समाज परिवर्तनको लागि नेमकिपा सङ्घर्षरत


कीर्तिपुर, १९ कार्तिक । नेपाल मजदुर किसान पार्टी काठमाडौँ निर्वाचन क्षेत्र नं. १० को पाँगा लाछीमा उम्मेदवारी परिचयसहित चुनावी सभा शनिबार सम्पन्न भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले निर्वाचन वर्गीय र वैचारिक सङ्घर्ष रहेको स्पष्ट पार्दै भन्नुभयो, “कुन पार्टी कुन वर्गमा र विचारमा रहेको भन्ने विषयमा जनतालाई सचेत पार्ने काममा नेमकिपा निरन्तर लागिरहेको छ ।”
माक्र्स, एङ्गेल्सको विचारधाराअनुसार अगाडि बढेको नेमकिपाले समाज परिवर्तनको लागि निरन्तर विचार प्रवाह गरिरहेको उहाँले बताउनुभयो ।
उहाँले निर्वाचन घोषणापत्रअनुसार काम नगरी शासक पार्टीहरूले जनतालाई धोखा दिइरहेको बताउनुभयो ।
केन्द्रीय सदस्य प्रजापतिले शासक पार्टीहरूले राष्ट्रघाती नागरिकता विधेयक ल्याएर देशलाई सिक्किमीकरण गर्न खोजेको हुँदा नेमकिपाले संसद् र सडकमा आवाज उठाएर सचेत गराइरहेको स्मरण गराउनुभयो ।
सत्ताको स्वार्थमा सिद्धान्त र विचारसँग बेमेल पार्टीले सिद्धान्तहीन गठबन्धन गरेर जनतामा फेरि अन्योल र भ्रम फैलाइरहेको हुनाले गलत राजनीति गर्नेलाई जनताले अब सजाय दिनुपर्छ, उहाँले भन्नुभयो ।
केन्द्रीय सदस्य प्रजापतिले भन्नुभयो, “यो संसद्को चुनाव हो । तर, शासक दलहरू स्थानीय चुनावको नारा लिएर आएको सुन्दा शासक दलहरूको बौद्धिकता थप प्रस्ट भएको छ ।”
जनताको पक्षमा नीति नियम बनाउन सङ्घर्ष गर्ने काम छोड्नु शासक दलहरूको बचपन प्रवृत्ति भएको उल्लेख गर्दै उहाँले नेमकिपाले स्थानीय तहमा निर्वाचित भएको भक्तपुर नगरपालिकाले जस्तै देशभर शिक्षा, स्वास्थ्य, फोहोर व्यवस्थापन, सम्पदा संरक्षणमा नमुना नगर बनाएर देखाउन चुनौती दिनुभयो ।
काठमाडौँ क्षेत्र नं. १० का प्रतिनिधिसभाका उम्मेदवार नारायण महर्जनले जनताको जीवनस्तर उकास्न संसद्मा पुगेर सङ्घर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार तथा निर्वाचन परिचालन समितिका संयोजक श्रीकृष्ण महर्जनले चुनावमा एक छाक भोज, एक ग्लास रक्सी र एक बोटल बियरको भरमा भोट दिने प्रवृत्तिलाई अन्त्य गर्न नसकेसम्म नेपाली जनता महँगी र विकृतिमा फसिरहने छन् भन्नुभयो ।
कार्यक्रममा प्रदेशसभाका उम्मेदवारहरू हरिकुमार महर्जन र कान्छा बाबु महर्जनले पनि बोल्नुभएको थियो ।
चुनावी सभाअघि नेमकिपा काठमाडौँ क्षेत्र नं. १० को निर्वाचन परिचालन कार्यालयको केन्द्रीय सदस्य प्रजापतिले उद्घाटन गर्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार