“सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाइयो”


काठमाडौँ, ३० भदौ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले पार्टीको तेस्रो टोखा नगर सम्मेलनको उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहमा सचिव सुवालले पार्टीको प्रकाशन अध्ययन र अन्तरक्रियामा कार्यकर्ताहरू सहभागी भई राजनैतिक र सांस्कृतिकस्तर माथि उठाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“विश्वविद्यालयको डिग्री र धेरै सम्पत्ति भए पनि मानिसको राजनीतिक र सांस्कृतिकस्तर नउठेका धेरै उदाहरण छन् । सिंहदरबार पुगेकाहरूमा विश्वविद्यालयको डिग्रीमा कमी थिएन तर सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाइयो । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाइयो । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको क्विन्टलका क्विन्टल सुन तस्करी भयो । वाइडबडी जहाज खरिदमा अनियमितता भयो । यती होल्डिङ्सलाई २७ सय रोपनी गोकर्णको सरकारी जग्गा सस्तो बहालमा दिइयो । यी काण्डहरू सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाइनुका केही उदाहरण हुन् ।” सचिव सुवालले उल्लेख गर्नुभयो ।
स्वास्थ्य, शिक्षा, सहकारी, बैङ्क, शेयर, अदालत, खनिज, जल, जमिन, वनजङ्गललगायत माफिया (आर्थिक अपराधी) हरूको कब्जामा रहेको उल्लेख गर्दै सचिव सुवालले ठूल्ठूला भ्रष्टाचारी, मानवअधिकारको गम्भीर उल्लङ्घन गर्ने, महिलाविरुद्ध बलात्कार र हत्या गर्ने, देशको गोप्य सूचना विदेशीलाई दिनेमा संलग्न हुनेहरूलाई मृत्युदण्डको कानुनी व्यवस्था गर्नु जरुरी भएको औँल्याउनुभयो ।
“पुँजीवादको उत्थान, विकास र पतनको नियम माक्र्सवाद हो । माक्र्सवादी नियमअनुसार नै रूसमा मजदुरवर्गको आन्दोलनबाट पुँजीपतिवर्गको पराजय भई समाजवाद स्थापना भएको थियो भने चीनमा किसान आन्दोलनबाट सामन्त र जमिनदारवर्ग पराजित भई समाजवाद स्थापना भएको थियो” सचिव सुवालले उल्लेख गर्नुभयो ।
नेपाली काङ्ग्रेसले विदेशी पुँजीको सेवा गर्ने चर्चा गर्दै एमाले र माओवादी पनि भाइ काङ्ग्रेस साबित भइरहेको औँल्याउँदै सचिव सुवालले राजतन्त्र पुनःस्थापनाको दाबी गरेको पार्टी र नयाँ पार्टी भनिएको पार्टीसँग समेत देश र जनताको समस्या समाधानसम्बन्धी आर्थिक र राजनैतिक कार्यक्रम नभएको स्पष्ट गर्नुभयो ।
एमसीसी र एसपीपी अमेरिकी स्वार्थकै लगानी भएको हुँदा नेपाली जनताबाट विरोध भएको उल्लेख गर्दै सचिव सुवालले जन्मको आधारमा नेपाली नागरिकता पाएका विदेशीका छोराछोरीलाई वंशजको आधारमा नेपाली नागरिकता दिने विधेयकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको प्रमाणीकरण देशघात नै भएको स्पष्ट गर्नुभयो ।
खुला सीमा बन्द वा नियमन गर्नुपर्ने विषय नेमकिपाले धेरै पहिलेदेखि उठाउँदै आएको चर्चा गर्दै सचिव सुवालले भर्खरै सर्वोच्च अदालतबाट यससम्बन्धी फैसला भएको उल्लेख गर्नुभयो ।
देशको सन्तुलित विकास गरिएको भए काठमाडौँ उपत्यकाको खानेपानी, फोहोरमैला, धुवाँ–धुलोलगायत धेरै समस्या समाधान हुने थियो, सचिव सुवालले स्पष्ट गर्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “नेपालको लुम्बिनी र कपिलवस्तुसमेत गाभिएको ‘अखण्ड भारत’ को नक्सा कायम गर्न भारतका प्रम मोदीले देशको नाम ‘इन्डिया’ नराख्ने तयारी गरेको हो ।”
नेमकिपा टोखाको तेस्रो नगर सम्मेलन तयारी समितिका संयोजक रमेश डंगोलको सभापतित्वमा सम्पन्न उक्त समारोहमा नेमकिपाका केन्द्रीय सदस्यहरू सनकमान महर्जन, नारायण महर्जन, राजवीर डंगोल, वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवाल, नेक्रा महिला सङ्घका रोशनमैयाँ सुवाल, नुवाकोट पार्टी जिल्ला अध्यक्ष रवीन्द्र डंगोल, काठमाडौँ महानगर समितिका सुरेन्द्र महर्जन, तारकेश्वर नपाका श्याम महर्जन, गुणदास महर्जन, मदन श्रेष्ठ र विशोक डंगोलले पनि बोल्नुभयो ।

पार्टी गतिविधिहरु
समाचार