरू मजदुरहरूको ८ घण्टाको कार्य दिनको माग पूरा गर्न बाध्य भएको इतिहास स्पष्ट पार्नुभयो ।
आयोजक समितिका अध्यक्ष खड्गराज थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घ, बाँकेका अध्यक्ष कोकिला शाही, आयोजक समितिका सदस्य जयबहादुर बुढा र आयोजक समितिका सदस्य जयप्रकाश चौधरीले मजदुर दिवसको अवसरमा शुभकामना दिनुभएको थियो ।
कालीकोटमा श्रमिक दिवस
कालीकोट । नेपाल मजदुर किसान पार्टी शुभकालिका गाउँपालिका गाउँ समितिको आयोजनामा १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले मे १ संसारका मजदुरहरूको उत्सव भएको बताउँदै मजदुर दिवस मनाउन थालिएको १३४ वर्ष हुँदा पनि मजदुरको समस्या जस्ताको तस्तै भएको बताउनुभयो ।
अहिले देशमा भएका कम्युनिस्ट नामका दलहरूले मजदुरको समस्याभन्दा मजदुर सङ्घलाई ट्रेड युनियनवादको रूपमा लिएको बताउनुभयो ।
कार्यक्रममा पार्टीका अर्का केन्द्रीय सदस्य नवराज कोइरालाले हरेक देशका कम्युनिस्ट पार्टीले मजदुर र किसानको समस्यालाई ध्यान दिएर कानुन बनाउने गर्दछन् तर नेपालमा आफूलाई कम्युनिस्ट पार्टी भन्न रुचाउनेहरू त्यसप्रति कुनै मतलब गर्दैनन् भन्नुभयो । उहाँले दलको नाममा जनतालाई भ्रममा पार्ने कार्य भइरहेको बताउनुभयो ।
कार्यक्रममा पार्टी जिल्ला समिति कालीकोटका अध्यक्ष खड्गराज शाही, सचिव धनञ्जय अधिकारी, नेपाल क्रान्तिकारी शिक्षक सङ्घका तुलाराम धिताल र महिला सङ्घका जयसरा रोकामगरले समेत बोल्नुभएको थियो ।
श्रम शोषणको विरोधमा मजदुर आन्दोलन
कैलाली । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति कैलालीको आयोजनामा १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसरमा तिलकपुरमा अध्ययन गोष्ठी भयो ।
उक्त कार्यक्रममा नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले पुँजीपतिवर्गले सोझासीधा काम गरी खाने जनताको श्रम शोषण गरेकै कारण मजदुर आन्दोलन चर्केको प्रस्ट पार्नुभयो ।
अमेरिकी पुँजीपतिले त्यहाँका सर्वहारावर्गमाथि गरेको श्रम शोषण र हेपाइको विरुद्धमा उठाएको आवाज आज विश्वका मजदुरहरूको आवाज बनेको छ, उहाँले भन्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ जिल्ला समिति कैलालीका अध्यक्ष गुप्तबहादुर शाहीले सामन्त, जमिनदार र पुँजीपतिवर्ग तथा समाजवादको भेदबारे प्रस्ट पार्नुभयो । उहाँले विश्वका प्रसिद्ध मजदुर आन्दोलनबारे प्रशिक्षण दिँदै बेलायत र अमेरिकामा पुँजीपतिवर्गले लिने नाफाबारे प्रस्ट पार्नुभयो ।
नेक्रामसङ्घका केन्द्रीय सहसचिव लक्ष्मी पुन, नेमकिपा कैलाली सचिव गगनकुमार थापा, नेमकिपा कैलाली सदस्य जानकीदेवी शाही, नेक्राशिसङ्घ कैलालीका कार्यवाहक सहसचिव तिलक सिजापतीले पनि बोल्नुभयो ।
त्यस्तै नेपाल क्रान्तिकारी महिला सङ्घ कैलालीको आयोजनामा आइतबार लम्कीचुहा नगरपालिका वडा नं ८ बचैलामा १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी कैलालीका अध्यक्ष रमेशकुमार रावलले मे १ अन्तर्राष्ट्रिय श्रमिकहरूको विजय दिवस भएको बताउनुभयो । सन् १८७०–१८९० सम्म मजदुरहरूले महत्वपूर्ण आन्दोलन गरेका कारण १८ घण्टाको कामको समय घटेको र मजदुरको ज्याला एउटा सुख्खा रोटी र एक प्याजको टुक्राबाट बढेको ऐतिहासिक दिन मे १ भएको बताउनुभयो । १ मे १८८६ बाट दिनको ८ घण्टा काम र ज्याला बढाउने माग राखी संरा अमेरिकाका मजदुरहरू देशव्यापी हडतालमा उत्रेको चर्चा गर्दै उहाँले मजदुरहरूको रगत र पसिनाले मोटाएका पुँजीपतिवर्ग मजदुर आन्दोलनको अगाडि घुँडा टेक्न बाध्य भएको बताउनुभयो ।
“सन् १८८९ मई १ मा फ्रान्सको राजधानी पेरिसमा विश्वका मजदुरको एक बृहत् भेलाले मजदुरको विजयको दिन भएकोले १ मेलाई अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने निधो गरेको हो,” उहाँले भन्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ कैलालीका अध्यक्ष एवम् सङ्घका केन्द्रीय सहसचिव लक्ष्मी पुनमगरको सभापतित्वमा भएको उक्त कार्यक्रममा उहाँले नेपाल मजदुर किसान पार्टीले निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्थाको लागि सङ्घर्ष गरिरहेको धारणा राख्नुभयो । उहाँले कामदार महिला–पुरुष राजनैतिकरूपले सचेत हुनुपर्छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ लम्कीचुहा र बचैला एकाइ समितिका अध्यक्ष प्रबे विष्टले किसानलाई मल, जल, बीउ र कृषिऔजार आवश्यक भएको बताउनुभयो । दीपा विष्टले स्वागत गर्नुभएको कार्यक्रममा मनिषा विष्टले पनि बोल्नुभएको थियो ।
सुर्खेतमा प्रवचन
सुर्खेत । १३४ आँै अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल क्रान्तिकारी मजदुर सङ्घ जिल्ला समिति सुर्खेतको आयोजनामा सोमबार प्रवचन कार्यक्रम वीरेन्द्रनगरमा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नर्मा गुरुङले हरेक परिवर्तन सङ्गठित शक्तिको विद्रोह र क्रान्तिबाट हुने भएकोले हरेक गाउँगाउँ, बस्तीबस्ती र ठाउँठाउँमा सङ्गठन विस्तार गर्नुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी सुर्खेतका नवाँै जिल्ला सम्मेलन तयारी समितिका संयोजक हरिबहादुर बोहोराले मजदुर क्रान्तिबाट सिक्दै नेपालमा आन्दोलन र क्रान्ति गर्नुपर्ने बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टी वीरेन्द्रनगर नगर समितिका अध्यक्ष शेरबहादुर शाहीले मजदुर आन्दोलनबाट प्राप्त उपलब्धि रक्षा गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका उपाध्यक्ष लालबहादुर थापा, नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य प्रेमकुमार थापा, कर्मचारी समाजका केन्द्रीय उपाध्यक्ष धनबहादुर रावत नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य बिजुकला राना नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घका सदस्य अङ्गबहादुर शाही, व्यवसायी समाज सुर्खेतका कोषाध्यक्ष हस्तबहादुर साँवद, नेक्रामजदुरसङ्घका सचिव मनबहादुर बिक र हिमबहादुर शाहीलगायतले बोल्नुभएको थियोे ।
कार्यक्रम नेपाल क्रान्तिकारी मजदुर सङ्घ सुर्खेतका अध्यक्ष अक्कल रानाको अध्यक्षतामा भएको थियो ।

पार्टी गतिविधिहरु
समाचार