बजेट बहुमतबाट पारित नेमकिपाको मत विपक्षमा


काठमाडौँ, १३ असार । प्रतिनिधिसभाको बहुमतबाट विनियोजन विधेयक २०८० पारित गरियो । अर्थात् आगामी आर्थिक वर्षको लागि कुल खर्च रू. १७ खर्ब ५१ अर्ब ३१ करोड विनियोजन गरिएको हो । एमालेले मत विभाजनको माग ग¥यो । मत विभाजनमा नेपाल मजदुर किसान पार्टीले बजेटको विपक्षमा मत दियो । विपक्षमा कुल मत १०८ र पक्षमा १४७ मत परेको थियो । विपक्षमा एमाले, राप्रपा, रास्वपाले पनि मत दिएका थिए । पक्षमा नेका, माओवादी, जसपा, एस, जनमत, नाउपा, लोसपा, स्वतन्त्र सांसद अमरेशकुमार सिंह र प्रभु साहको मत परेको थियो ।
विनियोजन विधेयकमा छलफल हुँदा नेका, माओवादी, एस, जसपाका सांसदहरूले समेत बजेट प्रम दाहाल, अर्थमन्त्री महत, नेका सभापति देउवाको जिल्लामा धेरै बजेट राखिएको भनी विरोध गरेका थिए । मत विभाजनअघि प्रम दाहालले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई मनाएका थिए । केही दिनअघि नै प्रम दाहालले एसका माधव नेपाललाई मनाएका थिए ।
प्रधानमन्त्री दाहाल र अर्थमन्त्री महतले सत्ता सहयोगी दलहरूको सिफारिसमा केही बजेट आन्तरिकरूपमै मिलाईदिने वाचा गरेको समाचार छ । यसअघि बजेटकै कारण प्रम दाहालको सरकार असफल हुने र नेका र एमालेको सरकार गठन हुने चर्चा चलाइएको थियो । मतदानको बेला र बोल्नै पर्ने भए मात्र एमालेका ओली, नेकाका देउवा र प्रम दाहाल संसद्मा उपस्थिति हुने भएकोमा जनताको विरोध भइरहेको छ ।
प्रतिनिधिसभामा कर प्रस्तावसम्बन्धी आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमा छलफल सुरु भयो । प्रतिनिधिसभाबाट पारित विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभाबाट पनि पारित हुनु जरुरी छ । बजेटमा राष्ट्र ऋण रु. २ खर्ब ५० अर्ब र बाह्य ऋण २ खर्ब १२ अर्ब ७५ करोड उठाउने लक्ष्य राखिएको छ ।
सांसद सुवालले जोत्ने किसानलाई जग्गा वितरण हुनुपर्ने, निजी कम्पनीको नाममा हदबन्दीभन्दा बढी जग्गा राख्न पाउने कानुन खारेज गर्नुपर्ने, किसानलाई मल, बीउ, औजार, सिँचाइको व्यवस्था हुनुपर्ने, विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क हुनुपर्ने, युवालाई स्वदेशमा रोजगारीको बन्दोबस्त हुनुपर्ने, स्वास्थ्य उपचार निःशुल्क हुनुपर्ने विषय उठाउनुभएको थियो । यी कुनै पनि विषयबारे बजेटमा सम्बोधन नभएको हुँदा उहाँले बजेटको विपक्षमा मत दिनुभयो ।
राष्ट्र ऋण उठाउने विधेयकमा सैद्धान्तिक छलफलपछि निर्णयार्थ पेश हुँदा गणपूरक सङ्ख्या ६७ मात्र भयो र बैठक १० मिनेटको लागि स्थगित गरी राति ८ बजे गणपूरक सङ्ख्या ७३ पु¥याई बहुमतबाट पारित गरियो । अर्को बैठक असार १७ गते बिहान ११ बजे बस्नेछ ।

पार्टी गतिविधिहरु
समाचार