सरजमिन गराई विदेशीलाई जन्मको आधारमा नेपाली नागरिकता दिइएको खारेज हुनुपर्ने


काठमाडौँ, ८ असार । नेपालीलाई नेपाली नागरिकता दिनुपर्छ तर विदेशीलाई दिनु हुँदैन । २०६३ सालयता सरजमिन गराई विदेशीलाई जन्मको आधारमा दिइएको नेपाली नागरिकता खारेज गर्नुपर्छ । जन्मको आधारमा नेपाली भएका विदेशीका छोरा छोरीहरूलाई वंशजको आधारमा नेपाली नागरिकता दिनु देशको हितमा छैन । यो नेपाललाई सिक्किमजस्तै बनाउने र शासकहरू लेण्डुपजस्तै हुने बाटो हो । यो देशद्रोही बाटोबाट सरकार पछि हट्नु जरूरी छ ।
अघिल्लो राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको नागरिकता विधेयकलाई निर्वाचनपछि गठन भएको सरकारले नयाँ संसद्लाई छलेर मन्त्रिपरिषदबाट पारित गराई नयाँ राष्ट्रपतिलाई प्रमाणीकरण गराउन अनुरोध गर्ने संवैधानिक र कानुनी व्यवस्था छैन । प्रधानमन्त्रीको अनुरोध फिर्ता हुनु जरूरी छ र संसद्मा नागरिकता विधेयक ल्याउनु जरूरी छ ।
वंशजको आधारमा नेपाली नागरिकता पाउन आमा र बुबा दुवै वंशजको आधारमा नेपाली नागरिक हुनुपर्ने कानुनी व्यवस्था जरूरी छ । गैरआवासीय नेपालीको अर्थ नेपालको नागरिकता त्यागेर विदेशी नागरिकता लिएकाहरू हुन् । नेपालको भूराजनीतिअनुसार गैरआवासीय नेपालीलाई नेपाली नागरिकता दिने व्यवस्था तत्काललाई स्थगित गर्नु जरूरी छ ।
नेपालभित्रै स्वच्छ र भयरहित निर्वाचन भइरहेको छैन । अहिले सामान र पैसा बाँड्ने, भोज भतेर खुवाउने, बुथ कब्जा गर्ने, सुरक्षाकर्मी र प्रशासन हातमा लिने पार्टीका उम्मेदवारहरू धेरै जितिरहेको अवस्था छ । नेपालमा स्वच्छ र भयरहित निर्वाचनको व्यवस्था नभएको वर्तमान अवस्थामा विदेशमा बसेका नेपालीलाई मतदान गराउने सरकारी तयारी तत्काललाई जरूरी छैन ।
राजनैतिक पार्टी दर्शन र वर्गको आधारमा स्थापना र सञ्चालन हुन्छ । नेपालमा मजदुर, किसान र कामदार वर्गको हितमा स्थापना भएको राजनीतिक पार्टी जरूरी छ । राणा शासन, पञ्चायत र पुँजीवादी प्रजातन्त्र एवम् गणतन्त्रको नाममा निरङ्कुश र प्रजातन्त्रविपरीतको सरकार चलाउने फासीवादी पार्टीहरूको औचित्य नेपालमा छैन ।
विद्यालय कर्मचारी र अतिरिक्त हुलाकका कर्मचारीहरूको जेन्युइन माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।
(२०८० असार ८ गते नेपाल मजदुर किसान पार्टीका सांसद पे्रम सुवालले प्रतिनिधिसभाको आकस्मिक समयमा राख्नुभएको मन्तव्यको सार – सं.)

पार्टी गतिविधिहरु
समाचार