नेमकिपा कम्युनिस्ट पार्टी भएकोले विश्व साम्राज्यवादविरोधी आन्दोलनको समर्थक


रौतहट, २३ भदौ । नेपाल मजदुर किसान पार्टी रौतहट जिल्ला समितिको आयोजनामा शनिबार देवाही गोनाही नगरपालिकास्थित देवाहीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले नेमकिपाले स्थापनाकालदेखि अहोरात्र विश्राम नलिइकन देश र जनताको इमानदारीपूर्वक सेवा गरिरहेको स्पष्ट पार्नुभयो ।
शासक दलहरूले भागबन्डाको राजनीति गरेर देशलाई विदेशी शक्ति राष्ट्रहरूको चङ्गुलमा फसाएको प्रस्ट पार्दै उहाँले भन्नुभयो, “शासक दलहरूको कर्तुतलाई नाङ्गेझार गर्ने काम नेमकिपाले गर्दै आइरहेको छ । यसलाई अझै सशक्त बनाउनको लागि आम नेपाली जनताको सहयोग र साथ आवश्यक छ ।”
उहाँले नेमकिपा कम्युनिस्ट पार्टी भएकोले विश्वको जुनसुकै ठाउँमा हुने गरेको साम्राज्यवादविरोधी आन्दोलनको समर्थन गरिरहेको स्पष्ट पार्नुभयो ।
क्युवा, प्रजग कोरिया, चीन, भियतनामलगायतका देशहरू साम्राज्यवादविरोधी भएकाले ती देशहरूको राम्रो कुरा ग्रहण गर्नुपर्ने र आफ्नो देशको अनुकूलतामा देशको विकास निर्माणमा एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रजग कोरिया स्वतन्त्र भएको ७५ वर्षको समयावधिमा पुँजीवादीहरूले वर्षौँ लगाएर गर्न नसकेको काम छोटो समयमा गरेकोले त्यहाँका जनता आत्मनिर्भर बन्नुका साथै विश्वको जुनसुकै ठूलो साम्राज्यवादी देशहरूको अगाडि नझुकेको उहाँले स्पष्ट पार्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सांसद सृजना सैंजूले तराईमा अन्धविश्वासका कारण महिलाहरू सक्रियरूपमा राजनीतिमा नलाग्दा देश अझै पछाडि धकेल्दै गएको बताउनुभयो ।
शासक दलहरूले जनतालाई भोजभतेर, जिन्सी सामानहरू वितरण गरेर आफ्नो पक्षमा जनमत बटुलिरहेको हुनाले देशमा वैदेशिक हस्तक्षेप बढ्नुका साथै कामदार जनताको समस्या दिनप्रतिदिन विकराल बन्दै गएको उहाँले स्पष्ट पार्नुभयो ।
शासक दलहरूले देशघाती नागरिकता विधेयक बहुमतको दम्भ देखाएर पारित गर्दा भोलि नेपाल नरही फिजी बन्ने खतरा रहेकोले वास्तविक नेपालीलाई सहज ढङ्गले नागरिकता दिनुपर्छ† कुनै पनि विदेशी नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र दिनुहुँदैन† यस विषयमा सचेत नागरिक चनाखो हुनुपर्छ, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सरोज साहले नेमकिपा भारतविरोधी नभई भारतीय एकाधिकार पुँजी र भारतीय विस्तारवादको विरोधी रहेको स्पष्ट पार्नुभयो ।
कामदार जनतालाई राजनीतिकरूपमा सक्रिय हुन नदिन शासक दलहरूले विभिन्न प्रकारका षड्यन्त्रहरू गरिरहेकाले यस विषयमा हामी सचेत हुनुपर्छ, नत्र शोषित–पीडित जनताले आफ्नो हक अधिकार कहिले पनि प्राप्त गर्न सक्दैनन्, उहाँले भन्नुभयो ।
कार्यक्रमका सभापति एवं नेमकिपा रौतहटका अध्यक्ष दिनेशप्रसाद साहले यहाँका किसान र मजदुरका समस्याहरू अहिलेसम्मका कुनै पनि सरकारले सम्बोधन गर्न नसकेको बताउनुभयो ।
नेमकिपा शोषणरहित समाज स्थापना गराउन लागिपरेको हुनाले नेमकिपालाई साथ दिन उहाँले आग्रह गर्नुभयो ।
समाजवादी व्यवस्थामा शिक्षा, स्वास्थ्य निःशुल्क र अनिवार्य रोजगारीको सुनिश्चितता, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त हुने भएकोले पुँजीवादी व्यवस्था फाल्नको लागि नेमकिपा सडकदेखि सदनसम्म सङ्घर्षरत छ, उहाँले भन्नुभयो ।
कार्यक्रममा नेमकिपा रौतहटका लालबाबु चौधरी, परमानन्द राय यादव र रवीन्द्र यादवले पनि बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार