फागुन १६ गते नेपाल प्राध्यापक समाजको आयोजनामा भएको समसामयिक विषयमा ‘प्राध्यापकहरूमाझ का. रोहित’ विषयक कार्यक्रममा जुम लिङ्कको माध्यमबाट सरिक हुने अवसर पाएकोमा मलाई खुसी लागेको छ । उक्त कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीति एवं वस्तुस्थितिबारे राम्रो जानकारी राख्नुहुने नेमकिपाका श्रद्धेय अध्यक्ष रोहितबाट वर्तमान अवस्थामा अन्तर्राष्ट्रिय क्षेत्रमा खासगरी युक्रेन, प्यालेस्टिन, भेनेजुयला, इरान, संयुक्त राष्ट्र सङ्घ आदिप्रति संयुक्त राज्य अमेरिकाले अवलम्बन गरेको नीति एवं व्यवहारबाट विश्व राजनीति, शान्ति, सुव्यवस्था नराम्रोसँग तरङ्गित भएको विषयवस्तुबारे राम्रो जानकारी पाउने अवसर प्राप्त भयो । माथि उल्लेखित देश र जनताले भोग्नुपरेका विकराल समस्याहरू एवं संयुक्त राष्ट्र सङ्घलाई लाचार पारेको अवस्था पक्कै पनि विश्व शान्ति एवं मानव विकासका लागि उचित होइन । यस्ता घटनाक्रमबाट हाम्रो देश र नेपालीहरू पनि प्रभावित नहोला भन्न सकिन्न ।
हाल हाम्रो मुलुकमा हजारौँ एनजीओ तथा आईएनजीओहरू कार्यरत छन् । तिनीहरूले सहयोग, मानव अधिकार, विकास सामाजिक सेवा आदिका नाममा नेपाली जनतालाई भ्रमित पार्दै हाम्रो देशको अवस्था आफ्नो अनुकूल पार्दै छन् । उनीहरूले हाम्रो समाजमा आफ्नो घर जलाएर उज्यालो र न्यायो भयो भन्नेहरूको जमात वृद्धि गर्दै छन् । देश प्रेम, स्वावलम्बी र आत्मनिर्भरता हाम्रो समाजबाट टाढिँदै गएको छ । आधुनिकीकरणको नाममा पाश्चात्य संस्कार र संस्कृतिले प्रसय पाउँदै छ । सांस्कृतिक रूपमा हाम्रो समाजलाई उनीहरूले आफ्नो उपनिवेश बनाउँदै छन् । देश सञ्चालन गर्नेहरूले पञ्चशीलको सिद्धान्तको महŒवलाई बिर्सन थालेका छन् । हरेक मामलामा विदेशी चलखेल बढ्दो छ । विगतको इतिहासलाई सम्झिन पुग्दा कुनै समय मिरजाफर, काजी लेण्डुप डोर्जेहरू विदेशी बुइँ चढेर हुरुक्कै भएका थिए । तर, उनीहरूको उपयोगिता सकिएपछि तिनीहरूको हैसियत भुसुना सरह पनि भएन । अर्थात्, उनीहरूलाई युज एन्ड थ्रो (ग्कभ बलम तजचयध) गरियो । विगतका घटनाबाट पाठ सिक्न र विगतका गल्तीहरू नदोहो¥याउन भनी इतिहास पढ्ने गरिन्छ । क्षणिक आफ्नो स्वार्थ लोभलालचको लागि देश र जनताप्रति गद्दारी गर्नेलाई सदैव घृणा नै गरिन्छ । यो तथ्य हामीले बुझ्नुपर्ने हो ।
फागुन २१ गते हाम्रो मुलुकमा प्रतिनिधिसभाका लागि निर्वाचन हुँदै छ । निर्वाचनमा यहाँ थुप्रै मिरजाफर र लेण्डुप डोर्जेका छायाहरू देखिन थालेका छन् । सच्चा देशभक्त, स्वाभिमानी, गरिब तथा निमुखा गरिखाने जनताका हितैषी, स्वाधीनता, सार्वभौमसत्ता तथा आत्मनिर्भर अर्थतन्त्रमा विश्वास राख्ने र त्यसको लागि सदैव क्रियाशील रहँदै आएका जनताका सच्चा सेवकहरू पनि गर्वसाथ निर्वाचनमा सहभागी हुँदै छन् । एकपटक एउटा जङ्गलमा आगलागी हुँदा पानीको एक सानो थोपा लिएर आगो निभाउन दौडेका एउटा कमिलालाई देखेर उसलाई खिसीटुरी गर्ने विशाल काम भएका हात्ती, बाघ र भालुको कथा सुनेको थिएँ । ठीक त्यस्तै घटना हाम्रो सबैले आगो निभाउने प्रयास गर्ने कि बाघ भालु हात्तीजस्तै रमिते भएर बस्ने भन्ने प्रश्न टड्कारो रूपमा हाम्रो सामु तेर्सिएको छ । हेक्का रहोस्, जङ्गलमा आगलागी हुँदा कमिला त क्षणभरमै मर्छ, खरानी हुन्छ । तर, आफूलाई ठुला र शक्तिशाली ठान्ने हात्ती, बाघ र भालु निकै बेर तडपेर जल्छन् र मर्छन् । आगोले कसैलाई बाँकी राख्दैन । विनलादेन र सद्दाम हुसेनहरूलाई पहिले अमेरिकाले खुबै समर्थन गरेका थिए । तर, पछि अमेरिकाको लागि उनीहरू अनुपयुक्त भएपछि उनीहरूको हत्या गरियो । यो घटनाको हेक्का रहोस् ।
हामी आफूलाई बुद्धिजीवी ठान्छौँ भने अब हामीले आफ्नो बुद्धि, ज्ञान, क्षमता, सीप कसका लागि उपयोग गर्ने ? देशघातीहरूको हितका लागि कि देश र जनताका सच्चा सेवकको लागि ? यो प्रश्नको उत्तरका लागि हामी गम्भीर हुनैपर्छ । गद्दारी गरेर जोडेको भौतिक सम्पत्ति नाशवान छ तर देशप्रेम जनताको सेवा इमानदारी र नैतिकता सदा रहन्छ† अमर हुन्छ । अब हामी आउँदो निर्वाचनमा देशघातीहरूको फकाइफुलाइ र हो–हल्लामा लाग्ने कि अथवा देश र जनताका सच्चा सेवकलाई सम्मान गर्दै उनीहरूको पछि लाग्ने ? मीरजाफर र लेण्डुप डोर्जेहरूको पक्षमा उभिने कि ? देशभक्त गरिखाने जनताको पक्षमा लाग्ने ? अब हामी बुद्धिजीवीहरूले के गर्ने ? हामीले अब कित्ताकाट गर्नैपर्दछ । क्षणिक लोभलालच स्वार्थमा भुलेर निर्वाचनमा हामी देशघातीहरूलाई साथ दियौँ भने हामी र हाम्रो देशले युक्रेनको अवस्था भोग्न बेर लाग्दैन । त्यसैले, आउँदो निर्वाचनमा सच्चा देशभक्तहरू चिनेर समर्थन गर्नुमा नै हाम्रो बुद्धिमानी हुनेछ । त्यसैको लागि उपयुक्त भूमिका निर्वाह गरेमा देश जोगिनेछ । यो कार्यक्रमबाट मैले यही नै ज्ञान पाएको अनुभव गरेँ ।
वि.सं. २०३७ सालमा सुधारिएको पञ्चायत व्यवस्था अथवा बहुदलीय व्यवस्था ढाल्नको लागि जनमतसङ्ग्रह गरिएको थियो । जसमा बहुदलीय व्यवस्थाको पक्षमा २० लाख र केही सङ्ख्यामा भोट प्राप्त भएको र सुधारिएको पञ्चायत व्यवस्थाको पक्षमा २४ लाख र केही मत परेकोले सुधारिएको पञ्चायती व्यवस्था पक्षधर नै विजय भएको घोषणा गरियो । त्यसलाई सामान्यतः सबैले स्वीकारे । उक्त जनमतसङ्ग्रहमा यस्तोखाले परिणाम ल्याउनमा वा आउनमा सैनिकको केही भूमिका रहेको तथ्य थाहा पाउने मौका पाएको थिएँ । जेन–जी आन्दोलनको नाममा सिंहदरबार जलिरहँदा त्यहाँभित्र बसेका सेनाको भूमिकाबारे पनि उहाँले अगाडि प्रस्ट पार्नुभएको थियो ।
अन्तमा, यस्ता जल्दाबल्दा विषयमा यस किसिमको कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वस्तुस्थितिबारे स्पष्ट र सही जानकारी पाउने अवसर भविष्यमा पनि प्राप्त भइरहोस् । हामी बुद्धिजीवीहरूले आफ्नो बौद्धिक क्षमता सत्यतथ्यपरक, देश र गरिखाने जनताको पक्षमा सदुपयोग गर्ने मौका मिलिरहोस् । नेपाल प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाई र विभिन्न प्रश्नहरू एवम् जिज्ञासा राखी कार्यक्रमलाई अझ रोचक र सफल पार्नमा सघाउने सहभागी प्राध्यापकहरूलाई हार्दिक नमन एवम् आभार व्यक्त गर्दछु ।