भक्तपुर काण्डको सिँहावलोकन निरन्तर गरिरहनु आवश्यक
काठमाडौँ, १० भदौ । नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिको आयोजनामा भक्तपुर काण्डको विरोध एवम् भत्र्सना कार्यक्रम शनिबार राजधानीमा भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेश सदस्य सुरेन्द्रराज गोसाईले भदौ ९ गते पञ्चायती निरङ्कुश व्यवस्थाले षड्यन्त्रपूर्वक रचेको भक्तपुर काण्डको निन्दा गर्दै त्यस्ता षड्यन्त्रको निरन्तर सिँहावलोकन गरिरहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपाले देश र जनताको हितमा विभिन्न आन्दोलन गरिरहेको स्मरण गर्दै उहाँले जनमतसङ्ग्रहको बेला बहुदलको पक्षमा व्यापक प्रचार गरी पञ्चायती व्यवस्था उदाङ्ग्याएको, सुस्ता अतिक्रमणको विरोध र अमेरिकी साम्राज्यवादले भियतनाममाथि गरेको युद्धको विरोधमा सङ्घर्ष गरेको कारणले पञ्चायती शासकहरूले नेमकिपालाई समूल नष्ट पार्न भक्तपुर काण्ड रचेको हो भन्नुभयो ।
उहाँले पञ्चायती व्यवस्था अन्त भए पनि षड्यन्त्रकारीहरू बाँकी रहेकाले फेरि त्यस्ता षड्यन्त्रहरू हुनसक्नेतर्फ कार्यकर्ताहरू सचेत र सङ्गठित हुँदै राजनैतिक चेतना फैलाउन सक्रिय हुनु आवश्यक छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले भदौ ९ गतेको षड्यन्त्रमा नेमकिपाको मात्र होइन, न्यायप्रेमी जनताको जित भएको बताउनुभयो । उहाँले राजनैतिक गतिविधि र जनताको सचेतनाले समाजवादी क्रान्ति अघि बढ्नेछ भन्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका गणेशमाया डंगोलले नेमकिपाले इमानदारीपूर्वक देश र जनताको सेवा गरेको असह्य भएपछि प्रतिक्रियावादीले रचेको त्यही षड्यन्त्रबाटै पञ्चायती व्यवस्था ढलेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् काठमाडौँ जिल्ला अध्यक्ष नारायण महर्जनले अन्यायको विरोधमा गरिने विरोध र भत्र्सना कार्यक्रमबाट जनता सचेत हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला सचिव श्यामकुमार महर्जन र कोषाध्यक्ष रमेश डंगोलले पनि बोल्नुभएको थियो ।