नेपाल–चीन सम्बन्ध खल्बल्याउने तत्व सक्रिय


हेटौँडा, २५ भदौ । दुई महिनासम्म चल्न नसकेको वाग्मती प्रदेशसभाको बैठक आइतबार सुरू भयो । प्रदेश सांसदहरूले प्रदेश सरकारको गैरजिम्मेवारीको विरोध गरे ।
बैठकमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश सांसद सुरेन्द्रराज गोसाईले नेपाल–चीनबिच पुरानो सुमधुर सम्बन्ध खल्बल्याउन खोज्नेहरू यतिखेर राजधानीमा सक्रिय रहेको चर्चा गर्नुभयो ।
प्रदेश सांसद गोसाईले नेपाललाई अप्ठ्यारो पर्दा सहयोग आदानप्रदान गर्न सकिने नेपाल–चीनबिच पुरानो सन्धि रहेको उल्लेख गर्दै मित्रवत् सुझावलाई आत्मसात् गर्न नखोज्नु दुष्ट प्रवृत्ति भएको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “चीन असल छिमेकी तथा मित्र देश हो । चीनसँगको सुमधुर सम्बन्ध बिथोलेर अमेरिकी साम्राज्यवादी तथा भारतीय विस्तारवादी आफ्नो प्रभुत्व कायम गर्न खोज्दै छन् । यो एमसीसीको परकम्प हो ।”
उहाँले अगाडि भन्नुभयो, “२०७२ सालमा संविधान घोषणा हुँदै गर्दा भारतीय दूतहरू हाम्रा नेता, मन्त्रीको घर–घरमा पुगेर धम्की दिए । एमसीसी संसद्मा पेस भइसकेपछि अमेरिकी विदेशमन्त्री तथा दूतहरूले नेता, मन्त्रीहरूको घर–घर गई धम्की दिए । हामीलाई धम्की दिने हाम्रा शत्रु हुन् भने हामीलाई मित्रवत् सुझाव दिने हाम्रा मित्र हुन् ।”
उहाँले भन्नुभयो, “अमेरिकी एजेन्ट तथा भारतीय एजेन्टहरू देशलाई रणमैदान बनाउन खोज्दै छन् । यतातर्फ देशभक्तहरू सजग हुन आवश्यक छ ।”
प्रदेश सांसद गोसाईले स्वास्थ्य सुलभ, गुणस्तरीय तथा निःशुल्क बनाएको खण्डमा मात्र जनताले प्रजातन्त्र र मानव अधिकारको अनुभूति गर्ने विचार व्यक्त गर्नुभयो ।
समाजवादमा विश्वास गर्नेहरूले स्वास्थ्य राज्यको दायित्वको रूपमा बहन गर्ने तथा त्यसको निम्ति सङ्घर्ष गर्ने उहाँले बताउनुभयो ।
उहाँले विज्ञान तथा प्रविधिको विकासमा यथोचित प्राथमिकता नदिइएसम्म देशको विकास सम्भव नहुने प्रस्ट पार्नुभयो । विज्ञान, प्रविधि तथा नवप्रवर्तनको क्षेत्रमा विकास गर्न विद्यालय–कलेज तहबाट काम थाल्नु भनेको बलियो जग बसाल्नु हो भन्ने विचार सांसद गोसाईले राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं प्रदेश सांसद सृजना सैंजूले देशका वैज्ञानिक, प्राध्यापक तथा प्राविधिकहरू ठूलो सङ्ख्यामा विदेश पलायन भइरहेको चित्रले शासकहरूको नियत तथा क्षमतामा प्रश्न तेस्र्याइरहेको विचार व्यक्त गर्नुभयो ।
उहाँले युवा जनशक्ति पलायन भइरहेको स्थितिमा विज्ञानको विकास थप चुनौतीपूर्ण बनेको प्रस्ट पार्नुभयो ।
देशको कृषि समस्याबारे विचार राख्दै प्रदेश सांसद सैंजूले कृषि उपज उत्पादनका लागि आधार खडा नगरेसम्म किसानहरूको जीवनस्तरमा तात्विक परिवर्तन नआउने र देश आत्मनिर्भर नबन्ने धारणा राख्नुभयो ।
आइतबार भएको पहिलो बैठकको शून्य समयमा बोल्दै प्रदेश सांसद सुरेन्द्रराज गोसाईले ६५ दिनसम्म वाग्मती प्रदेश सरकार बेखबर भएर बसेकोमा जनताको विरोध रहेको बताउनुभयो ।
देशमा प्राकृतिक विपत्तिका कारण जनता दुःख–पीडामा हुँदा सरकारले जिम्मेवारी पूरा नगरेकोमा उहाँले विरोध गर्नुभयो । उहाँले सरकार लामो समयसम्म मन्त्रालय फोडेर नयाँ मन्त्री बनाउनमै व्यस्त रहेकोमा जनताको विरोध रहेको बताउनुभयो ।
प्रदेश सांसद सृजना सैंजूले पेट्रोलियम पदार्थमा लगातार मूल्यवृद्धि गरेर जनताको दुःखमाथि दुःख थप्ने काम भएको चर्चा गर्नुभयो । उहाँले आयल निगममा भइरहेको भ्रष्टाचार तथा अनियमितताको छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन माग गर्नुभयो ।
प्रदेश सांसद गीता काफ्लेले गाईवस्तुमा फैलिएको ‘लम्पी स्कीन’ रोगका कारण ठूलो क्षति भइरहेको र किसानहरू मारमा परेको चर्चा गर्नुभयो । ‘लम्पी स्कीन’ ले पु¥याएको क्षतिको मूल्याङ्कन गरी उचित क्षतिपूर्तिको उहाँले माग गर्नुभयो ।
प्रदेश सांसद काफ्लेले बाढी–पहिरो पीडित जनताको उचित बन्दोबस्तमा ध्यान पु¥याउन माग गर्नुभयो ।
वाग्मती प्रदेशसभामा आइतबार भएको बैठकमा चार जना मन्त्रीहरूले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार