सिद्धान्तहीन निर्वाचन गठबन्धनको सरकारबाट देशको हित नहुने
बर्दिया, ६ भदौ । “नेपाल मजदुर किसान पार्टीले संविधानमा माध्यमिक शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क हुने प्रावधान राख्न संशोधन राखेको थियो । शासक दलहरूले उक्त प्रस्ताव अस्वीकार गरे । यसकारण, शासक दलका नेताहरू जनताका सेवक होइनन् ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले नेमकिपा बर्दियाको आयोजनामा बुधबार भएको कार्यकर्ता भेलामा राख्नुभएको हो ।
उहाँले भन्नुभयो, “सिद्धान्तहीन निर्वाचन गठबन्धन गर्ने र निर्वाचनमा भोजभतेर खुवाउने, सामान र पैसा बाँड्ने शासक पार्टीहरूको सरकारले देशको हित गर्दैन ।”
“पुँजीवादी व्यवस्थाले नयाँ नयाँ पार्टी गठन गराएर पुराना पार्टीहरूलाई विस्थापन गराउँछ† यसलाई ‘थाकेको घोडा फेर्ने’ पनि भनिन्छ । यो ‘नयाँ शीशीमा पुरानै रक्सी’ भनेजस्तै हो । त्यस्ता पुँजीवादी पार्टीहरूबाट देश र जनताको हित हुँदैन”, सचिव सुवालले स्पष्ट पार्नुभयो ।
“एमालेले नेकासँग मिलेर महाकाली नदी भारतलाई दियो भने माओवादीले भारतकै समर्थनमा गृहयुद्धको नाममा अराजकता मच्चाएको थियो । कम्युनिस्ट नामका एमाले र माओवादी भाइ काङ्ग्रेस नै हुन्”, उहाँले भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “माओवादी गृहयुद्धको बेला भारतले बनाएको स्ट्रीप (सीमा) नक्सामा नेपालीले भोगचलन गरी आएको र नेपालीसँग धनी पुर्जा भएको धेरै जग्गा भारततर्फ पर्ने गरी बनायो । यसकारण, उक्त स्ट्रीप नक्सा खारेज गरी नेपाली भूमि नेपाललाई पर्ने गरी नयाँ स्ट्रीप नक्सा बनाउनु जरूरी छ ।”
उहाँले भन्नुभयो, “राजनीति देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने मूल नीति हो । राजनीतिमा राम्रा मानिस नगए खराब मानिसहरू सिंहदरबार र संसद् कब्जा गर्न पुग्छन् । अहिले सिंहदरबार भ्रष्टाचारको अखडा भएको समाचार प्रकाशित भइरहेको छ । आर्थिक माफिया र धेरै सम्पत्ति भएकाहरू निर्वाचनमा उम्मेदवार हुन नपाउने कानुन बनाउनु आवश्यक छ ।”
“पुँजीवादले २–३ सय वर्षमा गरेको विकास समाजवादमा ३०–४० वर्षमा प्राप्त हुने उदाहरण रूस, चीन, क्युवा र प्रजग कोरिया हो । राज्यको स्वामित्वमा उत्पादन र वितरण नगरी व्यक्तिलाई ठूलठूलो उद्योग र व्यापार गराइएको हुँदा सुन तस्करी, नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने, ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्तालगायत काण्ड भएको हो”, उहाँले भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “प्रतिक्रियावादीहरूले देशभित्र र भारत प्रवासमा पनि नेमकिपाविरूद्ध षड्यन्त्र गरेका थिए । यही षड्यन्त्रको सिलसिलामा भारत प्रवासमा पार्टी अध्यक्षविरूद्ध गोली प्रहार र नेपालमा भक्तपुर काण्डको षड्यन्त्र रचेर पार्टी अध्यक्षलगायत ६७ जना नेता–कार्यकर्ताविरूद्ध झूठा ज्यान मुद्दा लगाइएको थियो । प्रतिक्रियावादीहरूको यी षड्यन्त्रको विरोध एवम् भत्र्सना जारी राख्नु आवश्यक छ ।”
भेलामा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाई, नेमकिपा लुम्बिनी प्रदेश संयोजक हरिसुन्दर बासी, नेमकिपा कैलाली अध्यक्ष रमेशकुमार रावल र नेमकिपा बर्दियाका अध्यक्ष हरिलाल न्यौपानेले पनि बोल्नुभएको थियो ।