अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को नेतृत्वमा २०३१ साल माघ १० गते नेपाल मजदुर किसान पार्टी स्थापना भएको हो । पार्टीको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा भएको हो । आजको यो आठौँ महाधिवेशन सफल पार्न जिल्ला जिल्लाबाट आउनु भएका मजदुर, किसान, युवा, विद्यार्थी, बुद्धिजीवी, शिक्षक, कर्मचारी, प्राध्यापक, पत्रकार सबैलाई नेपाल मजदुर किसान पार्टीको तर्फबाट हार्दिक स्वागत गर्न चाहछौँ ।
माक्र्स र एङ्गेल्सको शिक्षाअनुसार पार्टीले देश र जनताको निःस्वार्थरूपले सेवा गर्दै आएको छ । यो आठौँ महाधिवेशन पनि कामदारवर्गको एउटा राजनीतिक कक्षाको रूपमा सम्पन्न गर्ने हाम्रो प्रयास हो । पार्टीले संसारका सबै क्रान्तिबाट सिक्ने र समाजवादी आचरणलाई व्यवहारमा लागु गर्नेतर्फ जोड दिइरहेको छ । कामदारवर्गलाई राजनीतिकरूपले शिक्षित, सचेत र सङ्गठित बनाउन पार्टीका हाम्रा प्रकाशनहरूको महत्वपूर्ण योगदान रहेको छ ।
विदेशी पुँजीको सेवा गर्ने सामन्त वर्गको पार्टीले बरोबर सरकारमा गएर समाजवादको नारा दिई देश र जनतालाई धोका दिइरहेको ७० वर्ष नाघ्यो । सरकारमा बरोबर पुगेको उद्योग र प्राकृतिक स्रोत व्यक्ति र विदेशीलाई कौडीको मोलमा बेच्नेहरू कम्युनिस्ट दाबी गरी जनतालाई धोका दिइरहेको पनि ३५ वर्ष पुग्यो ।
सशस्त्र द्वन्द्वको नाममा भारतीय एकाधिकार पुँजीको ‘श्याम कर्ण घोडा’ (ट्रोजन हर्स) बनेकाहरू कसरी कम्युनिस्ट हुन सक्लान ? उनीहरू कम्युनिस्ट होइनन्, अराजकतावादी हुन् ।
जाती, भाषा, धर्मको आडमा गरिब जनतालाई शासन गर्ने र फासीवादसँग आत्मसमर्पण गर्ने संसद्वादी दलहरूसँग नेपाल मजदुर किसान पार्टीको सङ्घर्ष चालु छ । चुनावमा मजदुर, किसान र कामदारवर्गको मत लिएर विदेशी पुँजीको सेवा गर्नेहरूले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने दाबी गरेको बालुवाको घरजस्तै हो, झूटो हो । नेपाली जनतालाई २६ खर्ब बढी सार्वजनिक ऋण बोकाएर सडक र पुल निर्माण गरेको दाबी गर्नु र विद्युत् तथा टेलिफोन विस्तार गरेको दाबी गर्दै सरकारहरू आफ्नो खुट्टाले नहिँडी विदेशीको लौरो टेकी हिँड्नुजस्तै हो, परनिर्भर हुनु हो । यो समृद्ध नेपाल होइन । सरकारको यो झूटो नाराको पछि लाग्नु नेपाली जनताको लागि आफ्नो खुट्टामा आफै बन्चरो हान्नुजस्तै हो ।
संसदवादी दलहरू कहिले एक्लै र कहिले संयुक्त भएर सरकारमा छन् तर आजसम्मका प्रधानमन्त्रीहरूले विदेशी पुँजीको सेवा गर्नेबाहेक देश र जनताको हितमा एउटा राम्रो काम गरेका छैनन् । विपिन जोशीलगायतलाई युद्धभूमि इजरायलमा सिक्ने र काम गर्ने भनी मर्न पठाउने प्रम र मन्त्रीहरू कसरी जनताका सेवक हुन सक्छन् ?
सरकारमा गएर जन्मको आधारमा विदेशीलाई समेत नेपाली नागरिकता दिन समृद्ध नेपाल कसरी बनाउन सक्लान् ? अमेरिकी नीति र कानुन पालना गर्नुपर्ने एमसीसी सम्झौता पारित गर्नु देशघाती गर्ने संसद्वादी दलहरू हुन् । अनुदानको नाममा सरकारका नेताहरूले विष खानु हो । भक्तपुर नगरपालिकालाई पूर्वाधार भएको ख्वप विश्वविद्यालय सञ्चालन गर्न सरकारले अनुमति दिएन । यसकारण पनि भारतको उडिसामा अध्ययन गर्न पठाइएका नेपाली चेलीको मृत्युको मुखमा परेका हुन् ।
करोडौँ नेपाली युवालाई वैदेसिक रोजगारीमा पठाएर नेपालको खेतीयोग्य जग्गा बाँझो राखी दाल, चामल, तरकारी र फलपूmल भारतसँग महँगोमा किन्ने सरकारलाई देशघाती किन नभन्ने ? नेपालका नदीनाला भारतीय एकाधिकार पुँजीलाई दिने सरकारहरूलाई देशद्रोही र जनद्रोही किन नभन्ने ? ३५ वर्षयताका अधिकांश सरकारहरूमा कानुनीराज कमजोर भयो, अराजकता र गुण्डाराज बढ्यो ।
अमेरिकी साम्राज्यवादले युक्रेनको दुर्लभ खनिज कब्जा गर्दै छ भने त्यहाँको उर्वर लाखौँ हेक्टर कृषि भूमि पनि खरिदको नाममा कब्जा गर्दै छ ।
अमेरिकी साम्राज्यवादले प्यालेस्टिनीहरूलाई उठिवास गराई त्यहाँको तेल, ग्यास खानी र जमिनमुनिको पानी भण्डारण कब्जा गर्दै छ । हामीले संसारमा भइरहेका यस्ता अन्यायको विरोध गर्दै आएका छौँ ।
नेपाल मजदुर किसान पार्टीले देशघाती एमसीसी सम्झौता खारेज गराउन देशका ४० भन्दा बढी जिल्लाका १०० भन्दा बढी ठाउँमा विरोध प्रदर्शन ग¥यो । इजरायली फासीवादले प्यालेस्टिनी जनताको नरसंहार गरी भूमि कब्जा गरेको र युक्रेनमा रूसविरूद्ध अमेरिकी साम्राज्यवादको छद्म युद्धको विरोधमा जिल्ला जिल्लामा जनप्रदर्शन र सभा ग¥यो । संसारमा भइरहेको अन्यायको विरोध गर्नु हाम्रो पार्टीको अन्तर्राष्ट्रिय कर्तव्य हो ।
काठमाडौं उपत्यका ‘प्रदूषणको राजधानी’ पनि भइरहेको छ । सरकारहरूले जिल्ला–जिल्लाका स्थानीय पालिकाहरूमा पूर्वाधार विकास गरी सहर नबनाउँदा यो परिणाम निस्केको हो । प्रधानमन्त्री र मन्त्रीहरू आ–आफ्नो जन्मथलोलाई विकास नगरी सङ्घ र प्रदेश राजधानीमा बसाइँ सरेको हुँदा देशको सन्तुलित विकास नभएको हो ।
शोषण, असमानता, हिंसा, युद्धको कारक साम्राज्यवाद हो । हामीले साम्राज्यवादीहरूले संसारका कामदार वर्गविरूद्ध थोपेको युद्धलाई हामीले सधैँ निन्दा र विरोध गर्दै आएका छौँ ।
यो महाधिवेशन सफल पार्न सहयोग गर्नुहुने र सहभागी हुने सबैलाई पार्टीको तर्फबाट धन्यवाद दिन चाहन्छु र सम्पूर्णलाई पुनः स्वागत गर्न चाहन्छु ।
(नेपाल मजदुर किसान पार्टीका सचिव पे्रम सुवालले फागुन १६ गते भएको पार्टीको आठौँ महाधिवेशन उद्घाटन समारोहमा राख्नुभएको स्वागत मन्तव्यको सार – सं.)