परराष्ट्र समितिमा भारतीय बलमिचाइको चर्चा


काठमाडौँ, ११ भदौ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दोधारा चादनीको सुन्दर नगर र भीमदत्त नगरपालिकाको ब्रह्मदेवमा भारतीय शासकहरूले नेपालको भूमि अतिक्रमण गरी बल मिचाइ गरेका तर्फ सोमबार परराष्ट्रमन्त्री एनपी साउदको ध्यानाकर्षण गर्नुभयो ।
सांसद सुवालले गत हप्ता सुन्दर नगरको भारतसँगको खुला सीमामा रहेको मुख्य स्तम्भ ७०६ (१७) को अवलोकनमा जाँदा भारतीय एसएसबीले जानकारी नदिई आएको भनी आपत्ति जनाएको मन्त्री साउदलाई जानकारी गराउनुभयो ।
आफ्नै भूमि टेक्न भारतीय शासकवर्गको अनुमति चाहिने यो कस्तो अवस्था हो ? सांसद सुवालले प्रश्न गर्नुभयो ।
सांसद सुवालले भीमदत्त नगरपालिकाको ब्रह्मदेव बजार भएर टनकपुर बाँध जाने बाटोमा भारतीय एसएसबीले प्रवेश द्वार बनाई कब्जा गरेको तर्फ मन्त्री साउदको ध्यानाकर्षण गराउँदै टनकपुर बाँधको पानी कति छ भनी हेर्न सजिलो हुनेगरी खाल्डाखुल्डी पुर्न नेपाली भूमिमै एक कोदालो माटो राख्नसमेत भारतीय एसएसबीले अवरोध गरेको स्थानीय जनताको गुनासो मन्त्री साउदलाई सुनाउनुभयो ।
भारतीय एसएसबीले नेपालको हजारौँ हेक्टर भूमि नेपालतर्फ पर्ने गरी बनाइएको स्ट्रीप (सीमा) नक्सा गुगलमा भएको देखाई नेपालीलाई धम्क्याउने र बल मिचाइ गर्ने गरेको तर्फ मन्त्री साउदको ध्यानाकर्षण गराउँदै सांसद सुवालले बहुदल र गणतन्त्रको ३४ वर्षयता सरकारमा गएका प्रधानमन्त्री र मन्त्रीहरू सिंहदरबारको पर्खालभित्र कैदजस्तै भएको तर्फ बैठकको ध्यानाकर्षण गराउनुभयो र समितिको सभापति पदमा निर्विरोध निर्वाचित जसपाका सांसद राजकिशोर यादवको पनि ध्यानाकर्षण गराउनुभयो ।
एमालेका सांसद एवम् पूर्वप्रधानमन्त्री केपी ओलीले प्रेम सुवालजीले उठाउनुभएको सीमा समस्या भएको र सर्वदलीय सहमति गरी समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा (एस) का सांसद एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सीमामा पुग्नुभएका सांसदले सुनाउनुभएको समस्याबारे सरकारको ध्यान जानुपर्ने उल्लेख गर्दै एमसीसीको व्याख्यात्मक टिप्पणीको अनुमोदन जरूरी भएको बताउनुभयो ।
परराष्ट्रमन्त्री एनपी साउदले सीमा समस्या कूटनीतिक तवरमा निदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बैठकमा सांसदहरू भीम आचार्य र वर्षमान पुनले पनि भूराजनीतिक जटिलता भएको बताउनुभयो ।
भदौ १० गतेको समिति सभापतिको उम्मेदवारीमा नेकाका सांसद उदयशमशेर राणाको प्रस्तावमा माओवादीका सांसद यादवको एकमात्र उम्मेदवारी परेको थियो । बैठकको अध्यक्षता ज्येष्ठ सदस्य राप्रपाका पशुपतिशमशेर राणाले गर्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार