देशघाती नागरिकता विधेयक प्रमाणीकरणको नेमकिपाद्वारा भत्र्सना


भक्तपुर, १८ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा बसेको पार्टी केन्द्रीय सचिवालयको जेठ १७ गतेको बैठकले देशघाती नागरिकता विधेयकको प्रमाणीकरण र नेपालको लुम्बिनी र कपिलवस्तु गाभेर तयार गरिएको भारतको नक्साको विरोध एवम् भत्र्सना गरी पे्रस वक्तव्य प्रकाशित गर्ने निर्णय ग¥यो । सो पे्रस वक्तव्य यसप्रकार छ –
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ लाई संसद्को अनुमतिबिना वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेको संसद्को सर्वोच्चता र संसदीय परम्पराविपरीत हो । गत मङ्सिर ४ को संसदीय निर्वाचनपछि गठन भएको माओवादी केन्द्रका प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रिपरिषद्ले २०८० जेठ १२ गते संसद छलेर सो विधेयक प्रमाणीकरणको लागि वर्तमान राष्ट्रपतिसमक्ष अनुरोध गरेको अनाधिकार र प्रजातन्त्रविपरीत हो । अघिल्लो राष्ट्रपतिबाट अस्वीकार भएको विधेयकलाई संसद्को अनुमतिविना पछिल्लो राष्ट्रपतिबाट प्रमाणीकरण हुँदैमा त्यसलाई वैध मान्न सकिँदैन ।
२०७२ असोज ३ अघि जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेका विदेशीका सन्तानले र विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट जन्मिएका विदेशी व्यक्तिले समेत वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने विधेयकको प्रावधान नेपालीको हितमा छैन ।
राष्ट्रपति पौडेलबाट भएको नागरिकता विधेयक प्रमाणीकरण अविलम्ब खारेज हुनु जरुरी छ । नेपाल मजदुर किसान पार्टी नागरिकता विधेयकमा भएको प्रमाणीकरणको विरोध एवम् भत्सर्ना गर्दछ ।
भारतीय विस्तारवादले नेपालको लुम्बिनी र कपिलवस्तुसमेत गाभेर तयार गरेको र यही जेठ १४ गते भारतको संसद् भवनमा राखेको नक्सा नेपालको सार्वभौमिकता र भूअखण्डतामाथि भारतीय विस्तारवादको हस्तक्षेप हो । भारतीय विस्तारवादको यो हस्तक्षेपलाई नेपाल मजदुर किसान पार्टी विरोध एवम् भत्र्सना गर्दछ ।
नेका, माओवादीसमेतको समर्थनमा बनेको पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारले भारतको यो नयाँ नक्सा खारेज गर्न गराउन जरुरी छ । यो नक्सा खारेज नभएसम्म देशभक्त नेपाली जनताले भारतीय विस्तारवादविरुद्ध सङ्घर्ष चालू राख्नेछन् ।

पार्टी गतिविधिहरु
समाचार