लालबन्दीका शिक्षकहरूसँग प्रमुख प्रजापति

08/24/2022

सर्लाही, ३ भदौ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीसित शुक्रबार भेट गर्नुभयो ।
सोही भेटको अवसरमा प्रमुख प्रजापतिले लालबन्दी नगरपालिकाका शिक्षकहरूको भेलामा भक्तपुर नगरपालिकाको शैक्षिक स्थितिबारे जानकारी गराउनुभयो ।
प्रमुख प्रजापतिले आजभन्दा ३ दशकअघि शिक्षामा पछि परेको भक्तपुर नेमकिपाका अध्यक्ष रोहितले आजभन्दा दुई दशकअघि १५ वर्षभित्र ‘एक घर एक स्नातक’ तयार गर्ने घोषणा गरेपछि भक्तपुर शिक्षामा आजको स्थितिमा पुगेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भनपाले वार्षिक ३ करोडभन्दा बढी छात्रवृत्ति, रू. ५ लाखसम्मको शैक्षिक ऋण, विभिन्न विषयहरूमा विद्यावारिधीसम्मको पूर्ण छात्रवृत्तिको व्यवस्था गर्दै आएको छ । भनपा ख्वप विश्वविद्यालय स्थापनाको लागि प्रयासरत छ ।”
राम्रा शिक्षकहरूले मात्रै राम्रा विद्यार्थीहरू तयार गर्नसक्ने धारणा राख्दै उहाँले नगरपालिकाले शैक्षिक गुणस्तरमा कसैसँग सम्झौता नगरेको प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुरमा सामुदायिक विद्यालयको गुणस्तर बढेसँगै विद्यार्थीहरूको आकर्षण पनि बढ्दै छ । सरकारले सामुदायिक शिक्षालाई नै जोड दिनुपर्छ । तर, सङ्घ सरकारले सामुदायिक शिक्षामा राम्ररी ध्यान दिन नसक्दा निजी विद्यालय र कलेजहरू फस्ताउँदै गएका छन् । शिक्षा क्षेत्र सेवाभन्दा व्यापारमा रूपान्तरण हुँदै जानु चिन्ताको विषय हो ।”
सो अवसरमा नगर प्रमुख प्रजापतिलाई लालबन्दी नपाका प्रमुख थापाले दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो भने प्रमुख प्रजापतिले भनपाका प्रकाशनहरू प्रमुख थापालाई प्रदान गर्नुभएको थियो ।